सिमरा तनाव : सुधन गुरुङहरू आएपछि मात्र जेन-जी समूह प्रशासनसँग वार्तामा बस्ने

सिमराका जेन-जीहरू नेताको पर्खाइमा छन् । बिहीबार साढे ४ बजेखि उनीहरू प्रदर्शन रोकेका छन् । शुक्रबार राजमार्ग अवरोध गरेर प्रदर्शन नगर्ने जेन-जी समूहको भनाइ छ ।

मंसिर ५, २०८२

लक्ष्मी साह

Simara tension: Gen-G group to hold talks with administration only after Sudhan Gurungs arrive

What you should know

बारा — तीन दिनअघि बाराको सिमरामा बुधबार एमाले र जेन-जी समूहबीच झडपले उत्पन्न परिस्थितिबारे शुक्रबार दिउँसो प्रहरी प्रशासन र जेन-जीबीच वार्ता हुने भएको छ । जितपुरसिमरा उपमहानगरपालिका जेन-जी कमिटीका प्रवक्ता मनिष सापकोटाकाअनुसार जेन-जी नेता सुधन गुरुङ, पुरूषोत्तम यादव र शिव यादवको उपस्थिति र रोहबरमा वार्ता हुने उनले बताए ।

खेलकुदमन्त्री बब्लु गुप्तासमेत आउन सक्ने सम्भावना रहेको उनले बताए । `तर मन्त्रीजी आउने निश्चित छैन, सुधन गुरूङ, पुरूषोत्तम यादव र शिव यादव आउने निश्चित छ । उहाँहरू जनकपुर हुनुहुन्छ । दिउँसो १ बजेसम्म आइपुग्नु हुन्छ ।´ 

बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले पनि वार्ताका लागि समन्वय भइरहेको बताए । उनले भने, 'वार्ताका लागि पहल र समन्वय भइरहेको छ । ठाउँ भने फिक्स भएको छैन । छलफल भइरहेको छ  ।'

नेता पर्खंदै जेन-जी समूह

सिमराका जेन-जीहरू नेताको पर्खाइमा छन् । बिहीबार साढे ४ बजेखि उनीहरू प्रदर्शन रोकेका छन् । शुक्रबार राजमार्ग अवरोध गरेर प्रदर्शन नगर्ने जेन-जी समूहको भनाइ छ । `वार्तामा के-के माग राख्ने भनेर हिजो बेलुकादेखि अहिलेसम्म आन्तरिक छलफल भइरहेको छ,' सापकोटाले भने, 'वार्तामा को-को बस्ने कति जनासम्म बस्ने भनेर प्रशासनबाट समन्वय भएर सहमितको अधारमा तय हुन्छ ।´ 

प्रजिख मिश्रले बिहीबार नै वार्ताका लागि जेन-जी समूहलाई वार्तामा बोलाएका थिए । तर जेन-जीले जाहेरी परेका आरोपित व्यक्ति पक्राउ नगरेसम्म वार्ता र संवाद नगर्ने अडानमा थिए ।

जेन-जीले ६ जनाउपर  किटानी जाहेरीअनुसार प्रहरीले बिहीबार बिहान २ जना निर्वाचित बहालवाला वडाध्यक्ष र राति १ जना गरी ३ जनालाई पक्राउ गरिसकेको छ । उनीहरूमाथि अनुसन्धान सुरु भएको प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए । पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय कलैयामा राखिएको छ । अरविन्द साहलाई बिहीबार राति हेटौंडाबाट पक्राउ परेका छन् ।

त्यस्तै एमालेबाट निर्वाचित वडाध्यक्षद्वय धनबहादुर श्रेष्ठ र कैमुद्दीन अन्सारीलाई इलाका प्रहरी कार्यालय सिमरा पुगेकै बेला प्रहरीले नियन्त्रणमा लिएको हो । जाहेरीअनुसार ३ जना पक्राउ पर्न बाँकी छ । तिनीहरूको पनि खोजी भइरहेको प्रहरीको भनाइ छ । 

बुधबार परवानीपुरमा  युवा जागरण अभियान सभामा सम्बोधन गर्न एमाले महासिचव शंकर पोखरेल र पोलिटब्युरो सदस्य महेश बस्नेतलाई लक्षित गरी सिमरामा जेन-जी समूहले विरोध प्रदर्शन गर्न थालेपछि युवा संघका कार्यकर्ताबीच भनाभन भई विवाद हुँदा झडप भएको थियो ।

झडपमा जेन-जीका ६ जना युवा घाइते भएका थिए । जेन-जीका जिल्ला संयोजक सम्राट उपाध्यायको अगुवाइमा एमाले नेताविरूद्ध विरोध प्रदर्शन भएको थियो । घाइतेहरूका तर्फबाट सम्राटले नै इलाका प्रहरी कार्यालयमा  एमाले ६ जना कार्यकर्तामाथि किटानी जाहेरी दिएका थिए । 

दुई दिनदेखि अशान्त रहेको सिमरा शुक्रबार भने शान्त छ । प्रदर्शन झडप, कर्फ्यु छैन । तर सिमरामा सुरक्षाकर्मी भने तैनाथ छ । पहिलो दिन बुधबारको झडपले तनाव थियो । सिमरा विमानस्थलमा तोडफोड र राजमार्गमा आगो बालेर  प्रदर्शनकारीले राजमार्ग अवरूद्ध गरेका थिए । बिहीबारदेखि भने विमानस्थल सञ्चालनमा आएको छ । 

लक्ष्मी साह साह कान्तिपुरका बारा संवाददाता हुन् ।

Link copied successfully