विभिन्न राजनीतिक दलसम्बद्ध विद्यार्थी संगठन, तिनका नेता र स्ववियुको दबाबमा त्रिवि कार्यकारी परिषद्लगायत आधिकारिक निकायहरूलाई जानकारी नै नदिई उक्त सम्झौता भएको हो ।
What you should know
काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) को आयोजक नेपाल क्रिकेट संघ (क्यान) सँग त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याणकारी कोष र केन्द्रीय क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले २५ लाख रुपैयाँ चन्दा लिने सम्झौता गरेको खुलेको छ ।
विभिन्न राजनीतिक दलसम्बद्ध विद्यार्थी संगठन, तीनका नेता र स्ववियुको दबाबमा त्रिवि कार्यकारी परिषद्लगायत आधिकारिक निकायहरूलाई जानकारी नै नदिई उक्त सम्झौता भएको हो । विद्यार्थी कल्याण प्रमुख उपप्राध्यापक दीपेन्द्र पराजुलीले खेल आयोजना हुँदा हुने शैक्षिक क्षतिलाई न्यूनीकरण गर्न सम्झौता गरिएको बताए । त्रिविको जग्गा संघले वार्षिक ९ लाख भाडामा लिएर खेल आयोजना गर्दै आएको छ । सम्झौता भएको २५ लाख वार्षिक भाडा ९ लाखभन्दा अतिरिक्त रकम हो ।
क्रिकेट प्रतियोगिता आयोजना गर्दा विश्वविद्यालयमा पर्न जाने असरलाई मध्यनजर गर्दै संघले एनपीएलबाट प्राप्त हुने नाफाको १५ लाख रुपैयाँ विद्यार्थी कल्याणकारी कोषमा जम्मा गर्ने सम्झौताको पहिलो बुँदामा उल्लेख छ । रंगशाला वरिपरिको असर न्यूनीकरण गर्न, वातावरण संरक्षण तथा फोहोरमैला व्यवस्थापन तथा प्राकृतिक पुनर्जागरणका लागि कुल नाफाको १० लाख स्ववियु कोषमा जम्मा गर्ने दोस्रो बुँदामा उल्लेख छ । सम्झौतामा निर्देशनालयका प्रमुख पराजुली, स्ववियु अध्यक्ष दीपकराज जोशीले त्रिविका तर्फबाट हस्ताक्षर गरेका छन् भने क्यानका तर्फबाट सचिव पारस खड्का र केन्द्रीय सदस्य श्रीधर केसीले हस्ताक्षर गरेका छन् ।
केन्द्रीय क्याम्पसका प्रोक्टर गणेश अधिकारी, स्ववियु उपाध्यक्ष सनम वली, सचिव हिक्मतकुमार बुढा, अनेरास्ववियु अध्यक्ष बालकृष्ण वली, विद्यार्थी नेताहरू गणेश भण्डारी र सिकेन्द्र रोकायले साक्षीका रूपमा सम्झौतामा हस्ताक्षर गरेका छन् । एनपीएल सकिएको ३ महिनाभित्र २५ लाख रुपैयाँ उपलब्ध गराइसक्ने भनिएको छ । विश्वविद्यालयको जग्गा प्रयोग गरेबापत विद्यार्थी युनियनले सम्झौता गरी रकम लेनदेन गर्नु गैरकानुनी भएको भन्दै प्राध्यापकले आपत्ति जनाएका छन् ।
विश्वविद्यालयको जग्गा भाडामा लगाएको विषयमा विद्यार्थी हकहितका लागि काम गर्ने स्ववियुले रकम लेनदेन गर्नु अनुचित भएको पूर्वस्ववियु सचिव सिद्धान्त भट्टले बताए । निर्देशनालय रेक्टर कार्यालय मातहतको निकाय हो तर रेक्टर खड्ग केसीले सम्झौताको विषयमा जानकारी नभएको प्रतिक्रिया दिए । पदाधिकारी तहमा पनि सम्झौता गर्ने र रकम लिने विषयमा कुराकानी नभएको उनको भनाइ छ । सम्झौता भएपछि मात्रै जानकारी पाएको केसीको भनाइ छ ।
गत वर्षको पहिलो एनपीएलमा स्ववियु, नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारीलगायत विद्यार्थी संगठन र तीनका सीमित नेतालाई क्यानले निःशुल्क टिकट र भीआईपी पास (विशिष्ट पाहुनासरह) उपलब्ध गराएको थियो । संगठनपिच्छे ३० देखि ५० वटा निःशुल्क टिकट र ५/७ वटाको दरले भीआईपी पास उपलब्ध गराएको विषय आलोचित भएपछि यस वर्ष स्ववियुका तर्फबाट एकमुष्ट रकम दाबी गरिएको एक स्ववियु सदस्यले जनाए ।
‘स्ववियुलाई केही टिकट पनि दिने कुरा भएको छ तर पाउने/नपाउने यकिन छैन ।, विद्यार्थी हक हितकै लागि १० लाख रुपैयाँचाहिँ लिने सम्झौता गरेका छौं,’ उनले भने । नेविसंघले भने यस वर्ष निःशुल्क टिकट र पास नलिने विज्ञप्ति जारी गरेर घोषणा गरेको छ । नेविसंघ त्रिविका अध्यक्ष विष्णु बडैलाले विज्ञप्ति जारी गरेर पास र टिकट लिने प्रचलन भए पनि यस पटक नलिने घोषणा गरेका छन् । नेविसंघसहित अनेरास्ववियु, अखिल क्रान्तिकारीलगायत विद्यार्थी संगठनका पदाधिकारीले निःशुल्क टिकट वा पासका लागि दबाब दिँदै आएको क्यान र विद्यार्थी कल्याण निर्देशनालयका पदाधिकारीको भनाइ छ । सामूहिक भेटेर, छुट्टाछुट्टै टेलिफोन गरेर पास र टिकटका लागि आग्रह गरेको क्यानका एक सदस्यले बताए ।
गत वर्ष पहिलो एनपीएलमा स्ववियुले नै खेल हेर्न जाने दर्शकबाट पार्किङ शुल्क उठाएपछि तत्कालीन अध्यक्ष श्यामराज ओझा विवादमा तानिएका थिए । खेलको समयमा विश्वविद्यालयमा भीडभाड र होहल्लाले पठनपाठनमा असर पुगेको अध्ययनरत विद्यार्थीले गुनासो गर्दै आएका छन् । विद्यार्थीको गुनासोपश्चात् रंगशाला नजिकै रहेको छात्रावासको सुरक्षा गर्न क्यानले तारबार गर्ने, विश्वविद्यालयको मूलगेटभित्र र मूल सडकको दायाँबाँया पार्किङ गर्न नपाउने सम्झौता पनि भएको छ ।
त्रिवि रजिस्ट्रार कार्यालयले २०५९ वैशाखमा २५ वर्षका लागि क्यानलाई कीर्तिपुरस्थित रंगशाला भाडामा दिएको थियो । क्यान र सरकारको लगानीमा स्तरोन्नति हुँदै आएको रंगशाला भाडा सम्झौता २०८३ वैशाख मसान्तबाट सकिँदै छ । ९ लाख भाडामध्ये जम्मा प्रयोग गरेबापत ६ लाख, विद्यार्थी छात्रवृत्तिका लागि २ र त्रिविमा सञ्चालन हुने खेलकुदका लागि १ लाख खर्च गरिने सम्झौतामा उल्लेख छ । २०५९ सालमा भएको सम्झौतामा खेल आयोजना हुँदा त्रिविका शिक्षक, विद्यार्थी र कर्मचारीलाई ५० प्रतिशत शुल्क छुट दिने उल्लेख थियो । विद्यार्थीले सबै विद्यार्थीलाई छुट दिन दबाब दिएपछि सम्झौता गर्नुपरेको क्यानको गुनासो छ ।
स्ववियु अध्यक्ष जोशीले व्यक्तिका लागि नभएर विद्यार्थीका लागि खर्च गर्ने गरी विद्यार्थी कल्याण कोष र स्ववियु कोषमा रकम लिने सम्झौता भएको बताए । ‘२०५९ सालदेखि सम्झौता भएर त्रिविको जग्गा क्यानले प्रयोग गरेको छ । सम्झौता पालना भएको छैन,’ उनले भने, ‘क्रिकेटबाट नाफा आएको केही रकम विश्वविद्यालयको सरसफाइ, वातावरण संरक्षणका लागि लिन लागेका हौं ।’ क्यानले स्वेच्छाले रकम दिएको र लिने सम्झौता गरेको जोशीले दाबी गरे ।
