आज हुने बहसमा सर्वोच्चले अन्तरिम आदेश जारी हुने कि नहुनेबारे निर्णय दिनेछ ।
काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सरकारको निर्णयलाई चुनौती दिँदै सर्वोच्च अदालतमा दायर गरेकाे रिट न्यायाधीशद्वय मनाेज शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासमा पेसी तोकिएको छ ।
मन्त्रिपरिषद् बैठकले उनलाई नेपाल विद्युत् प्राधिकरणबाट हटाउँदै जल तथा ऊर्जा आयोगको सचिवालयमा विशेष पद सिर्जना गर्दै सरुवा गरेको थियो ।
शाक्यले आफ्नो पद प्राधिकरणमै कायम हुनुपर्ने माग गर्दै सर्वोच्च रिट दायर गरेका हु्न । आज दाेस्रो सुनुवाइ हुन लागेको हो । यसअघि सर्वोच्चले कारण देखाउ आदेश जारी गर्दै छलफलमा बोलाउने आदेश गरेको थियो ।
मंगलबार हुने बहसमा सर्वोच्चले अन्तरिम आदेश जारी हुने कि नहुनेबारे निर्णय दिनेछ । सर्वोच्चले अन्तरिम आदेश जारी गरेमा उनी पुन: प्राधिकरण फर्कनेछन् । सरकारले शाक्यलाई सरुवा गरेर मनोज सिलवाललाई कार्यकारी निर्देशन बनाएको थियो। कुलमान घिसिङ ऊर्जामन्त्री भएपछि शाक्यलाई सरकारले हटाएको थियो ।
शाक्यले यसअघि पनि घिसिङविरुद्ध रिट दायर गरेका थिए । घिसिङले पनि आफूलाई हटाएर शाक्यलाई केपी शर्मा ओली सरकारले नियुक्त गरेपछि रिट दायर गरेका थिए।
