यूएईको भिसाका लागि ‘प्रहरी रिपोर्ट’ अनिवार्य

काठमाडौंस्थित यूएई दूतावासका अनुसार नेपाली नागरिकले भिसा आवेदन दिन नेपाल प्रहरीले जारी गरेको रिपोर्ट अनिवार्य रूपमा पेस गर्नुपर्नेछ ।

मंसिर १०, २०८२

होम कार्की

Police report mandatory for UAE visa

काठमाडौँ — संयुक्त अरब इमिरेट्स (यूएई)ले भिजिट र श्रम भिसाका लागि नेपाली नागरिकका लागि प्रहरी रिपोर्ट अनिवार्य रूपमा पेस गर्नुपर्ने नियम लागू गरेको छ । काठमाडौंस्थित यूएई दूतावासका अनुसार नेपाली नागरिकले भिसा आवेदन दिन नेपाल प्रहरीले जारी गरेको रिपोर्ट अनिवार्य रूपमा पेस गर्नुपर्नेछ ।

यूएईले भदौ २३ र २४ को जेन-जी आन्दोलनपछि सुरक्षा कारण देखाई नेपालीका लागि भिजिट र श्रम भिसा जारी गर्न बन्द गरेको थियो । यसको औपचारिक जानकारी भने नेपाललाई दिएको थिएन ।

यूएई दूतावासले अहिले भने सबै प्रकारका भिसा खुल्ला गरिएको जानकारी दिएको छ ।  नेपाल वैदेशिक रोजगार व्यवसायी संघले प्रहरी रिपोर्ट लिई नेपालीका लागि भिसा खुल्ला गर्न नेपाल सरकारलाई अनुरोध गर्दै आएको थियो ।

भिसा बन्द हुँदा  यूएई सरकारबाटै वर्क परमिट (श्रम अनुमति) जारी गरिएका झन्डै ५ हजार नेपाली श्रमिक रोकिएका छन् । उनीहरूको वर्क परमिटको अवधि सकिँदैछ ।

यूएई नेपालीका लागि प्रमुख गन्तव्य हो । वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिनेमध्ये झन्डै ४० प्रतिशत  यूएई जाने गर्छन् । आर्थिक वर्ष २०८१/०८२ को तथ्यांकअनुसार यूएई जानका लागि २ लाख १ हजार १४८ जनाले श्रम स्वीकृति लिए । यो तथ्यांक पुनः श्रमस्वीकृतिबाहेकको हो ।

पुनः श्रमस्वीकृतिसमेत हेर्ने हो भने यो संख्या २ लाख ७४ हजार ५९० जना हुने वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांकले देखाउँछ ।

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully