मोबाइल चोरीको आरोप, निर्घात कुटपिट अनि मृत्यु : पाँच प्रश्नोत्तरमा बुझ्नुहोस् यो घटना

१९ वर्षीय मुकेशकुमार यादवको मृत्यु किन भयो ? उनीमाथी मोबाइल चोरीको आरोप किन लाग्यो र घटनाक्रम कसरी अघि बढ्यो ?

मंसिर ८, २०८२

विद्यानन्द राम

Mobile theft allegations, brutal beating and death: Understand this incident in five Q&As

What you should know

काठमाडौँ — मोबाइल चोरीको अपुष्ट आरोप । अनि यही आरोपका भरमा कुटपिट अनि मृत्यु । पत्यार नलाग्न सक्छ तर यस्तै घटना भयो सप्तरीको सदरमुकाम राजविराज नगरपालिका-१६ बोरियामा । १९ वर्षीय मुकेशकुमार यादवको मृत्यु किन भयो ? उनीमाथी मोबाइल चोरीको आरोप किन लाग्यो र घटनाक्रम कसरी अघि बढ्यो ? हामीले पाँच प्रश्नोत्तरमा यो घटनाक्रम बुझाउने प्रयास गरेका छौं । 

१९ वर्षीय मुकेशकुमार यादवको कुटपिटबाट मृत्यु भएको घटनाको पृष्ठभूमि के हो ? 

गत बुधबारको घटना हो । राजविराज नगरपालिका–१६ बोरियाकी ३५ वर्षकी सरोकुमारी साहको करिब ४० हजार रुपैयाँ पर्ने मोबाइल हरायो । सरोकुमारीले छिमेकमा बस्ने १९ वर्षीय मुकेशकुमार यादवमाथी चोरी गरेको शंका गरिन् । मानसिक स्वास्थ्यसम्बन्धी समस्यासँग जुधिरहेका मुकेशले आरोप अस्वीकार गरे । सरोकुमारले ३/४ जना छिमेकी युवकहरुलाई बोलाइन र मुकेशलाई समातेर आँपको रुखमा बाँध्न लगाइन् । ती युवकहरुले मुकेशलाई लट्ठी र फलामको रडले निर्घात कुटपिट गरे । तर मुकेशले चोरीको इल्जामा स्वीकार गरेनन् । यो घटना हुँदा मुकेशको घरमा न उनका बाबु देवेन्द्र थिए न १३ वर्षका भाइ मिथिलेश र काकाका १४ वर्षीय छोरा रामप्रवेश नै । त्यसैले कुटपिटको घटना हुँदा उनलाई बचाउने कोही भएन । 

निर्घात कुटपिटपछि सरोकुमारीले मुकेशले चोरेको मोबाइल आफ्नो मामाघर लगेको आशंका गर्दै उनलाई ई–रिक्सामा बाँधिन् र विष्णुपुर गाउँपालिका–४ कञ्कट्टास्थित मुकेशको मामाघर पुर्याइन् । त्यहाँ मुकेशका मावलीपट्टिका हजुरबुवा ६७ वर्षका वासुदेव यादव मात्रै घरमा थिए । त्यहाँ पनि मोबाइल नभेटिएपछि सरोकुमारी झनै आक्रोशित भइन् ।  मुकेशलाई छाडिदिन उनका हजुरबुवाले पटक–पटक आग्रह गरे । तर उनको केही जोर चलेन । सरोकुमारीले ई–रिक्सामा बाँधेर कुटपिट गर्दै मुकेशलाई लिएर बोरिया फर्किन् । त्यतिबेलासम्म निरन्तरको कुटपिटले मुकेश अचेत भइसकेका थिए । त्यसपछि उनले मुकेशलाई घरमा पुर्‍याएर फर्किन‍् । मुकेशका बुबा देवेन्द्रले छोराको टाउको, ढाड र शरीरका विभिन्न भागमा चोटैचोट भएको बताए । छोरामाथि फेरि कुटपिट होला भनेर त्यसदिन देवेन्द्रले छोरालाई अस्पताल लगेनन् । भोलिपल्ट अर्थात् बिहीबार मुकेशलाई हनहनी ज्वरो आयो । अनि देवेन्द्रले छोरालाई उपचारको लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज पुर्‍याए । त्यतिबेलासम्म उनको स्वास्थ्य अवस्था जटिल भइसकेको थियो । सघन उपचार कक्ष (आईसीयू) नभएकाले अस्पतालले उनलाई राजविराजस्थित छिन्नमस्ता अस्पतालमा रिफर गरिदियो । छिन्नमस्ता अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचारकै क्रममा  शुक्रबार मुकेशको मृत्यु भयो । 

मुकेशमाथि कुटपिट गर्नेहरु को–को हुन् ? मृतकको घरभन्दा उनीहरूको घर कति टाढा छ ?

