ज्वालामुखीजन्य धुलो–कण र सल्फरयुक्त खरानी दक्षिण एशिया तथा खाडी क्षेत्र हुँदै सञ्चालन हुने अन्तर्राष्ट्रिय उडानमार्गमा फैलिँदा नेपालका उडानहरू पनि प्रभावित भएका हुन्।
What you should know
काठमाडौँ — इथियोपियाको हायली गब्बी ज्वालामुखी विस्फोटपछि उत्पन्न भएको खरानीको असर काठमाडौंसम्म आइपुगेको छ।
ज्वालामुखीजन्य धुलो–कण र सल्फरयुक्त खरानी दक्षिण एसिया तथा खाडी क्षेत्र हुँदै सञ्चालन हुने अन्तर्राष्ट्रिय उडानमार्गमा फैलिँदा नेपालका उडानहरू पनि प्रभावित भएका हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेका अनुसार, ज्वालामुखी विस्फोटबाट बनेका सूक्ष्म धुलो कण, ढुङ्गाका अंश र अन्य ठोस मिसावट पश्चिमतर्फका महत्वपूर्ण उडान मार्गमै देखिन थालेपछि मंगलबार बिहानैदेखि काठमाडौं विमानस्थलमा उडान अव्यवस्था बढेको हो।
विशेषतः भारत, कतार, यूएई र टर्कीसहितका खाडी गन्तव्यतर्फ उड्ने विमानहरूको मार्गमै खरानी र सल्फर पत्ता लागेपछि उडान प्रबन्ध चुनौतीपूर्ण बनेको उनले बताए।
खरानीको प्रभावले सिमरा आकाश क्षेत्रमा विशेष रूपमा देखिएको छ। काठमाडौं विमानस्थलमा जहाजहरू आएर बसेपछि पार्किङ बेको अभावले सिमराको आकाशमा घन्टौँ जहाज होल्डमा राख्नुपरेको छ। हवाई ट्राफिक अत्यधिक बढेपछि विमानहरूलाई लामो समय त्यहाँ होल्ड गर्नुपरेको छ। मंगलबार बिहान अवतरण गरेका कतार एयरवेजका दुई वाइडबडी जहाज काठमाडौंमै रोकिएका छन्। ती विमानका पाइलटहरूले पश्चिमी मार्गमा उडान सम्भव नभएको भन्दै विमानस्थललाई सूचित गरेका छन्। उडान मार्गमा सल्फर र धुलो कण बढेपछि इन्जिनमा क्षति हुन सक्ने जोखिम उच्च रहेको उनीहरूको तर्क छ। धुलोको असर घट्दै गए उनीहरूले राति दोहा फर्किने संकेत गरेका छन्।
विमानस्थलमा पार्किङ बेहरू भरिन थालेपछि ग्राउन्ड ह्यान्डलिङ पनि दबाबमा परेको छ। उडान सञ्चालन जटिल बन्दै गएपछि केही विमानहरूलाई करिब डेढ घण्टासम्म आकाशमै होल्ड राख्नुपरेको महाप्रबन्धक पाण्डेले जानकारी दिए ।
पश्चिमतर्फ उड्ने केही विदेशी वायुसेवाहरूले नियमित मार्ग छाडेर वैकल्पिक मार्ग अपनाइरहेका छन्। तर वैकल्पिक मार्ग पनि पूर्ण सुरक्षित नभएकाले उचाइ र मार्ग दुवै परिवर्तन गर्दै उडान हुँदै आइरहेको छ।
ज्वालामुखीजन्य खरानीका कारण कोरियन एयरले मंगलबारको काठमाडौं–सियोल उडान रद्द गरेको छ। अन्य विमानहरू पनि समयमा उड्न नसक्ने अवस्थाले यात्रा प्रभावित भएको छ। पाण्डेका अनुसार, खरानीको घनत्व क्रमशः कम हुँदै जाने भएकाले राति १२ बजेपछि उडान सञ्चालन केही सहज हुने अनुमान गरिएको छ।
यसबीच, ज्वालामुखीका कारण विभिन्न देशका विमान नियामक निकायहरूले सुरक्षा चेतावनी जारी गरेका छन्। भारतीय नागरिक उड्डयन महानिर्देशनालयले ज्वालामुखी क्लाउडको बढ्दो जोखिमका कारण एयरलाइन्सलाई प्रभावित क्षेत्रबाट उडान नगर्न तथा वैकल्पिक मार्ग अपनाउन निर्देशन दिएको छ। खाडी मुलुकतर्फका केही उडान रद्द वा पुनःमार्ग निर्धारण भएको छ। जेद्दा, अबुधाबी र कुवेततर्फका केही उडान स्थगित भएका छन्। यद्यपि एमिरेट्स, इतिहाद र फ्लाईदुबईले उडान प्रायः नियमित रूपमा चलाइरहेको तर परिस्थिति नजिकबाट अनुगमन गरिरहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले उल्लेख गरेका छन्।
ज्वालामुखी खरानी उचाइमा फैलिँदा विमानका इन्जिन, सेन्सर र दृश्यतामा प्रत्यक्ष असर पर्न सक्ने भएकाले विश्वभरका एयरलाइनहरू तथा विमानस्थलहरूले खरानीको दिशा, घनत्व र जोखिमबारे निरन्तर निगरानी गरिरहेका छन्। काठमाडौं विमानस्थल हुँदै पश्चिमतर्फ उड्ने मार्गमा थप सतर्कता अपनाइएको छ र परिस्थितिलाई सामान्य हुन केही समय लाग्न सक्ने अधिकारीहरूको अनुमान छ।
सीबीएस न्यूजका अनुसार, इथियोपियाको उत्तरपूर्वी क्षेत्रमा रहेको हाइली गुब्बी ज्वालामुखी करिब १२ हजार वर्षको अन्तरालपछि पहिलो पटक विस्फोट भएको हो। ज्वालामुखी आइतबार केही घण्टा विस्फोट भएको थियो। विस्फोटबाट नौ माइलसम्म घना धुँवाको मुस्लो आकाशतिर फैलिएको छ। यो ज्वालामुखी इथियोपियाको अफार क्षेत्रमा छ, जुन इथियोपियाको राजधानी आदिस अबाबा शहरबाट करिब ५०० माइल उत्तरपूर्वमा र अफ्रिकी मुलुक एरिट्रिया सिमानासँग नजिकै पर्छ। त्यहाँको रिफ्ट भ्यालीमा यो ज्वालामुखी करिब १,५०० फिट उचाइमा उठेको थियो।
