रंगशालाको ऋणले तनावमा धुर्मुस, भुक्तान-विधि खोज्दै भरतपुर महानगर

तिर्नुपर्ने दायित्व १८ करोड ४३ लाख रुपैयाँ छ । ऋण चुक्ता गर्न १५ करोड मात्र बजेट अख्तियारी आए पनि भुक्तानीको ‘खरखिचोला’ हटेको छैन ।

मंसिर ६, २०८२

रमेशकुमार पौडेल

Dhurmus in stress due to stadium debt, Bharatpur Metropolitan Municipality looking for payment method

What you should know

चितवन — भरतपुरमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला बनाउन लाग्दा करोडौं रुपैयाँ उधारोमा गराएको कामको भुक्तानी दिने तनावले धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल 'धुर्मुस' तनावमा छन् । 

फाउन्डेसनले अधुरो छाडेको रंगशाला अहिले भरतपुर महानगरले प्रदेश र संघीय सरकारको साझेदारीमा धमाधम बनाउँदै छ । तर विगतमा त्यही संरचना बनाउँदा फाउन्डेसनले उधारोमा गरेको कामको भुक्तानी गर्ने विषय बजेट भएर पनि थाती बसेको छ ।

यो विषयले तनावमा आएका कट्टेल हिले मानसिक र शारीरिक रुपमा निकै गलेका देखिन्छन् । उपचारका लागि नवलपरासीको रजहरमा रहेको प्राकृतिक चिकित्सालयमा बसेका उनी रकम मिलानको विषयमा पछिल्लो १२ दिन  लगभग दिनदिनै भरतपुर महानगरपालिका धाइरहेका भेटिन्थे । संघीय मन्त्रालयबाट भुक्तानीका लागि अख्तियारी आएपछि महानगर धाइरहँदा पनि काम नभएको दुखेसो गर्दै बुधबार दिउँसो उनले ‘अब महानगर टेक्दिनँ’ भन्दै दुखेसो पोखेर बाहिरिए ।

संघीय सरकारले गरेको प्रबन्ध अनुसार फाउन्डेसनको ऋण तिर्ने विषयमा विलम्ब हुँदै गएपछि समाचार तथा सामाजिक सञ्जालमा आएका विषयप्रति ध्यानाकर्षण भएको भन्दै महानगरले शुक्रबार प्रेस विज्ञप्ति जारी गरेको छ । प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा निजी दायित्व सरकारी रकम प्रयोग गरी भुक्तान गर्ने विधि महानगरले खोज्दै  गरेको उल्लेख छ । 'व्यक्ति तथा संस्थाले निजी रूपमा सिर्जना गरेको निजी दायित्व सरकारी रकम प्रयोग गरी भुक्तानी दिने विषय अत्यन्त संवेदनशील एवं कानुनी रूपमा जटिल विषय हो,' विज्ञप्तिमा उल्लेख छ । 

फाउन्डेसनलाई रकम दिने भन्ने विषय कानुनका दफा उपदफामा फेला पार्न नसकेको हुँदा यसको प्रक्रियाका बारेका विभिन्न निकाय, खरिद विज्ञ, कानुनविद्, प्रशाशक, पूर्वप्रशासक र विषय विज्ञसँग छलफल परामर्शमा राय लिने चरणमा रहेको पनि प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताएका छन् । 'भुक्तानी प्रक्रियामा सामेल हुने कर्मचारी र निर्णय प्रक्रियामा संलग्न हुने पदाधीकारीलाई भविष्यमा कुनै कानुनी जटिलता र अभियोजन खेप्नु नपर्ने गरी यस समस्याको सर्वोत्तम समाधान कसरी गरिन्छ भन्नेमा हामी निरन्तर एवं संवेदनशील रूपबाट प्रयत्नशील छौं,' विज्ञप्तिमा उल्लेख छ । प्रशासनिक काम भावनाले नभएर वैधानिक विधिबाट हुने भन्दै कतिपय अवस्थामा कतिपय व्यक्तिले चाहेझैं र चाहेकै समयमा सम्पादन हुन सम्भव नहुने पनि जनाइएको छ ।