मोबाइल चोरीको आरोप लगाउने सरोकुमारी मृतक मुकेशकी छिमेकी हुन् । चार/पाँच मिटरको कच्ची सडक वारी उत्तरतर्फ मुकेश र पारी दक्षिणतर्फ सरोकुमारीको घर छ । मुकेशलाई निर्घात कुटपिट गर्ने काममा सरोकुमारीका अलवा राजगढ गाउँपालिका–१ घर भई बोरियामै बस्ने १८ वर्षीय रवीन्द्र ठाकुर, बोरियाकै २५ वर्षका सन्तोषकुमार राउत र ३५ वर्षका प्रेमनारायण साह पनि संग्लन रहेको भनेर प्रहरीमा जाहेरी परेको छ । 

कुटपिट गर्नेहरुसँग मोबाइल चोरीको आरोप पुष्टि हुने प्रमाण छ ? 

मोबाइल हराएको समय मुकेश पनि सरोकुमारीको घर गएकाले उनीमाथि चोरीको आरोप लागेको देखिन्छ । यो घटनाको अनुसन्धानमा संलग्न प्रहरीका अनुसार सरोकुमारीसँग मुकेशले मोबाइल चोरी गरेको पुष्टी गर्न सक्ने अरु प्रमाण देखिन्न । मुकेश मानसिक रुपले कमजोर रहेकाले उनीमाथि चोरीको आरोप लगाएको हुन सक्ने प्रहरीका अनुसन्धान अधिकारीको आशंका छ  । 

यो घटनामा प्रहरीले के अनुसन्धान गरिरहेको छ ?

घटनापछि प्रहरीले कुटपिटमा संलग्न रहेका सरोकुमारी, रविन्द्र ठाकुर र सन्तोषकुमार राउतलाई पक्राउ गरेको छ भने कर्तव्य ज्यानसम्बन्धी मुद्दामा म्याद थप लिई अनुसन्धान भइरहेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी डम्बरबहादुर पुरीले सप्तरी जिल्ला अदालतबाट ५ दिन थप म्याद लिई अनुसन्धान भइरहेको बताए । मृतकको पोस्टमार्टम रिपोर्ट आएपछि अनुसन्धानले थप गति लिने प्रहरीले बताएको छ ।  

घटनापछि मुकेशको परिवारको अवस्था के छ ? 

मुकेशको पुर्ख्यौली घर जिल्लाको राजगढ गाउँपालिका–६ फकिरा हो । देवेन्द्र र उनका भाइ भूपेन्द्र मिलेर केही वर्षअघि बोरियामा ८ धुर जग्गा किनेर सामान्य घर बनाएर बस्दै आएका थिए । खेतीपाती गरेर जीविकोपार्जन गर्दै आएका मुकेशको परिवार यो घटनापछि शोकमा डुबेको छ । मुकेशकी ७० वर्षीय हजुरआमा सुखोदेवी नातिको मृत्युपछि विक्षिप्त छिन् । मृतक मुकेशका बाबु देवेन्द्र अढाई वर्षअघि वैदेशिक रोजगारीका लागि मलेसिया गएका थिए । त्यहाँबाट फर्किँदा उनी बाँया खुट्टा नचल्ने समस्या र मलेसिया जाँदाको कर्जासहित फर्किएका थिए । उनी अहिले खुट्टा टेक्नेसम्म बनाउन सकिन्छ कि भनेर विराटनगरस्थित अस्पतालमा उपचार गराइरहेका छन् । लोरौको सहारामा हिँडिरहेका देवेन्द्र छोरामाथि निराधार आरोप लगाएर कुटपिट गरी हत्या गरिएकोमा आक्रोशित छन् । उनले भने, 'दोषीउपर कडा कारबाही होस् ।' 

सम्बन्धित समाचार 

मोबाइल चोरीको आरोपमा कुटपिट गर्दा दलित युवकको मृत्यु

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully