इथियोपियाको हायली गब्बी ज्वालामुखी विस्फोटपछि उत्पन्न भएको खरानीको असर काठमाडौंसम्म देखिएको हो ।
What you should know
काठमाडौँ — आकाशमा उडिरहेको विमानका इन्जिनमा गम्भीर क्षति पुर्याउने ज्वालामुखीको खरानीका कारण मंगलबार र बुधबार नेपाल उडान गर्ने कम्तीमा ७ वटा अन्तर्राष्ट्रिय वायुसेवाका उडान प्रभावित भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार, आइतबार इथियोपियामा विस्फोट भएको ज्वालामुखीपछि हवाई रुटमा विमानलाई गम्भीर क्षति पुर्याउने तत्व, स-साना कणहरूका कारण मंगलबार राति नेपाल अवतरण हुनै लागेको हङकङको क्याथे प्यासिफिकको वाइडबडी नेपाल आउन सकेन ।
काठमाडौं विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेका अनुसार, अवतरणको तरखरमा रहेको क्याथेको जहाज सिमरानजिकैको आकाशबाट बंगलादेशको राजधानी ढाका हुँदै हङकङ फर्किर्एको थियो ।
उक्त उडानबाट हङकङका लागि बोर्डिङ पास लिइसकेका ३ सय ९ यात्रुहरूलाई काठमाडौंका विभिन्न होटलमा राखिएको थियो । यसैबीच कतार एयरवेजका चार वटा जहाज मंगलबार निर्धारित समयतालिकामा उड्न नसक्दा कम्तीमा १ हजार यात्रु सयममै गन्तव्यमा पुग्न सकेनन् ।
कतारको काठमाडौं कार्यालयका एक अधिकारीका अनुसार मंगलबार बिहान १० बजे दोहन फर्किनुपर्ने कतारको जहाज १६ घण्टा डिले भई राति पौने २ बजे, ११ बजे फर्किनुपर्ने जहाज पनि १६ घण्टापछि पौने ३ बजे, मंगलबार दिउँसो ५ बजे फर्किनुपर्ने जहाज ११ घण्टापछि बिहान पौने ४ बजे र बेलुकी ७ बजे फर्किनुपर्ने जहाज पनि ११ घण्टापछि काठमाडौं विमानस्थलमै रोकिएर बिहान ६ बजे दोहाका लागि उडेका थिए ।
यसैबीच खनिजका कण, चट्टानका टुक्रा, धारिला कणका कारण उडानमा असर पर्ने जनाउँदै कोरियन एयरले मंगलबार कोरियाबाट नेपालका लागि हुने उडान रद्द गरेको थियो ।
काठमाडौं विमानस्थलले बुधबार रातिदेखि नेपाली अकाशमा आइपुगेको जहाजलाई असर पार्ने ज्वालामुखीयुक्त धुलो मिसावट भएको खरानी हटेको जनाएको छ ।कतार एयरवेजका अनुसार, जहाजको सेन्सर, इन्जिनलाई असर पुर्याउन सक्ने ग्यासयुक्त बादल मंगलबार राति १२ बजेपछि चीनको वायुमण्डलतिर सरेको छ ।
मंगलबार काठमाडौंबाट पश्चिमी रुटहरूमा पर्ने भारत र खाडी गन्तव्यका विमानस्थलमा जाने र आउने जहाजहरू रूट छल्दै उडान भरेका थिए । दिउँसो कतारका दुईटा वाइडबडी विमान नउडेर पार्किङवेमै रोकिएपछि काठमाडौं विमानस्थललाई एप्रोनमा जहाज व्यवस्थापन गर्न कठिनाइ भएको थियो । त्यसैले सिमरामाथिको आकाशमा थुप्रै विमानलाई होल्डमा राखेर उडान व्यवस्थापन गर्नुपरेको थियो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक त्रिरत्न मानन्धरका अनुसार, १५ वर्षअघि (२०१०) आइसल्यान्डमा ज्वालामुखी विस्फोट हुँदा युरोप उडान गर्ने रुटमा भएको अवरोधका कारण पनि नेपालका दर्जनौं उडान रद्द हुँदा पर्यटन बोर्डले अलपत्र पर्यटकलाई उद्धार गर्नुपरेको थियो ।
इथियोपियाको हायली गब्बी ज्वालामुखी विस्फोटपछि उत्पन्न भएको खरानीको असर काठमाडौंसम्म आइपुगेको हो।
