माग पूरा नभएमा १४ गतेदेखि आन्दोलन थालिने महासंघले चेतावनी दिएको छ
परासी — नेपाल उखु उत्पादक महासंघले समयमै उखुको न्यूनतम् समर्थन मूल्य तोक्न र आर्थिक वर्ष २०८१-८२ को बाँकी अनुदान रकम भुक्तानी गर्न सरकारलाई अल्टिमेटम दिएको छ ।
कृषि तथा पशुपन्क्षी विकास मन्त्रालय, उद्योगी तथा किसानबीच पटक–पटक भएको वार्तामा सहमति जुट्न नसकेपछि १३ मंसिरभित्र आफ्ना माग पूरा गर्न महासंघले अल्टिमेटम दिएको हो ।
माग पूरा नभएमा १४ गतेदेखि आन्दोलन थालिने महासंघले चेतावनी दिएको छ । मंसिर १४ गते सलार्हीको हरिवनमा १ घण्टा राजमार्ग बन्द गर्ने र १५ गते बाट अनिश्चितकालीन राजमार्ग बन्दसहित विरोध प्रदर्शन गर्ने उखु उत्पादक महासंघका प्रवक्ता उमेश चन्द्र यादवले बताए ।
सरकारको ढिलासुस्तीका कारण किसानले पुरानो मूल्य र उधारोमा उखु बिक्री गर्नु परेको उनले बताए । चालु आर्थिक वर्षमा प्रति क्विन्टल ७ सय ५० रुपैयाँ मूल्य तोक्नुपर्ने किसानको माग छ । यसअघि सरकारले आर्थिक वर्ष २०८१-८२ मा प्रति क्विन्टल ७० रुपैयाँ अनुदान दिने भनेपनि स्रोतको अभाव भन्दै ३५ रुपैयाँ मात्र अनुदान रकम भुक्तानी गरेको छ ।
किसानले बाँकी रहेको ३५ रुपैयाँ पनि तत्काल भुक्तानी गर्न माग गरेका छन् ।
