म्यानमारमा अलपत्र परेका ३७ नेपाली स्वदेश फर्किए

थाइल्यान्ड हुँदै स्वदेश फर्कनुपर्ने व्यवस्था मिलाएपछि नेपाली दूतावास बैंककले सम्बन्धित निकायसम्म समन्वय र सहयोग गरी उनीहरूलाई नेपाल एयरलायन्न्समार्फत नेपाल पठाइएको दूतावासले जनाएको छ ।

मंसिर ३, २०८२

कान्तिपुर संवाददाता

37 Nepalis stranded in Myanmar return home

काठमाडौँ — आकर्षक रोजगारीको लोभमा म्यानमार पुर्‍याइएका ३७ जना नेपालीको उद्धार गरिएको छ । बैंककस्थित नेपाली राजदूतावासका अनुसार  उनीहरूलाई म्यानमारमा अनलाइन स्क्यामिङ केन्द्रहरूमा विभिन्न अनलाइन डेटिङ, अनलाइन क्यासिनो, गेमिङ तथा फिसिङ, क्रिप्टो ठगीलगायतका काममा लगाइएको थियो ।

 त्यस्तै अक्टोबर १९ मा म्यानमारका सुरक्षाकर्मीले छापा मार्दा भागेर थाइल्यान्ड प्रवेश गरेकालाई पनि फिर्ता पठाइएको राजदूतावासले जनाएको छ । सबैलाई बुधबार नेपाल एयरलाइन्सको  उडान नं. आरए ४०२ मार्फत नेपाल फर्काइएको राजदूतावासले जनाएको छ । 

त्यस्तै म्यानमारको म्यावडीमा रहेका थप २३ जना, थाइल्यान्डको मेसोटमा रहेका २ जना तथा कम्बोडियामा रहेका ४ जना नेपालीहरूलाई स्वदेश फर्काउन पनि पहल भइरहेको दूतावासको भनाइ छ । 

बैंककस्थित नेपाली राजदूतावासले नेपाल सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान सबैलाई आग्रह गरेको छ ।

त्यस्तै कसैको प्रलोभनमा परी छिटो र धेरै पैसा कमाउने लोभले कम्बोडिया, लाओस, म्यानमार,  थाइल्यान्डलगायतका मुलुकहरूमा भ्रमणको बहाना गरी वैदेशिक रोजगारीमा नआउन पनि राजदूतावासको आग्रह छ । 

कान्तिपुर

Link copied successfully