सडक चिप्लो हुँदा दाउन्नेमा घण्टौं जाम, विश्वकर्मा मन्दिरनजिक एकतर्फी संचालन

सडक निमार्णका क्रममा विश्वकर्मा मन्दिर अगाडिकाे क्षेत्रमा हालेकाे पानीका कारण मालबाहक सवारी चिप्लिँदा आवागमन प्रभावित भएको हो ।

मंसिर २, २०८२

नवीन पौडेल

Hours-long traffic jam in Daunne due to slippery road, one-way traffic near Vishwakarma Temple

What you should know

नवलपुर — बिस्तारको क्रममा रहेको नारायणगढ–बुटवल सडक खण्ड अर्न्तगत दाउन्नेमा सोमबार रातिदेखि अवरुद्ध भएको यातायात संचालनमा आएको छ ।

सडक निमार्णका क्रममा विश्वकर्मा मन्दिर अगाडिकाे क्षेत्रमा हालेकाे पानीका कारण मालबाहक सवारी चिप्लिँदा आवागमन प्रभावित भएको हो । सोही स्थानमा दुई वटा ट्रक पनि बिग्रिएको कारण मंगलबार साँझसम्म सवारी सञ्चालन सहज हुन सकेको छैन ।

दाउन्ने खण्ड पार गर्न यात्रुलाई पाँच घण्टा भन्दा बढी समय लागिरहेको छ । सवारी ब्रिग्रिएको र सडक चिप्लो हुँदा सवारी आवागमनमा समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख कुशल बतौलाले बताए । उनका अनुसार मंगलबार साँझदेखि जाम केही हटेको छ । विश्वकर्मा मन्दिरनजिक एकतर्फी र अन्य स्थानमा दुईतर्फी सवारी सञ्चालन भइरहेको छ । 

अहिले दाउन्ने खण्डमा सडक निर्माणको काम भइरहेकाले सडक विभागले दाउन्नेमा काम भैरहेको स्थानमा यातायात एकतर्फी हुने सूचना पनि जारी गरेको छ । सडक एकतर्फी हुँदा १०/१५ मिनेट जाममा पर्नु सामान्य भए पनि ५/६ घण्टासम्म जाममा पर्दा यात्रुले सास्ती खेपिरहेका छन् ।  

यसअघि पनि सडक चिप्लो र सामान्य वर्षा हुँदा विनयी त्रिवेणी गाउँपालिका–२ पैसठ्ठी मोड र विश्वकर्मा मन्दिरनजिकै सवारी आवागमन प्रभावित हुँदै आएको छ । सडक विस्तारको काम समयमा नसकिँदा यात्रु र स्थानीयले सास्ती भोगिरहेका छन् । सरकारले विस्तारको चौथो पटक म्याद २०८३ साउन ७ गतेसम्म थप भएको छ ।  २०७५ चैतमा काम सुरु गरेर २०७९ साउनमा निर्माण सम्पन्न हुनुपर्ने भए पनि तेस्रो पटक थप भएको म्याद पनि काम सम्पन्न नभएर समय थप भएको आयोजना पूर्वी खण्डका सूचना अधिकारी शिव खनालले बताए । 

काम भइरहकाले केही असहज भए पनि दाउन्नेमा केही महिनामै यात्रा सहज हुने खनालले बताए । १ सय १४ किलोमिटर लामो यो सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का सम्झौता गरिएको छ । तेस्रो पटक थप भएको समयमा पनि काम नसकिएपछि थप एक वर्ष म्याद थप गर्ने तयारी छ ।

नवलपुरको गैंडाकोटदेखि दाउन्नेसम्म ६५ किलोमिटर सडकलाई खण्ड ‘क’ र दाउन्नेदेखि बुटवलसम्मको ४९ किलोमिटर लाई खण्ड ‘ख’ अन्तर्गत दुई क्षेत्रमा काम भइरहेको छ । एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा कूल १६ अर्ब ९९ करोड ५२ लाख लागतमा राजमार्गको विस्तार गरिरहेको छ । 

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully