हिमपात र शीतलहरबाट बच्न गृह मन्त्रालयले थाल्यो पूर्वतयारी

हिमाली तथा उच्च पहाडी क्षेत्रका २९ जिल्लालाई सम्भावित हिमपातको बढी जोखिम रहेको औँल्याउँदै ती जिल्लाहरूमा विशेष सावधानी र हिमपातबाट हुने सक्ने जोखिम न्यूनीकरण गर्नका लागि विशेष रणनीतिक कार्ययोजना सार्वजनिक गरिएका छन्।    

मंसिर २, २०८२

कान्तिपुर संवाददाता

Ministry of Home Affairs begins preparations to avoid snowfall and cold wave

What you should know

काठमाडौँ — सरकारले जाडो मौसमका लागि हिमाली/उच्च पहाडी क्षेत्रमा हुने हिमपात र तराईमा पर्ने शीतलहरलाई लक्षित गरी दुई छुट्टै राष्ट्रिय कार्य योजना-२०८२ को मस्यौदालाई अन्तिम रूप दिएको छ।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सरोकारवाला सम्बद्ध सबैसँगको छलफल तथा रायपछि  दुई वटा राष्ट्रिय कार्य योजनाको मस्यौदालाई अन्तिम गृहकार्य गरेको छ। जसका लागि गृहमन्त्री ओमप्रकाश अर्यालले प्राधिकरणलाई शीतलहर र हिमपातबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि आवश्यक पूर्वतयारीका काम यथाशिघ्र गर्न निर्देशन दिएका छन् । 

तयार पारिएका कार्य योजनालाई पारित गराउनका लागि गृहमन्त्री ओमप्रकाश अर्याल अध्यक्ष रहेको प्राधिकरणको कार्यकारी समितिबाट यसलाई पारित गराउने तयारी रहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीइओ) दिनेशप्रसाद भट्टले जानकारी दिए । 

कार्ययोजनामा हिमाली तथा उच्च पहाडी क्षेत्रका २९ जिल्लालाई सम्भावित हिमपातको बढी जोखिम रहेको औँल्याउँदै ती जिल्लाहरूमा विशेष सावधानी र हिमपातबाट हुने सक्ने जोखिम न्यूनीकरण गर्नका लागि विशेष रणनीतिक कार्ययोजना सार्वजनिक गरिएका छन्।    

यस्तै शितलहरबाट कुल २१ जिल्ला बढी प्रभावित हुन सक्ने कार्य योजनामा उल्लेख गरिएको छ। जसअन्तर्गत कोशीका झापा, सुनसरी र मोरङ, मधेसका आठ जिल्लाहरू- सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा बढी प्रभावित रहने छन्।

त्यस्तै, शीतलहरबाट गण्डकी प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पूर्व), लुम्बिनी प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दिया बढी प्रभावित हुने छन्, भने सुदूरपश्चिमका कैलाली र कञ्चनपुर जिल्लाहरू बढी प्रभावित हुनेछन्। त्यस्तै कम प्रभावित हुनेमा उदयपुर, मकवानपुर, सिन्धुली र सुर्खेत जिल्लाहरू रहेका छन्।  

प्राधिकरणका अनुसार हिमपात र शितलहर लक्षित राष्ट्रिय कार्य योजना पहिलो पटक जारी गरिएको हो। यसको उद्देश्य सबै सरोकारवाला पक्षसँगको समन्वय, सहकार्य र सहभागितामा हिमपातबाट हुन सक्ने सम्भावित क्षति तथा जनजीवनमा पर्ने असर न्यूनीकरण गर्नु रहेको छ।

प्राधिकरणका अनुसार नेपालका हिमाली तथा उच्च पहाडी जिल्लाहरूमा सामान्यतया मंसिर महिनादेखि फागुनसम्म भारी हिमपात र तराईका जिल्लाहरुमा शीतलहरको  बढी प्रभाव हुने गरेको देखिन्छ।  

प्राधिकरणको कार्य योजना अनुसार हिमपातबाट बढी प्रभावित हुने जिल्लाहरूमा कोशी प्रदेशका १४ मध्ये ७ वटा जिल्ला- ताप्लेजुङ, सङ्खुवासभा, ओखलढुङ्गा, सोलुखुम्बु, पाँचथर, तेह्रथुम, र भोजपुरको माथिल्लो क्षेत्र बढी प्रभावित हुने आङ्कलन गरिएको छ भने बागमती प्रदेशमा दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा र धादिङ रहेका छन्। 

यस्तै, कार्य योजनाअनुरूप, गण्डकीमा गोरखा, मनाङ, मुस्ताङ, बागलुङ र कास्की छन् भने लुम्बिनीको रुकुम पूर्व मात्रै हिमपातबाट बढी प्रभावित हुने सम्भावना छन्।   यस्तै, कर्णाली प्रदेशका डोल्पा, जुम्ला, मुगु, हुम्ला र कालिकोट  र सुदूरपश्चिमका बाजुरा, बझाङ, दार्चुला, बैतडी र डडेलधुरा जिल्लाहरू हिमपातबाट बढी प्रभावित हुने आकलन गरिएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully