भदौ २४ को प्रदर्शनका क्रममा काठमाडौं ट्राफिक प्रहरी कार्यालयका झण्डै ६ सय सवारी जले 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीका अनुसार जलेकामध्ये ट्राफिक कार्यालयका ६० वटा दुईपांग्रे र चारपांग्रे २६ गरेर ८६ वटा थिए ।

मंसिर ४, २०८२

विवेक पोख्रेल

Nearly 600 vehicles belonging to the Kathmandu Traffic Police Office were burned during the Bhadra 10 protest.

काठमाडौँ — गत भदौ २४ को जेन-जी आन्दोलन र २४ गतेको प्रदर्शनको क्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयभित्र रहेका झण्डै ६ सय सवारी साधनहरु जलेका छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीका अनुसार जलेकामध्ये ट्राफिक कार्यालयका ६० वटा दुईपांग्रे र चारपांग्रे २६ गरेर ८६ वटा थिए । उनका अनुसार ट्राफिक प्रहरी कर्मचारीको दुईपांग्रे सवारी साधन ९३ वटा र चारपांग्रे सवारी साधन २ वटा समेत जलेका थिए । सबैभन्दा धेरै सवारी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गी खानाको जलेको छ । 

यसबाहेक काठमाडौं महानगरपालिकाको कारबाहीमा परेर राखिएको ३५ सहित काठमाडौं उपत्यका ट्राफिक प्रहरीको कारबाहीमा परेको १६ वटा चारपांग्रे ३ सय ५६ वटा सवारी पूर्ण रुपमा जलेका छन् । ५२ वटा हराएको ट्राफिक प्रहरीको तथ्यांकमा छ । ७ वटा सवारी साधनमा भने आंशिक क्षति पुगेको एसपी सुवेदीले जानकारी दिए । 

अहिले जलेका सवारी साधनहरुको बीमा भएको हकमा सोका लागि सिफारिस बनाउन कार्यालयले सहजीकरण गरे पनि प्रहरीको कारबाही परेका सवारीलाई क्षतिको भरपाईको विषयमा कुनै पनि निर्णय नभएको उनले बताए । 

काठमाडौं उपत्यकामा आन्दोलनको क्रममा ६३ ट्राफिक बत्ती र ५३ वटा ट्राफिक आइल्यान्डमा समेत क्षति पुगेको थियो । प्रदर्शनको क्रममा उपत्यकाका प्राय: कार्यालहरुमा प्रदर्शनकारीले सेवाग्राहीका लाइन्सेन्स, ब्लुबुकसहित महत्त्वपूर्ण कागजात नष्ट हुने गरी कार्यालयमा तोडफोड र आगजनी गरेका थिए ।

विवेक पोख्रेल विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully