एमालेबाहेक अन्य समूहलाई आज खुला कार्यक्रमको अनुमति छैन : काठमाडौं प्रशासन

एमालेबाहेक अन्य कुनै पनि राजनीतिक दल, समूह र संस्थालाई सार्वजनिक आवागमन अवरुद्ध हुनेगरी गतिविधि गर्न प्रशासनले अनुमति नदिएको प्रजिअ ईश्वरराज पौडेलले बताए ।

मंसिर ५, २०८२

कान्तिपुर संवाददाता

Groups other than UML are not allowed to hold open events today: Kathmandu administration

काठमाडौँ — काठमाडौंमा एमालेबाहेक कुनै पनि समूहलाई शुक्रबार सार्वजनिक कार्यक्रम आयोजनाको अनुमति नदिएको स्थानीय प्रशासनले जनाएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलका अनुसार एमालेलाई सडकको एउटा किनाराबाट कार्यक्रमस्थल जान अनुमति दिइएको हो ।

यसबाहेक अन्य दल, समूह र संस्थाका कसैलाई पनि सार्वजनिक आवागमन अवरुद्ध हुने गरी प्रशासनले कार्यक्रम आयोजनाको अनुमति नदिएको प्रजिअ पौडेलले बताए । 

शुक्रबार बिहान काठमाडौं, भक्तपुर र ललितपुरका प्रजिअ र जिल्ला सुरक्षा प्रमुखको संयुक्त बैठक बसेको थियो । बैठकले उपत्यकाको शान्ति सुरक्षा व्यवस्थापन र समसामयिक घटनाक्रमको समीक्षा गरेको र त्यहीअनुसार सुरक्षाकर्मी परिचालन गरेको उनले बताए ।

एमालेले पूर्वनिर्धारित कार्यक्रमअन्तर्गत बबरमहलस्थित कार्की ब्यांक्वेटमा इन्डोर कार्यक्रम गर्न प्रशासनसँग अनुमति मागेको थियो । सोहीअनुसार वरपरका विभिन्न स्थानबाट एमाले कार्यकर्ताहरू भेला हुन थालेपछि शुक्रबार नै जेन-जी समूहका घाइते भन्दै एउटा समूह माइतीघर मण्डलमा धर्नामा बसेको छ । एमालेले तीनकुनेबाट निकालेको र्‍याली माइतीघरतर्फ निस्किसकेको छ ।

एमालेले बबरमहल हुँदै माइतीघर पुगेर कार्की ब्यांक्वेटमा नेसनल भोलेन्टियर फोर्सको औपचारिक रूपमा घोषणा हुँदैछ । अध्यक्ष केपी शर्मा ओलीले फोर्सको घोषणा गर्ने कार्यक्रम छ । एमालेले नेताहरूप्रति सुरक्षा खतरा बढेको भन्दै फोर्स घोषणा गर्न लागेको उपमहासचिव प्रदीप ज्ञवालीको भनाइ छ ।

कान्तिपुर

Link copied successfully