मंगलबार दिउँसो उपकुलपति दीपक अर्यालको कार्यकक्षमा तोडफोड भएको हो ।
काठमाडौँ — नेपाल प्रिमियर लिग(एनपीएल) हेर्न पास नदिएको भन्दै त्रिवि विश्वविद्यालय क्याम्पस स्ववियु सदस्यले त्रिवि उपकुलपति दीपक अर्यालको कार्यालयमा तोडफोड गरेका छन् । मंगलबार दिउँसो उपकुलपति अर्यालको कार्यकक्षमा तोडफोड भएको हो ।
उपकुलपति कार्यालयका कर्मचारीका अनुसार तोडफोडमा स्ववियुमा निवार्चित विधार्थीहरू सहभागी थिए । तोडफोडमा उत्रिएपछि प्रहरीले उनीहरूलाई रोकेको थियो ।
गत वर्ष पहिलो संस्करणको एनपीएलमा स्ववियु, नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारीलगायत विद्यार्थी संगठन र तीनका सीमित नेतालाई क्यानले निःशुल्क टिकट र भीआईपी पास (विशिष्ट पाहुनासरह) उपलब्ध गराएको थियो । संगठनपिच्छे ३० देखि ५० वटा निःशुल्क टिकट र ५/७ वटाको दरले भीआईपी पास उपलब्ध गराएको विषय आलोचित भएपछि यस वर्ष स्ववियुका तर्फबाट एकमुष्ट रकम दाबी गरिएको एक स्ववियु सदस्यले जनाए ।
‘स्ववियुलाई केही टिकट पनि दिने कुरा भएको छ तर पाउने/नपाउने यकिन छैन ।, विद्यार्थी हक हितकै लागि १० लाख रुपैयाँचाहिँ लिने सम्झौता गरेका छौं,’ उनले भने । नेविसंघले भने यस वर्ष निःशुल्क टिकट र पास नलिने विज्ञप्ति जारी गरेर घोषणा गरेको छ । नेविसंघ त्रिविका अध्यक्ष विष्णु बडैलाले विज्ञप्ति जारी गरेर पास र टिकट लिने प्रचलन भए पनि यस पटक नलिने घोषणा गरेका छन् ।
नेविसंघसहित अनेरास्ववियु, अखिल क्रान्तिकारीलगायत विद्यार्थी संगठनका पदाधिकारीले निःशुल्क टिकट वा पासका लागि दबाब दिँदै आएको क्यान र विद्यार्थी कल्याण निर्देशनालयका पदाधिकारीको भनाइ छ । सामूहिक भेटेर, छुट्टाछुट्टै टेलिफोन गरेर पास र टिकटका लागि आग्रह गरेको क्यानका एक सदस्यले बताए ।
गत वर्ष पहिलो एनपीएलमा स्ववियुले नै खेल हेर्न जाने दर्शकबाट पार्किङ शुल्क उठाएपछि तत्कालीन अध्यक्ष श्यामराज ओझा विवादमा तानिएका थिए । खेलको समयमा विश्वविद्यालयमा भीडभाड र होहल्लाले पठनपाठनमा असर पुगेको अध्ययनरत विद्यार्थीले गुनासो गर्दै आएका छन् । विद्यार्थीको गुनासोपश्चात् रंगशाला नजिकै रहेको छात्रावासको सुरक्षा गर्न क्यानले तारबार गर्ने, विश्वविद्यालयको मूलगेटभित्र र मूल सडकको दायाँबाँया पार्किङ गर्न नपाउने सम्झौता पनि भएको छ ।
एमबीबीएसका विद्यार्थीको माग लिएर उपकुलपति कार्यालय गएका हौं : स्ववियु उपाध्यक्ष वली
स्वतन्त्र विद्यार्थी युनियन केन्द्रीय क्याम्पस कीर्तिपुरका स्ववियु उपाध्यक्ष सनम वलीले उपकुलपति दीपक अर्यालको कार्यकक्षमा भएको तोडफोडको खण्डन गरेका छन् ।
त्रिवि क्रिकेट रंगाशालामा जारी एनपीएल प्रतियोगिताको लागि पास भन्दा पनि एमबीबीएस विद्यार्थीको समस्या लिएर उपकुलपति कार्यालय पुगेको उनले बताए । ‘एमबीबीएसका विद्यार्थीसँग म र स्ववियु सचिव हिम्मतकुमार बुढा लगायत विद्यार्थी गएका थियौं । प्रहरीले रोकेपछि प्रहरीकै लाठीले उपकुलपति कार्यालयको सिसा फुटेको हो । हामीले तोडफोड गरेका छैनौं,’ उपाध्यक्ष वलीले भने, ‘एनपीएलको पासका लागि त उपकुलपति कार्यालय किन तोडफोड गर्नु ?, क्यानसँग नै कुरा गछौं नि ।’
एमबीबीएसमा फेल भएका विद्यार्थीलाई मौका परीक्षा दिने व्यवस्था गर्न माग गर्दै उपकुलपति कार्यालय पुगेको उनले जनाए । ‘जनकपुरलगायत देशभरबाट विद्यार्थी स्वतःर्स्फूत रुपमा आएका थिए । बोलाए पछि विद्यार्थीको माग उठाउन गएका थियौं ।, प्रहरीले रोकेपछि सामान्य धकेलाधकेला जस्तो मात्र भएको हो,’ उनले भने । विद्यार्थी मंगलबार दिउँसो कार्यकक्षमा पुग्दा अर्याल भने थिएनन् । उनी विश्वविद्यालयकै काममा दुई दिनदेखि उपत्यका बाहिर छन् । एमबीबएसमा मौका परीक्षा दिएर पनि पास नभएका विद्यार्थीले पुनः मौका दिनुपर्ने भन्दै विगत ५ वर्षदेखि माग राख्दै आएका छन् ।
