कतारमा नौ महिला बिचल्ली बनाउने नेपाली व्यवसायीले पीडितविरुद्ध उल्टै प्रहरीमा दिए ‘नोटिस’

पीडितलाई न्याय दिलाउँछौं : नेपाली दूतावास  

मंसिर ९, २०८२

होम कार्की

Nepali businessman who left nine women in Qatar homeless has instead served a police notice against the victim

What you should know

काठमाडौँ — कतारमा नेपाली व्यवसायी लोकेन्द्रबहादुर कार्कीले आफूविरुद्ध नेपाली दूतावासमा उजुरी लिएर गएका ९ जना नेपाली महिला श्रमिकविरुद्ध कम्पनी छाडेर भागेको (रन वे) भन्दै माथि उल्टै स्थानीय विशेष प्रहरीमा मुद्दा (नोटिस) लगाइदिएका छन् । 

कतारमा रोजगारदाता कम्पनीले आफ्नो स्पोन्सर (कफला)मा भएका श्रमिक छाडेर हिँडेको भनेर स्थानीय प्रहरीलाई जानकारी गराएकै भरमा श्रमिकको आवासीय बैधता गुम्नुको साथै श्रमिकको अधिकार पाउनबाट स्वत: वञ्जित हुने व्यवस्था छ ।

श्रमिक सप्लाई गर्ने अमाज साइन ट्रेनिङ एन्ड कन्ट्रक्टिङ कम्पनी र स्पीएर फाइभ सर्भिसेस कम्पनीका सञ्चालक कार्कीले कतारमा आप्रवासी श्रमिकलाई नियन्त्रण र निगरानी गर्ने ‘सर्च एन्ड फलोअप डिर्पाटमेन्ट’मा ९ जना महिला श्रमिक आफ्नो कम्पनी छाडेर हिँडेको भन्दै जानकारी दिएका हुन् । ‘लोकेन्द्रले नेपालबाट ल्याएका ९ जना महिलालाई तलब र सेवासुविधा दिएका छैनन् । उनले महिलामाथि कुटपिट गरेका छन् । उनीविरुद्ध पीडित महिलाहरु नेपाली दूतावासमा आइपुगेका थिए,’ नेपाली दूतावासका श्रम काउन्सिलर सीता दवाडीले कान्तिपुरसँग भनिन्,‘पीडित महिला दूतावास आएको बेला कार्कीले यहाँको निकायमा गएर भागेको भनेर केस हालिदिएका रहेछन् ।’

ती महिलाहरुलाई कार्कीको आफ्नै म्यानपावर केपी इन्टरनेसनलमार्फत कतार ल्याएका थिए । उनीहरुले म्यानपावर कम्पनीलाई कतारको रोजगारीमा जान तीन लाख रुपैयाँसम्म दिएका छन् । तलब नपाउनेमा एकदेखि ५ महिनासम्म छ । उनीहरुलाई एक हजार कतारी रियाल तलब पाउने गरी सरसफाइ (क्लिनर)को काममा ल्याएका थिए ।

कार्कीले महिला श्रमिकका लागि राखिएको कोठामा समेत ताल्चा लगाएर सर्म्पकविहीन भएका छन् । पीडितले आफ्नो सबै लत्ताकपडा कोठामा नै भएको बताएका छन् । ‘हामी दूतावासमा आएपछि फर्केर जाने ठाउँ भएन । हाम्रो कोठामा ताल्चा लगाइएको थियो । हामीले कुनै सरसामान झिक्न पाएका छैनौं । तीन दिनदेखि लुगा फेरफार गर्न पाएका छैनौं,’ एक पीडित महिलाले कान्तिपुरसँग भनिन् । 

दूतावासमा महिलाको लागि सेल्टर छैन । उनीहरुलाई नेपाली महिला समाजले तत्कालका लागि बस्ने व्यवस्था गरिदिएको छ । श्रम काउन्सिलर दवाडीले उनीहरुलाई न्याय दिनका लागि कतारी निकायसँग समन्वय भइरहेको बताइन् । ‘उनीहरुलाई भागेको भनेर हालिएको मुद्दा हटाउने प्रयास भइरहेको छ । त्यो हटाएपछि तलब दिलाउनका लागि यहाँको श्रम विभागसँग छलफल गर्नेछौं,’ दुवाडीले भनिन् ।

नेपाली संघसंस्थाले पटकपटक श्रमिकलाई शोषण र यातना दिएको भन्दै व्यवसायी कार्कीलाई कानुनी कारबाही गर्न दूतावाससमक्ष माग गरेका छन् । कार्कीले यसअघि पनि आफूले ल्याएका श्रमिकलाई बिचल्लीमा पार्दै आएका थिए । उनले श्रमिक ल्याउन दूतावासमा लैजाने गरेको मागपत्रलाई रोक्नुपर्ने संघसंस्थाको माग छ ।

सम्बन्धित अन्य समाचारहरु 

खाडी तलव सुरक्षा प्रणालीको कार्यान्वयन प्रभावकारी भएन : आईएलओ

खाडी र मलेसियामा नेपालीलाई रोजगारी अब सहज कि असहज ?

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully