नेपाल विद्यार्थी संघका सभापति दुजाङ शेर्पाले एमाले नेता बस्नेतलाई लोला प्रहार गर्नेलाई कारबाही गरिने बताएका छन् ।
काठमाडौँ — आइतबार विराटनगर विमानस्थल परिसरबाहिर एमाले नेता महेश बस्नेत सवार गाडीमा केही युवाले रातो रङ मिसिएको लोला प्रहार गरे ।
बस्नेत सवार गाडीमा प्रहार गर्ने दुई युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी स्रोतका अनुसार नियन्त्रणमा परेकामध्ये सन्जोग गौतम र अर्पित कुँवर छन् ।
बस्नेतमाथि रातो रङ मिसिएको लोला हान्ने गौतम विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसको नेपाल विद्यार्थी संघको इकाइ समिति सभापति हुन् भने कुँवर सदस्य । कांग्रेसभित्रको गुटबन्दीका कारण महेन्द्र मोरङ क्याम्पसमा नेविसंघका दुई समूह सक्रिय छन् । गौतम र कुँवर शेखर कोइराला समूहका रुपमा चिनिन्छन् ।
नेपाल विद्यार्थी संघका सभापति दुजाङ शेर्पाले एमाले नेता बस्नेतलाई लोला प्रहार गर्नेलाई कारबाही गरिने बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, 'रातो मसी छ्याप्ने कायरता नेविसंघको होइन । संगठनको नाम दुरुपयोग गर्नेहरुलाई कडा कारबाही गरिन्छ ।'
एमालेको इटहरी उपमहानगर कमिटीले आयोजना गरेको युवा जागरण अभियानमा सहभागी हुन हिँडेका बेला बस्नेतमाथि लोला हानिएको थियो । प्रहरीका अनुसार बस्नेतको गाडी विमानस्थलबाट निस्केर अगाडि बढेका बेला चिया पसलमा बसेका दुई युवामध्ये एक जना अकस्मात् उठेर आएर प्रहार गरे । घटनाका बेला अर्का युवाले यो सबै गतिविधिको भिडियो खिचिरहेका थिए ।
प्रहरी स्रोतका अनुसार प्रहरी नियन्त्रणमा पुगेका गौतम र कुँवरलाई छुटाउन जेन-जी समूहका केही युवा प्रहरी कार्यलयमा पुगेका थिए । तीमध्ये केही भने जेन-जी आन्दोलनका अगुवामध्येका एक सुधन गुरुङ समूहमा सक्रिय छन् ।
