मन्त्री घिसिङ र गुप्ताले गरे अलपत्र कमला पुलको निरीक्षण

पुल निर्माणका लागि २०६८ जेठमै २४ करोड ९१ लाखमा पप्पु लुम्बिनी जेभीसँग ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौताबमोजिम २०७१ मंसिरमै पुल निर्माण भइसक्नुपर्ने थियो

मंसिर ५, २०८२

विनय आजाद

Minister Ghising and Gupta inspect abandoned Kamala Bridge

सिरहा — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले मधेशको लाइफलाइन मानिने हुलाकी राजमार्गअन्तर्गत कमला नदीमा वर्षौंदेखि निर्माणाधीन पुलको निरीक्षण गरेका छन् । 

घिसिङले सिरहाका बासिन्दासमेत रहेका युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तासहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक विजय जैशीलगायतलगायतलाई सँगै लगेर शुक्रबार कमला पुलको निरीक्षण गरेका हुन् ।

यो पुल निर्माणका लागि २०६८ जेठमै २४ करोड ९१ लाखमा पप्पु लुम्बिनी जेभीसँग ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौताबमोजिम २०७१ मंसिरमै पुल निर्माण भइसक्नुपर्ने थियो । तर, ठेकेदारको लापरबाहीले पटक-पटक म्याद थपिँदा पनि काम हुन सकेन ।

स्थानीयको आन्दोलनपछि १० वर्षमा निर्माणको अन्तिम चरणमा परेको यो पुल २०७८ असार १७ मा कमला नदीमा आएको बाढी थेक्न नसकी भासियो । त्यसयता ठेकेदारले पुनर्निर्माण गर्ने भने पनि कहिले पुल बन्ने भन्ने कुरा अन्योल छ ।

मन्त्री घिसिङले प्राविधिक कुरालाई सम्बोधन सरकारले गर्दै तीव्र गतिमा पुल निर्माणको काम अघि बढाउने प्रतिबद्धता गरे । उनले विगतमा पुल निर्माणमा भएको अनियमितताका विषयमा अख्तियारले छानबिन गरिरहेको भन्दै संलग्नलाई कारबाही गरिने बताए ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully