राजनीतिक विचार सिद्धान्तमा लामो बहस नगरी धेरै दलबीच एकता गरी आगामी निर्वाचन जित्ने रणनीति
What you should know
काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टीबीच एकता वार्ता सकारात्मक भएको छ । बुधबार नेकपा र जसपाबीच दोस्रो चरणको वार्तामा उनीहरु सकारात्मक भएको नेताहरुले बताएका छन् ।
‘नेपाली विशेषताका समाजवाद’को बाटोमा अघि बढ्न दुबै पार्टी सहमत भएका छन् । नेताहरुको व्यवस्थापन, संगठनहरुको एकता विधिसहित उनीहरु सहमतिपत्र तयार गर्ने निर्णय बुधबारको बैठकले गरेको छ ।
पूर्वएमाले नेताद्वय संघीय अध्यक्ष राजेन्द्र श्रेष्ठ र कार्यकारी अध्यक्ष अशोक राईले नेतृत्व गरेको जसपाले नेकपासँग एकता गर्ने निर्णय गरिसकेको छ । वार्तामा सहभागी नेकपा सचिवालय सदस्य वर्षमान पुनले दुई दल एकताका लागि सहमति नजिक पुगेको बताए । ‘दुई दल एकताका लागि सहमति नजिक पुगेका छौं,’ उनले भने, ‘छिट्टै सहमतिमा पुग्छौं ।’
जसपा संघीय अध्यक्ष श्रेष्ठले केन्द्रीय कार्यसमिति बैठकले नेकपासँग एकता गर्ने निर्णय गरेअनुसार अघि बढेको बताए । ‘नेकपासँग एकता सकारात्मक छ,’ उनले भने, ‘अब अर्को चरणको वार्तामा नेताहरुको जिम्मेवारी, सांगठनिक संरचनाको विषयमा टुंगोमा पुग्ने कोसिस हुनेछ ।’
जसपाका उपाध्यक्ष प्रदीप यादव पक्षचाहिँ नेकपासँग एकता गर्नेबारे पूर्ण सहमत नभएको एक नेताले बताए । तर श्रेष्ठले भने नेकपासँग एकता गर्नेबारे मतभेद नभएको दाबी गरे । ‘केन्द्रीय समितिको निर्णयअनुसार नेकपासँग वार्ता भएको हो । यसमा मतभेद छैन,’ उनले भने ।
माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र अरु साना घटक मिलेर कात्तिक १८ मा नेपाली कम्युनिस्ट पार्टी गठन भएको थियो । नेकपा संयोजक पुष्पकमल दाहाल अन्य वाम र समाजवादी धारका दलहरुसँग एकता गरी आगामी निर्वाचनमा लड्ने नीति लिएका छन् । त्यहीअनुसार राजनीतिक विचार सिद्धान्तमा लामो बहस नगरी धेरै दलबीच एकता गरी आगामी निर्वाचन जित्ने रणनीतिअनुसार पछिल्लो पटक जसपासँग एकताको प्रयास भइरहेको छ ।
२०८१ वैशाख तेस्रो साता उपेन्द्र यादवले नेतृत्व गरेको जनता समाजवादी विभाजन भई अर्को जसपा गठन भएको थियो । त्यसबेला माओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार गठन भएको थियो । सरकारको योजनामा आफ्नो पार्टी विभाजन गरिएको अध्यक्ष यादवले आरोप लगाएका थिए । त्यसपछि माओवादी, नेकपा एकीकृत समाजवादी, जसपा रहेको समाजवादी मोर्चाबाट यादव (जसपा) बाहिरिएका थिए ।
माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको बुधबारको वार्तामा नेकपा सचिवालय सदस्य देव गुरुङ, शक्ति बस्नेत, गिरिराजमणि पोखरेल, बेदुराम भुसाल र जसपाबाट राजेन्द्र श्रेष्ठ, परशुराम बस्नेतलगायत नेता सहभागी थिए ।
