प्रधानमन्त्रीको सचिवालयले भन्यो : आदर्श श्रेष्ठ विश्वासिलो र रातदिन खटिएर काम गर्ने व्यक्ति हो 

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठले श्रीमती संगीता श्रेष्ठलाई सहसचिव सरहको सेवा सुविधा पाउने गरी प्रधानमन्त्रीको सचिवालयमा नियुक्त गरेका थिए ।

मंसिर ८, २०८२

कान्तिपुर संवाददाता

The Prime Minister's Secretariat said: Adarsh ​​Shrestha is a trustworthy person who works day and night.

What you should know

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले कर्मचारी नियुक्ति विवादपछि स्पष्टीकरण दिएको छ । प्रधानमन्त्री कार्कीका प्रेस संयोजक राम रावलले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठ 'विश्वासिलो, भरपर्दो र रातदिन खटिएर काम गर्ने व्यक्ति' भएको बताएका हुन् ।  

जेन-जी आन्दोलनको बलमा स्थापित सरकारका प्रधानमन्त्री कार्कीले मितव्ययिता, पारदर्शिता र जवाफदेहिताका सन्दर्भमा जिम्मेवार र संवेदनशील रही सोहीअनुरुपको आचरण र व्यवहार गर्दै आएको पनि प्रेस संयोजक रावलको दाबी छ । 

प्रधानमन्त्री कार्कीले आफूले भरोसा गर्ने व्यक्ति श्रेष्ठलाई प्रमुख स्वकीय सचिवमा नियुक्त गरेको रावलले बताएका छन् । उनले विज्ञप्तिमा भनेका छन्, 'प्रधानमन्त्रीज्यूले आफूले भरोसा गर्न सक्ने व्यक्तिलाई प्रमुख स्वकीय सचिव नियुक्त गर्नुभएको हो। सम्माननीय प्रधानमन्त्रीज्यूको परिवारमा आफूसँग श्रीमान् मात्र रहनुभएको र उहाँहरूको वृद्ध उमेरको कारण पारिवारिक रूपमा सहयोग गर्न सक्ने विश्वासिलो व्यक्ति प्रधानमन्त्रीज्यूले छनोट गरी नियुक्त गर्नुभएको हो।' 

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठले श्रीमती संगीता श्रेष्ठलाई सहसचिव सरहको सेवा सुविधा पाउने गरी प्रधानमन्त्रीको सचिवालयमा नियुक्त गरेका थिए । उनले असोज २ मा श्रीमतीलाई प्रधानमन्त्रीको सचिवालयमा नियुक्त गरेका हुन् । त्यस्तै, श्रेष्ठले आफ्ना अन्य नातेदारलाई पनि प्रधानमन्त्रीको सचिवालयमा नियुक्त गरेको भन्दै विरोध सुरु भएको छ ।

तर प्रेस संयोजक रावलले भने थर मिलेकै भरमा प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठलाई लाञ्छना लगाइएको दाबी गरेका छन् । 'अन्य नियुक्तिहरूमा प्रमुख स्वकीय सचिवलाई लाञ्छना लगाई अनावश्यक रूपमा जोडिएको र कतै थर र कतै जातीय पृष्ठभूमि मिलेकै आधारमा जबर्जस्ती नातेदार भनी प्रचार गरिएको देखिएकोले त्यसो नगरिदिन हुन पनि अनुरोध छ,' रावलले भनेका छन् । 

राज्यकोषमा कमभन्दा कम भार परोस् र छरितो रूपमा काम गर्न सकियोस् भनेर निकै कम जनशक्तिबाट प्रधानमन्त्रीको सचिवालय सञ्चालन हुँदै आएको पनि प्रधानमन्त्रीको सचिवालयको दाबी छ । 

'कार्यविधिअनुसार ७ जना सल्लाहकार राख्न सक्ने दरबन्दी भए पनि हाल २ जना मात्र नियुक्त हुनुभएको छ। १९ जना विज्ञ कर्मचारी राख्न सक्ने दरबन्दी भए पनि ४ जना मात्र नियुक्त गरिएको छ, जसमध्ये एक जना अवैतनिक हुनुहुन्छ। स्वकीय सचिवालयमा ४१ जनाको दरबन्दी रहे पनि १४ जना मात्र कार्यरत हुनुहुन्छ,' विज्ञप्तिमा भनिएको छ । 

The Prime Minister's Secretariat said: Adarsh ​​Shrestha is a trustworthy person who works day and night.

कान्तिपुर

Link copied successfully