नेपाली केही किशोरीलाई राखेर म्यारिज ब्युरो सञ्चालनसहितका अवैध गतिविधि गरेको सूचनापछि पुगेको टोलीले उनीहरुलाई पक्राउ गरेको थियो ।
What you should know
काठमाडौँ — काठमाडौंको सोह्रखुट्टेबाट पक्राउ परेका चार चिनियाँ नागरिकलाई अध्यागमन विभागले ३ वर्ष नेपाल प्रवेश गर्न नपाउने गरी निष्कासनको सिफारिस गरेको छ ।
गत २८ कात्तिकमा सोह्रखुट्टेको एक घरबाट पक्राउ परेका चिनियाँ नागरिकहरु रुइजेङ अलान वाङ, लिउ युफान, रुई सियाओ र चाय यान बोलाई ५० हजार रुपैयाँ जरिवाना असुल गरी ३ वर्ष नेपाल प्रवेश गर्न नपाउने गरी निष्कासनको सिफारिस भएको हो ।
अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले महानिर्देशकस्तरीय निर्णय गरी उनीहरुलाई तोकिएको जरिवाना असुल गरी ३ वर्ष नेपाल भित्रिन नपाउने गरी निष्कासन गर्न गृह मन्त्रालयलाई सिफारिस गरेका हुन् । अध्यागमन विभागबाट भएको सिफारिस गृहसचिव स्तरीय निर्णयबाट अनुमोदन गर्नुपर्ने हुन्छ ।
विभागका निर्देशक एवं प्रवक्ता टीकाराम ढकालले निष्कासनको सिफारिस गरेर पत्र गृह मन्त्रालय पठाइएको जानकारी दिए । सोह्रखुट्टेको एउटा घर भाडामा लिएर शंकास्पद गतिविधि गरेको आरोपमा विभागको टोलीले गत साता छापा मारी चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको थियो ।
नेपाली केही किशोरीलाई राखेर म्यारिज ब्युरो सञ्चालनसहितका अवैध गतिविधि गर्ने गरेको सूचनापछि विभागको टोली प्रहरीको सहयोगमा त्यहाँ पुगेको थियो । त्यसपछि खानतलासी गर्दा दुई जना भिसा गुजारेर बसेको र अरु दुईजना भिसा दुरुपयोग गरी गैरकानुनी गतिविधिमा संलग्न रहेको भेटिएको थियो । त्यसपछि अनुसन्धान गर्दा एउटा प्रयोजनमा भित्रिएर अरु नै गतिविधि गर्ने गरेको पाइएपछि चारैजनालाई जनही ५० हजार जरिवाना र ३ वर्ष नेपाल प्रवेश गर्न नपाउने गरी निष्कासन गर्न मन्त्रालयमा सिफारिस गरिएको विभागले जनाएको छ ।
अध्यागमन कानुन उल्लंघन गरी नेपालमा बसेर गैरकानुनी गतिविधि गरेको भेटिए अध्यागमन ऐन २०४९ को दफा ९ मा त्यस्ता विदेशी नागरिकलाई निश्चित अवधि तोकेर तोकिएको जरिवाना असुल र निश्चित अवधिसम्म नेपाल भित्रिन नपाउने गरी निष्कासन गर्न सकिने व्यवस्था छ । नेपालमा छिरेका कतिपय चिनियाँ नागरिक विदेशी मुद्रा तथा सुन तस्करी, वन्यजन्तु तस्करी, अवैध कल बाइपासलगायतका अपराधमा मुछिँदै आएका छन् । पछिल्लो पटक पक्राउ परेका चारजनाले म्यारिज ब्युरो सञ्चालनको आडमा गैरकानुनी गतिविधि गर्दै आएको भेटिएको छ । कतिपय चिनियाँ पर्यटक भिसामा भित्रिएर अवधि सकिएर पनि ओभर स्टेमा रहने गरेका छन् ।
