मन्त्री अर्यालले नेपाल–भारत सीमामा हुन सक्ने अवाञ्छित गतिविधि र राजस्व चुहावट नियन्त्रणका लागि कठोर भएर तथा नेपाली नागरिकलाई सीमामा हुन सक्ने हैरानीबारे सचेत रहँदै सहज वातावरण बनाउन निर्देशन दिएका छन्।
What you should know
काठमाडौँ — गृहमन्त्री ओमप्रकाश अर्यालले रुपन्देहीको सिद्धार्थनगर नगरपालिकास्थित भैरहवा–बेलहियामा निर्माणाधीन एकीकृत जाँच चौकी र सशस्त्र प्रहरी बल नेपालको डण्डास्थित सीमा सुरक्षा गुल्मको निरीक्षण भ्रमण गरेका छन्।
मङ्गलबारबाट लुम्बिनी प्रदेशबाट सुरु हुन लागेको प्रदेशस्तरीय सुरक्षा गोष्ठीको पूर्वसन्ध्यामा उनी आज यहाँ आएका अवसरमा निरीक्षण भ्रमण गरेका हुन्। मन्त्री अर्यालले आजै लुम्बिनी पुगेर मायादेवी मन्दिरको दर्शन गर्दै त्यहाँको समग्र वस्तुस्थितिबारे जानकारी लिएका थिए।
निरीक्षणका क्रममा मन्त्री अर्यालसँग गृह सचिव रामेश्वर दंगाल, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धानका प्रमुख अनुसन्धान अधिकृत टेकेन्द्र कार्की, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी, प्रदेश प्रहरी तथा सशस्त्र प्रहरी प्रमुख र जिल्लाका प्रहरी प्रमुख उपस्थित थिए।
मन्त्री अर्याललाई प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जाँच चौकीको भौतिक प्रगति तथा उपलब्ध हुने सेवाबारे जानकारी गराएका थिए। हालसम्म जाँच चौकीको भौतिक प्रगति ७९ प्रतिशत र वित्तीय प्रगति ७७ प्रतिशत पुगेको जानकारी गराइएको गृह मन्त्रालयकाे सचिवालयले जनाएको छ।
यस्तै, मन्त्री अर्यालले सशस्त्र प्रहरी बल नेपालको भैरहवास्थित सीमा सुरक्षा गुल्म पुगेर समग्र सीमा सुरक्षा तथा वस्तुस्थितिबारे जानकारी लिएका छन्। त्यस क्रममा उनले नेपाल–भारत सीमामा हुन सक्ने अवाञ्छित गतिविधि र राजस्व चुहावट नियन्त्रणका लागि कठोर भएर तथा नेपाली नागरिकलाई सीमामा हुन सक्ने हैरानीबारे सचेत रहँदै सहज वातावरण बनाउन निर्देशन दिएका छन्।
मन्त्री अर्यालले सीमाबाट हुन सक्ने अवैध ओसारपसार र अवाञ्छित गतिविधि नियन्त्रणका लागि जिल्ला सुरक्षा प्रमुखलाई पनि निर्देशन दिए।
