दाहालले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत स्थितिलाई थप हिंसात्मक तथा नियन्त्रणबाहिर जान नदिन सबै पक्षलाई उच्च संयमता अपनाउन अनुरोध गरेका हुन् ।
काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले बाराको सिमरामा जारी तनाव थप हिंसात्मक तथा नियन्त्रणबाहिर जान नदिन आग्रह गरेका छन् ।
दाहालले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत स्थितिलाई थप हिंसात्मक तथा नियन्त्रणबाहिर जान नदिन सबै पक्षलाई उच्च संयमता अपनाउन अनुरोध गरेका हुन् ।
'बाराको सिमरामा हिजोदेखि जारी तनाव र हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको छ,' उनले भने, 'स्थितिलाई थप हिंसात्मक तथा नियन्त्रणबाहिर जान नदिन सबै पक्षलाई उच्च संयमता अपनाउन हार्दिक अनुरोध गर्दछु ।'
पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले राजनीतिक तथा वाक स्वतन्त्रताको सम्मान गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् । 'लोकतन्त्रमा राजनीतिक तथा वैचारिक मतभिन्नता स्वाभाविक हुन्छ तर त्यसलाई हिंसा वा उत्तेजनामा रुपान्तरण गर्नु लोकतान्त्रिक संस्कृति होइन,' उनले भने, 'त्यसैले राजनीतिक तथा वाक–स्वतन्त्रताको सम्मान गर्दै राजनीतिक दल र दलका नेताहरूलाई निर्वाधरूपमा हिँड्डुल गर्ने, सभा-सम्मेलन गर्ने वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउँदछु ।'
उनले घोषित निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन कुनै पनि घटनाले नकारात्मक प्रभाव नपारोस् भन्ने विषयमा समेत सचेत र जिम्मेवार बन्न सबै पक्षसँग आग्रह गरेका छन् । उनले स्थानीय पार्टी समितिहरूलाई परिस्थितिलाई सामान्य बनाउन आवश्यक सहजीकरणको भूमिका निर्वाह गर्न निर्देशनसमेत दिएका छन् ।
