जेन–जी आन्दोलनमा कसरी आइपुगेको थियो टीओबी ?

गत भदौ २३ गतेको जेन–जी आन्दोलनको दिन चिया पसलमा भेला भई यो समूह बुलेट बाइक पड्काउँदै आन्दोलनमा गएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

मंसिर ८, २०८२

गौरव पोखरेल

How did TOB come to be involved in the Gen-G movement?

What you should know

काठमाडौँ — गत भदौ २४ को प्रदर्शनका क्रममा चर्को आवाजमा बाइक कुदाउँदै परिस्थिति भड्काएको आरोप लागेको टीओबी समूहका तेन्जिन दावा लामाबाहेक अरुको तिब्बतसँग कुनै सम्बन्ध नदेखिएको प्रहरीले निष्कर्ष निकालेको छ ।जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता पवन भट्टराईका अनुसार, १० जुन २०२४ मा यो बाइकर्स समूहको रुपमा स्थापना भएको देखिएको छ ।

‘यसमा ५७ जना सदस्य रहेछन्, लोगोको डिजाइन तेन्जिन नै गरेका रहेछन्,’ सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘यसको पूरा रुप द ओरिजिनल ब्रदर्स रहेको देखिन्छ, तर तिब्बती मूलको भएकाले तेन्जिनले आफ्नो ज्याकेटमा तिब्तियन ओरिजिनल ब्लड लेखेको बयान दिएका छन् ।’ समूहका उनीबाहेक अरु सबै सदस्य नेपाली नागरिक रहेको प्रहरीले उल्लेख गरेको छ ।

प्रहरीले तेन्जिनको साथबाट चाहिँ तिब्बतीयन ओरिजिनल ब्लड लेखिएको अरु ६ वटा ज्याकेट पनि बरामद गरेको छ । ‘टीओबी तेन्जिनबाहेक अरु व्यक्तिको बुझाईमा द ओरिजिनल ब्रदर्स हो, फेसबुक, इन्स्टाग्राममा पनि त्यही लेखिएको छ,’ भट्टराईले भने, ‘तर, भट्टराईको दृष्टिकोणबाट हेर्दा त्यो तिब्बतीयन ओरिजिनल ब्लड भन्ने देखिएको छ ।’  

प्रहरीका अनुसार, तेन्जिनसहित अरु सदस्यहरुले सुरेन्द्र गुरुङ नामक र्‍यापरबाट प्रभावित भएर टिसर्टमा हाकिम लेखेको उनीहरुले बयान दिएका छन् । ‘ड्रागनले युद्धमा जाने योद्धा र त्यसमाथि रहेको फूलले शान्ति प्रियलाई चिनाउँछ भने हाकिमले शासकलाई चिनाउँछ, यो बाहेक लागोको कुनै तात्विक अर्थ छैन,’ भट्टराईले थपे ।

चिया पसलमा भेला भएर आएको थियो टोली

जेन–जी प्रदर्शनको एक दिनअघि नै यो समूहले आन्दोलनमा सहभागी हुने विषयमा सल्लाह गरेको पनि देखिएको छ । टीओबीको इन्टाग्राम एकाउन्टमा सोनाम शेर्पाले सूचना राख्दै २३ भदौमा बिहान गोपीकृष्ण हल नजिक रहेको ‘चिया बस्ती’ नामक चिया पसलमा भेला हुन भनेको पाइएको छ । त्यसपछि यो समूहमा रहेका मोटरसाइकल राइडरहरु २३ भदौमा त्यही चिया पसलमा भेला भएर समूहमा हिँडेको पाइएको छ ।

‘करिब १२ बजेको समयमा बानेश्वरस्थित बिजुलीबजार पुलमा पुगेर बाइक पड्काउँदै नारा जुलुससहित भीडलाई उत्तेजित गरेको पाइएको छ,’ भट्टराईले भने, ‘त्यही बेला उनीहरुले मेरो देश मलाई फिर्ता चाहियो, मेरो देश मेरो शान भनेको पनि भेटिएको छ ।’ त्यो दिन तेन्जिनको टाउकोमासमेत चोट लागेको पाइएको उनले बताए ।

प्रहरीले अनुसन्धानका क्रममा प्रदर्शनमा गएका २६ जना मानिसहरुलाई नै सम्पर्कमा ल्याएको थियो भने उनीहरुले प्रयोग गरेका १३ वटा बुलेट र एउटा पल्सर मोटरसाइकल नियन्त्रणमा लिएको थियो । ती मोटरसाइकलहरु सोमबार अभिभावकको रोहबरमा सम्बन्धितलाई जिम्मा लगाइएको छ ।

तेन्जिनविरुद्ध तीन मुद्दा

टीओबी समूहले ७ सय रुपैयाँमा टिसर्च खरिद गरेर एक हजार रुपैयाँमा सदस्यहरुलाई बिक्री गर्ने गरेको पनि खुलेको छ । त्यही नाफाले उनीहरुले समूह सञ्चालन गर्ने गरेको पाइएको छ ।

‘यो समूहले प्रायः ६ महिनामा उपत्यकाबाहिरको लामो दूरीको मोटरसाइकल यात्रा गर्ने गरेको हरेछ, उपत्यकाभित्रको हकमा प्रायः शनिबारको दिन मोटरसाइकल यात्रा गर्ने गर्दो रहेछ,’ भट्टराईले भने ।

बिजुलीबजारमा पेस्तोल देखाएको भिडियो सार्वजनिक भएपछि पक्राउ परेका उनलाई प्रहरीले सुरुमा अभद्र व्यवहारको कसुरमा मुद्दा चलाएको थियो । यद्यपि, त्यो भिडियो जेन–जी आन्दोलनको बेलाको नभई, केही महिना पहिल्यै म्युजिक भिडियो बनाउँदाको भएको प्रहरीको भनाइ छ ।

अभद्र व्यवहारको कसुरमा ७ हजार ५ सय रुपैयाँ धरौटी प्रशासनले मागेको थियो ।

उनीमाथि लिखत, नागरिकता र राहदानीसम्बन्धी कसुरमा पनि अनुसन्धान भइरहेको छ । प्रहरीले उनीको साथबाट गाँजासमेत बरामद भएकाले लागूऔषधको कसुरमासमेत अनुसन्धान गरिरहेको छ । 

गौरव पोखरेल राष्ट्रिय सुरक्षा मामिला, सुशासन र समसामयिक विषयमा कान्तिपुरका लागि रिपोर्टिङ गर्छन् ।

Link copied successfully