Dhurmus in stress due to stadium debt, Bharatpur Metropolitan Municipality looking for payment method

संघीय सरकारबाट सिर्जित सम्पत्ति खरिद शीर्षकमा महानगरलाई ससर्त अनुदानमा १५ करोड रुपैयाँ खर्च गर्ने अख्तियारी  प्राप्त भएको छ । जुन रकम चार चरणमा भुक्तान गर्ने भन्ने छ । तर खर्च गर्ने प्रक्रिया र कार्यविधि महानगरले भेटाउन सकेको छैन ।

'हाम्रो भनाइ संघीय मन्त्रिपरिषद्ले निर्णय गरेर सिधै फाउन्डेसननलाई अनुदान दिनुपर्ने भन्ने हो । बरु के सिफारिस गर्नुपर्ने हो, हामी त्यो सबैगर्न तयार छौं,' महानगर प्रमुख रेनु दाहालले भनिन् । नेपालमा प्रचलित कुनै पनि कानुनमा निजी या सामुदायिक संस्थाले निर्माण वा सिर्जना गरेको सम्पत्ति खरिद गर्ने प्रक्रिया वा कार्यविधि यस महानगरले फेला पार्न नसकेको उनको भनाइ छ । 

महानगरले गत वैशाख १४ मा रंगशाला निर्माणको दायित्व फरफारक गर्न (ऋण धनको हिसाब मिलाउन) नेपाल सरकारले फाउन्डेसनलाई अनुदान उपलब्ध गराउन संघीय मामिला मन्त्रालयमार्फत सिफारिस गरेको थियो । 

आर्थिक वर्ष ०८२/८३ को बजेट वक्तव्यमा सिर्जित सम्पत्ति खरिदका लागि आवश्यक बजेटको व्यवस्था गरेको भन्ने उल्लेख  थियो । उक्त बजेट युवा तथा खेलकुद मन्त्रालयको स्थानीय तहबाट कार्यन्वयन हुने आयोजनाअन्तर्गत राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रममा परेको छ । इन्जिनियरिङ मूल्यांकनको आधारमा सिर्जित सम्पत्ति खरिदका लागि १५ करोड रुपैयाँ प्राप्त भए पनि भुक्तानी प्रक्रिया सुरु हुनै सकेको छैन । जसका कारण कट्टेल अस्वस्थ अवस्थामा पनि यताउता भौंतारिरहेका छन् । 

बजेट कार्यन्वयनमा परेको दुविधा र समस्या उल्लेख गरी कात्तिक २१ मा अर्थमन्त्रालय निर्देशन माग गरेर महानगरले पत्र पठाएको थियो । अर्थ मन्त्रालयले पनि कात्तिक २४ मा पत्र पठाउँदै ‘नेपालको संविधान, अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, सार्वजनिक खरिद ऐनअनुसार हुने काममा मन्त्रालयको निर्देशन आवश्यक नपर्ने भनेर जवाफ पठाएको थियो । त्यसपछि बजेटको अख्तियारी दिने युवा तथा खेलकुद मन्त्रालयलाई पनि महानगरले समस्या निराकरणका लागि निर्देशन दिन अनुरोध गरेको थियो ।

उक्त मन्त्रालयले पनि ‘प्रचलित कानुनको अधिनमा रही कार्यन्वयन हुने भएकाले छुट्टै राय नरहेको’ जवाफ दियो । तर महानगर कार्यविधि र प्रक्रिया फेला पार्न सकिएन भनिरहेको छ । उता अख्तियारी आएको रकम नपाउँदा आफू र आफ्नो परिवार नै पीडित बन्दै गएको फाउन्डेसनका अध्यक्ष कट्टेलको दुखेसो छ । 

२०७५ माघ १६ मा भरतपुर महानगरपालिका मेयर दाहाल र फाउन्डेसनबीच निकै तामझामका साथ  महानगरले उपलब्ध गराउने जग्गामा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने विषयमा सहमतिपत्रमा हस्ताक्षर भएको थियो । सहमतिबमोजिम महानगरले रामपुरमा कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गर्दै आएको तर त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको २० विघा जमिन रंगशाला बनाउन उपलब्ध गराएको थियो ।

