सदरमुकामछेउकै गाउँका सुत्केरी १० दिनसम्म छाउगोठमा

उनले सुत्केरी भएको १० दिनसम्म गोठमा आफैं खाना पकाउनुपर्छ । उनलाई श्रीमान् र परिवारका सदस्यले नछोईकनै पकाउनका लागि सामान दिन्छन् । घरमा कोही नभएका बेला केही चाहिए कुरेरै बस्नुको विकल्प छैन । महिनावारी भएको बेलाभन्दा सुत्केरीलाई कठोर व्यवहार गरिन्छ। सुत्केरीले नै खाना पकाउनुपर्ने, लुगा धुनुपर्ने बाध्यता रहेको छ।

मंसिर ३, २०८२

मेनुका ढुंगाना

Women in villages near the district headquarters stay in a hut for 10 days

What you should know

अछाम — घरअगाडि साँघुरो छाउगोठको एउटा कुनामा लुगा राखेकी छन्, अर्कातिर चुलो छ । झ्याल नभएको गोठमा धूवाँ डम्म भइहाल्ने हुनाले उनी प्रायः कम आगो बाल्छिन् । छेउमा पराल बिछ्याएर त्यसमाथि केही लुगा राखेर शिशु र आफ्ना लागि सुत्ने जोहो गरेकी छन् । मंगलसेन नगरपालिका—११ खिमाडाकी २४ वर्षीया सविता भण्डारीले नवजात शिशुसहित चिसो सिरेटो चल्ने ५ रात यसमै बिताइसकेकी छन्, अझै ५ दिन यसरी नै बस्नुपर्नेछ । 

सविता दोस्रो पटककी सुत्केरी हुन् । उनले सुत्केरी भएको १० दिनसम्म गोठमा आफैं खाना पकाउनुपर्छ । उनलाई श्रीमान् र परिवारका सदस्यले नछोईकनै पकाउनका लागि सामान दिन्छन् । घरमा कोही नभएका बेला केही चाहिए कुरेरै बस्नुको विकल्प छैन । ‘ओढ्ने, ओछ्याउने सबै आफैं धुनुपर्छ । चिसो पनि धेरै छ । जसोतसो चलाउनै पर्‍यो,’ सविता भन्छिन्, ‘मेरा दुइटै बच्चा नर्मल डेलिभरीबाट भएका हुन् । अपरेसन गर्नुपरेको भए के हालत हुन्थ्यो !’

मंसिरको चिसोमा गोठको बसाइ सहज नभए पनि समाजका अगाडि विकल्प पनि नभएको सविता बताउँछिन् । ‘आगो बालिराख्दा बच्चालाई अप्ठ्यारो हुने डर हुन्छ । खाना पकाउन त बाल्नै पर्‍यो । छोरीलाई चिसोबाट जोगाउन रातभर ब्युँझै बस्छु,’ उनले भनिन् ।

सुत्केरी भएको १० दिनसम्म आमा र बच्चा दुवैलाई अरूले छुँदैनन् । सुत्केरीलाई आँगनमा पनि जान दिइँदैन । ‘यो गाउँकै नियम हो,’ सविता भन्छिन् । उनले पहिलो बच्चा जन्माउँदा पनि यसरी नै छाउगोठमा १० दिन बिताएकी थिइन् । दोस्रो बच्चा जन्माउँदा पनि परम्पराका नाममा उनलाई फेरि गोठमै पुर्‍याइएको हो । 

सविताका अनुसार महिनावारी भएको बेलाभन्दा सुत्केरी अवस्थामा कठोर व्यवहार गरिन्छ । ‘यो पीडा भोग्ने म पहिलो होइन, न अन्तिम । यस गाउँका सबै महिलाको साझा समस्या हो यो,’ उनी भन्छिन् ।

स्वास्थ्यकर्मीका अनुसार प्रसूति भएका महिलाको हेरचाह विशेष रूपमा गर्नुपर्छ । सुत्केरीलाई सबैभन्दा पहिले तातो, सफा र सुरक्षित कोठा चाहिन्छ । प्रसूतिपछि शरीर कमजोर हुने भएकाले पोषिलो खाना, दाल, गेडागुडी, दूध, अन्डा, मासु, हरियो सागसब्जी र पर्याप्त पानी अनिवार्य हुन्छ ।

बच्चालाई सफा र न्यानो ठाउँ चाहिन्छ, धूवाँबाट टाढा राख्नुपर्छ । सुरक्षित ठाउँ, पोषण, सफाइ, स्वास्थ्य जाँच र परिवारको सहयोग चाहिने सुत्केरी भएका बेला अछामका महिला भने गोठको सकसपूर्ण बसाइ भोग्न बाध्य छन् । सविता आफूले सक्दा गोठभित्रै खाना पकाउँछिन् । नसकेको दिन अरूलाई खाना पकाइदिन आग्रह गर्छिन् ।

‘शरीर अत्यन्तै कमजोर भएको, रक्तस्राव हुँदै गरेका बेला पनि पानी ल्याइदिने, बच्चा सम्हालिदिने, औषधि दिनेसम्म कोही हुँदैनन्,’ उनी भन्छिन्, ‘मेरो माइती गाउँमा भने यस्तो हुँदैन । यहाँ यसरी छाउगोठमा आफैं पकाउने, खाने गरेको देखे माइतीलाई नराम्रो लाग्ला भन्ने सोचेर १० दिनपछि मात्र आउनु भनेकी छु ।’ 

