२३ भदौको आन्दोलनमा मृत्युलाई सम्मुख देखेका यादव सिंह आफूले साथ दिएको आन्दोलनबाट बनेको सरकारले आफ्ना मागमा लिखित समझदारी नगरेसम्म अनशन नरोकिने बताउँछन् ।
What you should know
काठमाडौँ — जेन–जी आन्दोलनको बलमा बनेको सरकारले मुलुकको बागडोर सम्हालिरहेको छ । यही आन्दोलनका सक्रिय सहभागीमध्येका २७ वर्षीय यादव सिंह भने जेन–जीकै माग पूरा नहुँदा ९ दिनदेखि माइतीघर मण्डलको चिसो भुइँमा आमरण अनशनमा छन् ।
२३ भदौको आन्दोलनमा मृत्युलाई सम्मुख देखेका सिंह आफूले साथ दिएको आन्दोलनबाट बनेको सरकारले आफ्ना मागमा लिखित समझदारी नगरेसम्म अनशन नरोकिने बताउँछन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई तुरुन्त पक्राउ गरी प्रचलित फौजदारी कानुनबमोजिम सामूहिक हत्याको मुद्दामा कारबाही गर्नुपर्ने, जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेको माग तत्काल सम्बोधन गर्नुपर्ने, जेन–जी आन्दोलनलाई कुशासन र भ्रष्टाचारविरुद्धको जनआन्दोलन घोषणा गर्नुपर्ने उनका माग हुन् ।
राजनीतिक पद र प्रशासनिक ओहदामा बसी अकुत सम्पत्ति आर्जन गर्नेहरूलाई भ्रष्टाचारजन्य कसुरको दायरामा ल्याउन उच्चस्तरीय सम्पत्ति छानबिन न्यायिक आयोग गठन गर्नेलगायत माग पनि उनले राखेका छन् । तर अनशनस्थलमा मन्त्रीहरू पुगेर ‘गर्छौं र गरिरहेका छौं’ भन्नेबाहेक उनले कुनै आश्वासन पाएका छैनन् । ‘अनशनको चौथो दिनमा स्वास्थ्यमन्त्री सुधा शर्मा आउनुभएको थियो,’ माइतीघरमा निरन्तरको अनशनले बिरामी परेका सिंहले भने, ‘तर उहाँले मैले राखेका माग आफ्नो मन्त्रालय मातहतका नभएको बताउनुभयो ।’
पाँचौं दिनमा गृहमन्त्री ओमप्रकाश अर्याल आएको उनले बताए । उनले पनि आफ्ना मागका विषयमा लिखित सम्झौता नगरेको सिंहको भनाइ छ । त्यसै दिन गृहमन्त्री अर्यालले साँझ प्रधानमन्त्री भेट्न प्रतिनिधि पठाइदिन भनेको र आफूले प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न ७ जना साथीहरू पनि पठाएको सिंहले जनाए । ‘प्रधानमन्त्री कार्कीले पनि माग सम्बोधनको साटो देशको अवस्था व्याख्या गर्दै आफूहरू चुनावकेन्द्रित भएको बताउनु भएछ । उहाँले पनि हाम्रा माग प्राथमिकतामा राखेको बताए पनि लिखित सम्झौता भने गर्नु भएन,’ सिंहले भने ।
अनशनरत सिंह आफू एक्लै र रहरले माइतीघरको चिसो नखाएको बताउँछन् । मृतक परिवार र घाइतेहरूसँग छलफल गरेर आफू आमरण अनशन बस्न आएको उनको भनाइ छ । तसर्थ आफूहरूका माग पूरा नभएसम्म सडकबाट नउठ्ने उनको दाबी छ ।
पुनर्वास नगरपालिका–१०, कञ्चनपुरका सिंहले गाउँमै स्कुले शिक्षा सकेर कैलालीमा कलेज पढेका हुन् । ६ वर्षअघि काठमाडौं आएका उनी अहिले काठमाडौंको राष्ट्रिय बिमा कम्पनीमा ज्याला मजदुरीमा जागिर गरिरहेको जनाउँछन् । लोक सेवा तयारी गर्दै काम गरिरहेको उनले बताए । काठमाडौंमा बसिरहेका उनको गाउँमा भाइ र आमा मात्र छन् । आफू तीन वर्षको हुँदा बुबाको मृत्यु भएको र घरमा सामान्य पसल रहेको उनको भनाइ छ ।
