२०७८ सालदेखि विचाराधीन रहेको कर्तव्य ज्यानसम्बन्धी मुद्दा न्यायाधीशद्वय सुनिलकुमार पोखरेल र नृपध्वज निरौलाको इजलासमा पेशी तोकिएको छ।
What you should know
काठमाडौँ — गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या गरेको अभियोग सर्वोच्च अदालतमा पेशी तोकिएको छ । २०७८ सालदेखि विचाराधीन रहेको कर्तव्य ज्यानसम्बन्धी मुद्दा न्यायाधीशद्वय सुनिलकुमार पोखरेल र नृपध्वज निरौलाको इजलासमा पेशी तोकिएको छ। यो विवाद चार वर्षदेखि सर्वोच्चमा अल्झिरहेको छ ।
२०७८ साल साउन २७ गते सर्वोच्च आइपुगेको यो मुद्दा लामो सम देखि सुनुवाइ हुन सकेको छैन । २०७७ चैत २९ गते उच्च अदालत पाटनको हेटौंडा इजलासले अधिकारी हत्या गरेको अभियोग लागेका सबैलाई सफाइ दिने जिल्ला अदालत चितवनको फैसला सदर गरेपछि यो विवाद सर्वोच्च आइपुगेको थियो ।
२०८१ वैशाख १२ गते पहिलो सुनुवाइ हुँदै सरकारसहित सबै प्रतिवादीहरूलाई पेशीको सूचना दिने आदेश गरेको थियो । न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठले यस्तो आदेश गरेको थियो । त्यसपछिका सबै पेशीहरू स्थगित हुँदै सुनुवाइ सर्दै आएको छ।
गोरखाका कृष्णप्रसादको हत्या २०६१ सालमा चितवनमा भएको थियो। तत्कालीन समयमा द्वन्द्वरत पक्ष नेकपा माओवादीका कार्यकर्ताले अपहरणपछि उनको हत्या गरेको आरोपमा एकपछि अर्को अदालतमा मुद्दा चलिरहेको छ। अधिकारीका बुबा नन्दप्रसाद अधिकारीले केही व्यक्तिविरुद्ध किटानी जाहेरी दिएसँगै जिल्ला अदालतमा कर्तव्य ज्यानको मुद्दा सुरु भएको थियो ।
आफ्ना छोरा कृष्णप्रसादको हत्यामा गोरखा फुजेल बस्ने सीता अधिकारी, छविलाल पौडेलसहित १२ जना संलग्न रहेको भन्दै गंगामाया र नन्दप्रसाद अधिकारीले जाहेरी दिएका थिए।
सोही जाहेरीका आधारमा प्रहरीले लगाएको मुद्दामा जिल्ला अदालत चितवनले २०७५ सालमा सबै प्रतिवादीलाई सफाइ दिएको थियो। उच्च अदालत पाटनको हेटौँडा इजलासका न्यायाधीश चण्डीराज ढकाल र मेरिना श्रेष्ठको इजलासले चितवन जिल्ला अदालतकै फैसला सदर गरेको थियो ।
चितवन जिल्ला अदालतले प्रतिवादीहरूले अधिकारी हत्या गरेको भन्ने प्रमाण नपुगेको भन्दै सफाइ दिने फैसला गरेको थियो। त्यसविरुद्ध सरकार उच्च हुँदै सर्वोच्चसम्म आएको हो ।
नन्दप्रसादको अनसन बसेकै अवस्थामा मृत्यु भएको थियो भने गंगामाया अहिले पनि सरकारी संरक्षणमै छन् । घटनाका प्रतिवादी गोरखा फुजेल बस्ने सीता अधिकारी, छविलाल पौडेल, रामप्रसाद अधिकारी, अजीव भनिने परशुराम पौडेल, हिमलाल अधिकारी, मेघनाथ पौडेल, विष्णु तिवारी, कालीप्रसाद अधिकारी, भीमसेन भनिने भीष्मराज पौडेल, रामप्रसाद अधिकारी, जानुका पौडेल र सुभद्रा तिवारीले सफाइ पाएका थिए ।
कृष्णप्रसादको २०६१ जेठ २४ मा अपहरणपछि हत्या भएको थियो । प्रवेशिका परीक्षा दिएर पूर्वी चितवनको जयमङ्लामा मामाघरका हजुरबुबा भेट्न आएका समयमा अपहरणपछि रत्ननगरको बकुलहरमा उनको हत्या भएको थियो। आफ्नो छोराको हत्यापछि जाहेरी दिन गंगामाया र नन्दप्रसादले लामो समय अनसन लगायतका सङ्घर्ष गरेका थिए।
२०७० चैत ३० गते चितवन जिल्ला अदालतमा १३ जनाविरुद्ध मुद्दा दायर भएको थियो। एक जना फरार रहेकाले उनको नामको मुद्दा मुल्तबीमा राखिएको थियो। गङ्गामायाले छोराका अपराधीलाई कारबाही नहुन्जेल आफ्ना पतिको दाहसंस्कार नगर्ने भनेपछि नन्दप्रसादको शव अहिले पनि शिक्षण अस्पताल महाराजगन्जमा छ।
