तीन सिफ्टमा काम गरेर संसद् भवन निर्माण सक्न मन्त्री घिसिङको निर्देशन

बुधबार भएको आकस्मिक भ्रमणका क्रममा मन्त्री घिसिङले तीन सिफ्टमा काम गर्ने भनिएको तर फिल्डमा नदेखिएको बताए ।

मंसिर १०, २०८२

कान्तिपुर संवाददाता

Minister Ghisingh directs to complete construction of Parliament building by working in three shifts

What you should know

काठमाडौँ — ऊर्जा जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार र शहरी विकासमन्त्री कुलमान घिसिङले बुधबार साँझ सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद् भवनको आकस्मिक निरीक्षण गरेका छ्न् । निरीक्षणका क्रममा मन्त्री घिसिङले रातको समयमा त्यहाँ भइरहेको कामको जानकारी लिएका हुन् ।

आगामी फागुन २१को चुनावपछि आउने नयाँ प्रतिनिधिसभाको पहिलो बैठक बस्ने स्थान नै नभएको अवस्थामा मन्त्री घिसिङले पटकपटक तीन सिफ्टमा काम गराउन सहरी विकास मन्त्रालयका अधिकारी र निर्माण व्यवसायीलाई निर्देशन दिएका थिए । 

तर, बुधबार भएको आकस्मिक भ्रमणका क्रममा मन्त्री घिसिङले तीन सिफ्टमा काम गर्ने भनिएको तर फिल्डमा नदेखिएको बताए । उनले तीन सिफ्टमा काम गरी निर्माण सम्पन्न नगरेमा निर्माण व्यवसायीलाई कारबाही गर्ने चेतावनी दिए । त्यस्तै, घिसिङले नियमित सुपरीवेक्षण गर्ने आयोजना व्यवस्थापन र परामर्शदातालाई पनि समयमै काम नगरे कारबाही गरिने बताए । 

संसद् भवन निर्माण एकदमै महत्वपूर्ण भएकाले आगामी चैत अगाडि नै निर्माण सम्पन्न हुनु पर्ने उल्लेख गर्दै मन्त्री घिसिङले उक्त समयमा निर्माण सम्पन्न नभएमा लापरबाही गर्ने सबैलाई कारबाही गरिने चेतावनी दिएका हुन् । 

संसद् भवन तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २०७६ असोजमा ठेक्का सम्झौता भएको थियो । पाँचौपल्ट थपिएको ठेक्का सम्झौताको म्याद आगामी १६ पुसमा सकिँदैछ । आयोजनाको सिभिललगायतका संरचना निर्माणको प्रगति करिब ८७ प्रतिशत रहेको छ ।

इन्टेरियर, सुरक्षा प्रणालीलगायतका काम गर्न २०८०मा अर्को ठेक्का सम्झौता भएको थियो । यसअघि ८ कात्तिकमा स्थलगत अनुगमन गरी निर्माण भइरहेको भवनहरुमध्ये सबैभन्दा ठूलो र महत्वको परियोजना रहेकाले १६ पुसभित्र सम्पन्न सुनिश्चित हुने गरी हरेक दिनको कार्यतालिका बनाएर काम गर्न आग्रह मन्त्री घिसिङले आग्रह गरेका थिए ।

कान्तिपुर संवाददाता

Link copied successfully