सिंह सामाजिक सञ्जालमा ‘नेपोबेबी’ ट्रेन्ड चलाउनेमध्ये एक हुन् । २२ भदौमा उनी र जेन–जी युवा माइतीघर आएर छलफल गरिरहेका थिए । २३ भदौको बिहानै ८ बजे आन्दोलनमा सहभागी हुन आएका उनले शान्तिपूर्ण आन्दोलन गरिरहेको बताए । तर मध्य दिनमा प्रहरीले संयमित रूपमा भीड नियन्त्रण गर्नुको साटो उत्तेजित बनाउने काम गरेको उनको दाबी छ । आफूसँगै आएका गाउँका भाइ पारस सुनारलाई गोली लागेपछि के गर्ने, कसो गर्ने अवस्थामा पुगेको उनी सुनाउँछन् ।
‘मेरो हातमा राष्ट्रिय झन्डा भएकाले प्रहरीले त्यस दिन गोली हानेन । झन्डाकै कारण म बँचे जस्तो लाग्छ,’ सिंहले भने, ‘मेरो फोटो मिडियामा छापिएपछि भने सबैको सिकार म भएँ ।’ उक्त तस्बिरलाई जेन–जीहरूले भ्रष्टाचारविरुद्धको विद्रोहका रूपमा सामाजिक सञ्जालमा भाइरल बनाएको उनको भनाइ छ ।
आफूले पहिला माओवादीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा रहेर काम गरेको जनाए । ‘तर मेरो तस्बिर भाइरल बनेपछि माओवादीका पुष्पकमल दाहाल र मलाई जोडेर आन्दोलनबाटै हटाउन खोजियो,’ उनले भने, ‘माओवादीको मान्छे भनेर गालीसँगै ज्यान मार्ने धम्कीसमेत आयो ।’ तर धेरै वर्षअघि नै आफूले माओवादी छाडेको उनको दाबी छ । धम्कीकै कारण त्यसपछि प्रदर्शनमा नगएको उनी बताउँछन् ।
‘२६ भदौमा गाउँ गएँ । आफ्नोतर्फबाट उतै अभियान चलाउँदै थिएँ । देशमा आफ्नै सरकार छ भन्ने लागेको थियो । तर पछि घाइते र मृतकका आफन्तका फोनले मलाई थप जागरुक बनायो,’ उनले भने, ‘सरकारले केही गरेन भनेपछि म लुकेर पनि भएन भनेर आफ्नो पुस्ताका लागि आएको हुँ । घाइते साथीभाइले बोलाएर नै म काठमाडौं आएको हुँ ।’ अनशन बसेको जानकारी उनले आमालाई पनि दिएका छन् । ‘मैले आमालाई भनेको छु । हामी दुई छोरा छौं । म मरेर पनि बाँचेको हुँ आमा । देश र साथीभाइ रोएका छन् । म उनीहरूका लागि लड्छु भनेको छु,’ उनले भने ।
रातभर खुला आकाशमा सुत्दा उनलाई भुइँको चिसो र पर्ने शीतले नराम्ररी ठिहिर्याउँछ । अनि दिउँसो धूलो र घामले । पानी पनि नपिउँदा उनको शरीरमा विभिन्न समस्या देखा पर्न थालेका छन् । कोखा पोल्ने, पसिना आउने र सास फेर्न गाह्रो हुने समस्या बढ्न थालेको उनको भनाइ छ । हात काँप्ने समस्या बढेपछि उनलाई साथीहरूले मंगलबार अस्पताल लगेका थिए । तर उनले हारेका छैनन् । स्लाइनपानी चढाएरै भए पनि अनशनमा छन् । तीन दिनदेखि दिसा नलागेको उनको भनाइ छ । अहिले त पिसाब आउँदा वा उठ्न–बस्न पर्दा पनि साथीहरूको सहयोग चाहिने अवस्था बनेको उनले जनाए ।
‘मलाई नेता बन्नु छैन । जो निःस्वार्थ भएर देशका लागि लडे, उनीहरूको न्यायका लागि मैले साथ दिँदै छु । उनीहरूलाई अन्याय हुन दिन्नँ,’ सिंहले भने, ‘हिजो पनि मर्छु भनेर गोली थापेको हुँ । आज पनि न्यायका लागि मर्न तयार छु ।’
उनलाई जेन–जीले मानेको सरकार भएकाले आफ्ना माग पूरा गर्न लामो समय अनशन बस्नु पर्दैन भन्ने लागेको थियो । ‘तर मलाई यो जेन–जीको सरकार हो भन्न पनि घृणा लागेको छ,’ उनले प्रश्न गरे, ‘जेन–जीकै माग पूरा गर्न नसक्ने यो कस्तो सरकार हो ? कसको सरकार हो ?’