सुत्केरीलाई छाउगोठमा नराख्ने, महिनावारी भएका बेला गोठमा नबस्ने परिवारलाई समाजमा एक्लो बनाउने गरिएको मंगलसेन–११ खिमाडाकी २७ वर्षीया सीता भण्डारीले बताइन् । जिल्लामा छाउगोठ भत्काउने अभियान चलेका बेला आफू र भाउजू महिनावारी हुँदा घरमा बस्दा समाजमा परिवारले नै बहिष्कार खेप्नुपरेको उनले सुनाइन् । ‘महिनावारी भएका छोरीबुहारीलाई छाउगोठमा नराखी घरमा राख्नेलाई समाजले नै गलत भन्छ । चलन बिर्सियो, परम्परा बिगार्यो, देउता रिसाउँछन् भनेर बदनाम गर्छन्,’ सीताले भनिन्, ‘छाउगोठ छाडेर घरमा बस्न थालेपछि परिवारलाई चाडपर्व, बिहे, भतेरमा बोलाइएन । कोही त घरको बाटो हिँड्न र बोल्न नै छाडे ।’ 

कुप्र्रथाविरुद्ध लड्दा समाजले नै बदनाम गर्न थालेपछि फेरि छाउगोठमा बस्न थालेको उनले सुनाइन् । ‘पञ्चायतजस्तै गाउँका केही मानिस बसेर मेरो परिवारलाई अलग बनाउने निर्णय गरे । समाजबाट अलग बस्न सकिँदैन भनेर हामी पनि फेरि छाउगोठमा बस्न थाल्यौं,’ उनले भनिन्, ‘कानुनले छाउगोठमा बस्नु अपराध माने पनि समाजमा भइरहेको बहिष्कारलाई हटाउने हिम्मत कसले गर्छ ? कुप्र्रथाविरुद्ध लड्दा उल्टो समाजले बदनाम गर्‍यो ।’

पुरानो पुस्ताका महिलाले छाउपडी प्रथालाई चलनकै रूपमा मान्ने अडान र पढेलेखेका महिलाले विद्रोह गर्न नसक्दा अवस्था जटिल बन्दै गएको खिमाडा आमा समूहकी अध्यक्ष सरिता भण्डारी बताउँछिन् । ‘परिवर्तन गर्ने जिम्मा पाएका मानिसकै घरमा छाउगोठ छन् । नेता, शिक्षक, जनप्रतिनिधि, सरकारी कर्मचारी सबैका घरमा गोठ छन् । अगुवाले नै यस्तो चलन छोड्दैनन् भने आममहिलाको आवाज कसरी माथि पुग्छ ?’ 

आमा समूहले छाउपडी प्रथाविरुद्ध धेरै पटक अभियान सञ्चालन गर्दा पनि प्रभावकारी नभएको उनले बताइन् । ‘सुत्केरीलाई गोठमा नराख्नुस्, महिनावारी हुँदा घरमै बस्न दिनुस् भनेर धेरै पटक आग्रह गर्‍यौं । तर जसले चलन तोड्छ, उसैलाई समाजबाट बहिष्कार गरिन्छ ।’ सवितालाई सुत्केरी गराएकी जुपु स्वास्थ्य चौकीकी वरिष्ठ अनमि रत्ना सोडारीले उनकी जेठानी झरना भण्डारीलाई घरमै राख्न सम्झाइबुझाइ गरेर पठाएको जानकारी दिइन् । ‘छाउगोठको समस्या जुपुभरि नै छ । अझै खिमाडामा सुत्केरी हुँदा पनि गोठमै राख्छन् भन्ने थाहा पाएपछि जेठानीलाई सम्झाइबुझाइ गरेकी थिएँ,’ उनले भनिन्, ‘जति भन्दा पनि कोही मान्दैनन् । आमा र बच्चाको स्वास्थ्यको दृष्टिकोणले सुत्केरी हुँदा छाउगोठमा राख्नु खतरापूर्ण हुन्छ ।’

स्वास्थ्य स्वयंसेविकासमेत रहेकी सविताकी जेठानी झरनाले आफू पनि ५ महिनाअघि सुत्केरी हुँदा त्यही गोठमा बस्नुपरेको सुनाइन् । ‘हाम्रो गाउँको चलन नै यही छ । म एक्लैले गोठमा राख्नु हुँदैन भन्दा कसैले सुन्दैन । मेरा चार छोराछोरी सबै जन्मिँदा गोठमै बसेकी हुँ,’ उनले भनिन्, ‘छाउपडी, सुत्केरी घरमा राखेको देउताले सहँदैनन् भन्छन् । हामीभन्दा अगाडि सासूससुरा छन् । उहाँहरूको कुरा मान्नै पर्छ । बुहारीले ठूलो स्वरले पनि बोल्न पाइँदैन ।’

मंगलसेन–११ का वडाध्यक्ष नरबहादुर भण्डारीले भने आफ्नो वडामा छाउगोठ नै नभएको दाबी गरे । ‘मेरो वडामा छाउगोठ छैन । कहीँकतै १/२ गोठ होलान् । ती पनि बिस्तारै हटाउँछौं,’ उनले भने, ‘सुत्केरी भएको घरमा भने देउताको कारण बस्न दिइएको छैन भन्ने सुनेको छु । पहिले जस्तो खासै समस्या अहिले छैन ।’ पहिले पनि छाउगोठविरुद्धको अभियान चलाएको र समस्या देखिए फेरि पनि वडास्तरमा अभियान चलाउन तयार रहेको उनले बताए ।

मेनुका ढुंगाना कान्तिपुरकी अछाम संवाददाता हुन् । उनी महिला र बालबालिकामाथि हुने हिंसा, छाउप्रथा लगायतका सुदूरपश्चिममा हुने समसामयिक विषयमा समाचार र टिप्पणी लेख्ने गर्छिन् । उनी एक दशकदेखि सञ्चारकर्ममा सक्रिय छिन् ।

Link copied successfully