प्रधानमन्त्रीका स्वकीय सचिवले श्रीमतीसहितलाई नियुक्ति दिलाएपछि चौतर्फी विरोध, जेन-जीले उठाए तत्काल बर्खास्तीको माग

राज्यको कार्यकारी प्रमुखको सचिवालयजस्तो संवेदनशील निकायमा नातावाद, कृपावाद र पारिवारिक सम्बन्धका आधारमा नियुक्ति हुनु पदको दुरुपयोग मात्र नभई सुशासन, नैतिकता, जवाफदेहीता र पारदर्शीताविरुद्धको प्रत्यक्ष प्रहार भएको फ्रन्टले जनाएको छ ।

मंसिर ८, २०८२

कान्तिपुर संवाददाता

All-out protests after PM's personal secretary appoints wife, Jen-G demands immediate dismissal

What you should know

काठमाडौँ — जेनजी फ्रन्टले प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठको तत्काल बर्खास्ती माग गरेको छ । त्यस्तै, श्रेष्ठले नियुक्ति दिलाएका परिवारका सदस्य र नातेदार सबैको नियुक्ति तत्काल खारेजी गर्न पनि माग गरिएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव (नेपाल सरकारको सचिवसरह सेवासुविधा) आदर्श श्रेष्ठले श्रीमतीसहितका व्यक्तिलाई प्रधानमन्त्रीको सचिवालयमा नियुक्त गरेको पाइएपछि चौतर्फी विरोध भएको छ ।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठले श्रीमती संगीता श्रेष्ठलाई सहसचिव सरहको सेवा सुविधा पाउने गरी प्रधानमन्त्रीको सचिवालयमा नियुक्त गरेका थिए । उनले असोज २ मा श्रीमतीलाई प्रधानमन्त्रीको सचिवालयमा नियुक्त गरेका हुन् । त्यस्तै, श्रेष्ठले आफ्ना अन्य नातेदारलाई पनि प्रधानमन्त्रीको सचिवालयमा नियुक्त गरेको भन्दै विरोध सुरु भएको छ । 

प्रधानमन्त्रीको सचिवालयमा प्रमुख स्वकीय सचिवले आफन्तलाई नियुक्त गरेको भन्दै नेपाल जेन-जी फ्रन्टले विरोध जनाएको छ । 'प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठद्वारा आफ्नै श्रीमतीसहितका नातेदारलाई प्रधानमन्त्रीको सचिवालयमा नियुक्ति दिलाएको भनी सार्वजनिक भएको समाचारप्रति नेपाल जेन-जी फ्रन्टको गम्भीर ध्यानाकर्षण भएको छ । राज्यको कार्यकारी प्रमुखको सचिवालयजस्तो संवेदनशील निकायमा नातावाद, कृपावाद र पारिवारिक सम्बन्धका आधारमा नियुक्ति हुनु पदको दुरुपयोग मात्र नभई सुशासन, नैतिकता, जवाफदेहीता र पारदर्शीताविरुद्धको प्रत्यक्ष प्रहार हो,' फ्रन्टले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

जेनजी फ्रन्टले प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठको तत्काल बर्खास्तीको माग गरेको छ । त्यस्तै, श्रेष्ठले नियुक्ति दिलाएका परिवारका सदस्य र नातेदार सबैको नियुक्ति तत्काल खारेजी गर्न पनि माग गरिएको छ ।

प्रधानमन्त्री र मन्त्रीका स्वकीय सचिवालयमा कोको कुनकुन पदमा कार्यरत छन् भन्ने विवरण सार्वजनिक गर्न पनि फ्रन्टले माग गरेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully