प्रधानमन्त्रीको सचिवालयमा प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठले आफन्त नियुक्त गरेको भन्दै विभिन्न जेन–जी समूहले विरोध जनाएका छन् ।
काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न भन्दै सिंहदरबार छिर्न खोजेको जेन-जी समूहलाई प्रहरीले फर्काइदिएको छ । मंगलबार मिराज ढुंगानासहितको जेन-जी समूह सिंहदरबार छिर्न खोजेको थियो ।
तर निषेधित क्षेत्र भन्दै प्रहरीले उनीहरूलाई फर्काइदिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले निषेधित क्षेत्रमा ६० भन्दा बढीको संख्यामा प्रवेश गर्न खोजेकाले उनीहरूलाई हटाइएको बताए ।
'यस क्षेत्रमा ५ जनाभन्दा बढीको समूहमा भेला हुन र नारा लगाउन निषेधित छ । उक्त समूहले प्रधानमन्त्रीलाई भेट्न पाउनुपर्ने माग राख्दै नाराजुलुस गरेकाले फर्काइएको हो,' एसपी भट्टराईले भने, 'यद्यपि कसैलाई नियन्त्रणमा लिइएको छैन ।'
प्रधानमन्त्रीको सचिवालयमा प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठले आफन्त नियुक्त गरेको भन्दै विभिन्न जेन–जी समूहले विरोध जनाएका छन् ।
जेन–जीहरू सोमबार ज्ञापनपत्र बुझाउन प्रधानमन्त्री कार्यालय पनि पुगेका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जेन–जी पुगेपछि कार्की बाहिरिएकी थिइन् ।
मिराज ढुंगानालगायतका जेन–जीको समूहले पनि प्रमुख स्वकीय सचिवसहितका विषयमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन खोजेको थियो । तर, प्रधानमन्त्रीले समय नदिएको भन्दै सिंहदरबार प्रवेश गर्न नपाएपछि उनीहरू गेटमा नै ज्ञापनपत्र टाँसेर फर्किएका थिए ।
