बिहीबार मलेसियाको क्वालालम्पुरमा ग्लोबल इन्भेस्टिगेटिभ जर्नालिज्म कन्फरेन्सका दौरान बसेको जिएफएमडी स्टीयरिङ कमिटीको पहिलो बैठकले लक्ष्मणदत्त पन्तलाई आगामी ४ वर्षका लागि उपाध्यक्षमा निर्वाचित गरेको हो ।
What you should know
काठमाडौँ — ग्लोबल फोरम फर मिडिया डेभलपमेन्ट (जिएफएमडी)ले नेपालका मिडिया अधिकारकर्मी लक्ष्मणदत्त पन्तलाई उपाध्यक्षमा निर्वाचित गरेको छ।
गत मंसिर ४ गते मलेसियाको क्वालालम्पुरमा ग्लोबल इन्भेस्टिगेटिभ जर्नालिज्म कन्फरेन्सका दौरान बसेको जिएफएमडी स्टीयरिङ कमिटीको पहिलो बैठकले पन्तलाई आगामी ४ वर्षका लागि उपाध्यक्षमा निर्वाचित गरेको हो ।
उपाध्यक्षको रुपमा पन्त नव-निर्वाचित अध्यक्ष रावान दामेन, कोषाध्यक्ष क्यारोलिन व्युलेमिन तथा स्टीयरिङ कमिटीका अन्य सदस्यहरूसँग मिलेर मिडिया विकास, प्रेस स्वतन्त्रता, पत्रकार सुरक्षा र सूचना विश्वसनीयतामाथि बढ्दै गइरहेका जोखिमबीच विश्व मिडिया समुदाय सुदृढ गर्न काम गर्नेछन्।
उपाध्यक्षमा निर्वाचित भएसँगै पन्त विश्वकै सबैभन्दा ठूलो मिडिया विकास संस्थाहरूको सञ्जालको नेतृत्वमा प्रवेश गर्ने पहिलो नेपाली बनेका हुन् । उपाध्यक्षमा निर्वाचित पश्चात् पन्तले स्टीयरिङ कमिटीको पहिलो औपचारिक बैठकको अध्यक्षता गरे। सो अवसरमा पन्तले 'स्थानीयदेखि विश्वव्यापी सहभागितालाई प्रतिबिम्बित गर्ने संस्था र विज्ञसँग मिलेर चुनौतीपूर्ण अवस्थामा समेत मिडिया समुदाय सुदृढ बनाउन काम गर्ने' प्रतिबद्धता व्यक्त गरे । नव–निर्वाचित अध्यक्ष दामेन अनलाइनमार्फत बैठकमा सहभागी भएकी थिइन् ।
वैश्विक स्तरमा परिचित नेपाली मिडिया अधिकारकर्मी र सञ्चारविद् पन्तसँग पत्रकारिता, प्रेस स्वतन्त्रता प्रवर्द्धन, अनुसन्धान, नीतिगत संलग्नता, र परियोजना व्यवस्थापनमा दुई दशकभन्दा बढीको अनुभव छ । उनले २०१५ मा स्वतन्त्र र उत्तरदायी पत्रकारिता प्रवर्द्धनका लागि मिडिया एक्सन नेपालको स्थापना गरेका हुन् । उनको नेतृत्वमा सो संस्था मिडिया फ्रीडम कोलिसन–कन्सल्टेटिभ नेटवर्क, आकोस अलायन्स, जिएफएमडीलगायतका प्रमुख अन्तर्राष्ट्रिय सञ्जालहरूको सक्रिय सदस्य बनेको छ ।
२०२२–२०२४ सम्म कन्सल्टेटिभ नेटवर्कको निर्वाचित सह–अध्यक्षको रुपमा पन्तले ५१ मुलुक, १५० भन्दा बढी नागरिक समाज संस्थाहरू तथा प्रेस स्वतन्त्रतामा संलग्न विश्वस्तरीय निकायहरूबीच साझेदारी मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।