रामपुर लगायत हेटौंडामा पनि सम्पत्ति हस्तान्तरणका विषयमा त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयबीच दशकौंदेखिको विवाद अझै कायमै छ । तर रंगशाला बनाउन महानगरलाई जग्गा उपभोग गर्न दिने विषयमा दुवै विश्वविद्यालयका तत्कालीन उपकुलपतिहरु सहमत भएका थिए । जग्गा उपलब्ध भएपछि आर्थिक स्रोतको व्यवस्थापन फाउन्डेसनले गर्ने भन्ने थियो । करिब तीन अर्ब रुपैयाँ लागतमा दुई वर्षभित्र रंगशाला तयार गर्ने भनिएको थियो ।

तर काम गर्दै जाँदा कल्पना गरे जस्तो रकम उठ्न सकेको थिएन । त्यही क्रममा विश्व नै कोरोना संक्रमणको महामारीमा आयो । त्यसपछि फाउन्डेसनले स्रोत जुटाउन असम्भव भएका कारणले परियोजनाको स्वामित्व लिन अनुरोध गर्दै महानगरलाई २०७८ सालको पुस २ मा पत्रचार गर्‍यो । तर फाउन्डेसनले निर्माणको काम भने यसअघि नै रोकिसकेको थियो । त्यो बेला पठाएको पत्रमा फाउन्डेसनले दायित्व व्यवस्थापन बारेमा केही उल्लेख नगरेको महानगरको भनाइ छ ।

त्यसपछि २०७८ माघ २० मा यसअघि भइसकेको निर्माणको सम्बन्धमा हरहिसाब चलिरहेको हुँदा हरहिसाब बमोजिम हुने गरी रंगशालामा फाउन्डेसनको कुनै स्वामित्व, हकदाबी र ‘खरखिचोला’ नरहने भनी मञ्जुरीनामा अध्यक्ष कट्टेलले बुझाएका थिए । हरहिसाबले तिर्नुपर्ने दायित्व १८ करोड ४३ लाख रुपैयाँ रहेको देखाएको थियो । जसलाई अन्य अध्ययन परीक्षणले पनि पुष्टि गरेको थियो । १५ करोड रुपैयाँ मात्र ऋण चुक्ता गर्न बजेट अख्तियारी आए पनि भुक्तानीको ‘खरखिचोला’ हटेको छैन ।

यसअघि पनि रंगशाला निर्माणका क्रममा सिर्जना भएको दायित्व भुक्तानका लागि २०७९ चैत २० मा फाउन्डेसनलाई अनुदानस्वरुप उपलब्ध गराउन १२ करोड रुपैयाँ प्राप्त भएको थियो । राष्ट्रिय खेलकुद परिषद्मा आएको सो बजेट पनि भुक्तानीको कार्यन्वयन भएन । त्यसैगरी सिर्जित दायित्व नियमअनुसार भुक्तानी गर्ने गरी २०८० असार १९ मा महानगरलाई अख्तियारी आएको थियो । 

फाउन्डेसनले १८ करोड रुपैयाँभन्दा बढी उधारो राखेर ६० करोड रुपैयाँको हाराहारीमा काम गरेको थियो । निर्माणबाट फाउन्डेसन अलग भएपछि महानगरले २०८० कात्तिक २१ मा बागमती सरकारसँग मिलेर रंगशाला निर्माणको काम पूरा गर्ने निधो गर्‍यो । कात्तिक २३ मा संघीय सरकारले रंगशालालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गर्‍यो । त्यसपछि २०८१ असारमा ३० महिनाभित्र काम सम्पन्न गर्ने गरेर रंगशाला निर्माणको काम अगाडि बढेको छ । जसअनुसार हाल ४५ प्रतिशतको हाराहारीमा काम सम्पन्न भएको महानगरले जनाएको छ । 

रमेशकुमार पौडेल पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully