कृषि विद्यार्थीलाई दीर्घकालीन रोजगार दिने इजरायलको प्रस्ताव

घरमा नै बसेर वृद्धवृद्धा र शारीरिक अशक्तता भएका व्यक्तिलाई पनि स्याहारसुसार गर्ने क्षेत्रमासमेत रोजगारी दिने इजरायलको प्रस्ताव छ ।

मंसिर ८, २०८२

होम कार्की

Israel's proposal to provide long-term employment to agricultural students

What you should know

काठमाडौँ — इजरायलले कृषिका नेपाली विद्यार्थीलाई कृषि क्षेत्रमा र घरमा आधारित सहायक श्रमिक (कियरगिभर)लाई ५ वर्षको दीर्घकालीन रोजगारी दिन भन्दै थप दुई वटा नयाँ प्रोटोकलको मस्यौदा पठाएको छ ।

इजरायल र नेपालबीच भएको श्रम सम्झौता अर्न्तगत थप दुई वटा प्रोटोकल र एकको परिमार्जन हुन लागेको हो । इजरायलसँग दीर्घकालीन सेवा केन्द्र (वेताबोध)मा सहायक श्रमिक पठाउने मात्रै प्रोटोकल छ । यसलाई पनि परिमार्जन सहितको मस्यौदा पठाएको छ ।

‘अहिले हामीसँग इजरायलले पठाएको तीन वटा प्रोटोकलसम्बन्धी मस्यौदा छ । एउटा अस्पताल (वेताबोध)मा रहेका वृद्धवृद्धालाई स्याहारसुसार गर्ने पहिला नै गरिएको प्रोटोकललाई थप परिमार्जन गरी आएको छ । दोस्रो कृषिका विद्यार्थीलाई रोजगारी दिने र तेस्रो घरमा नै बसेर कियरगिभरमा रोजगारी दिने हो,’ श्रम मन्त्रालयका एक अधिकारीले इकान्तिपुरलाई भने,‘तीनवटा मध्ये दुई प्रोटोकल नयाँ हो ।’

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार तीन वटै प्रोटोकल छलफल गरी स्वीकृतिको लागि मन्त्रिपरिषद् पुगेको छ । ‘हामीले यसमा आवश्यक छलफल गरिसकेका छौं । यसको अन्तिम तयारीको लागि मन्त्रिपरिषद्‌को विधेयक समितिमा पठाएको छ । यसबाट पारित भएमा हस्ताक्षर गर्ने प्रक्रिया अगाडि बढ्नेछ ।’

श्रम मन्त्रालयका अनुसार तीन वटै क्षेत्रमा सरकारी संयन्त्रबाटै श्रमिकको भर्ना प्रक्रिया अगाडि बढाइनेछ । लर्न एन्ड अर्न कार्यक्रम अन्तर्गत इजरायल जाने कृषि विद्यार्थीलाई कृषि क्षेत्रमा नै श्रमिकको हैसियतमा काम लगाउने इजरायलको प्रस्ताव छ । लर्न एन्ड अर्न कार्यक्रम ११ महिनाको मात्रै हुन्छ । अहिलेसम्म इजरायलमा यो कार्यक्रम अन्तर्गत तीन हजार जना विद्यार्थी गइसकेका छन् । ‘लर्न एन्ड अर्न कार्यक्रम सकेपछि दीर्घकालीन रोजगारीमा परिणत गर्ने प्रस्ताव छ । जुन नेपाली विद्यार्थीको लागि दिगो रोजगारी हो,’ ती अधिकारीले भने ।

त्यस्तै, घरमा नै बसेर वृद्धवृद्धा र शारीरिक अशक्तता भएका व्यक्तिलाई पनि स्याहारसुसार गर्ने क्षेत्रमा रोजगारी दिने इजरायलको प्रस्ताव छ । यो क्षेत्रमा २००७ देखि नै नेपाली जान थालेको थियो । त्यतिखेर काम गर्न पुगेका नेपालीले अहिले पनि घरमै काम गरिरहेको छ  । तर म्यानपावर कम्पनीमार्फत पठाउँदा आर्थिक शोषण भएको भन्दै बन्द भएपछि नया श्रमिक जान पाएको छैन । हाल इजरायलमा झन्डै ५ हजार नेपाली कार्यरत छन् । चार वर्षदेखि भने वेताबोधमा मात्रै गइरहेका छन् । एक वर्ष अगाडि वेताबोधको लागि २१ सय १२ जना छानिएका छन् । जसमध्ये ८ सय जना गइसकेका छन् ।

होम कार्की दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully