कोप ३० : हिमालका मुद्दालाई प्राथमिकता दिन कृषिमन्त्रीको माग  

मन्त्री परियारले विश्वव्यापी तापक्रम वृद्धिले नेपालमा हिउँ पग्लने, बेमौसमको बाढी आउने र कतिपय ठाउँमा खडेरी पर्नेलगायत समस्या देखिएको र यसले कृषि क्षेत्रमा ठूलो प्रभाव पार्ने गरेको बताए

मंसिर २, २०८२

कान्तिपुर संवाददाता

COP 30: Agriculture Minister demands priority for Himalayan issues

काठमाडौँ — कृषिमन्त्री मदनप्रसाद परियारले हिमालका मुद्दालाई संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तनसम्बन्धी अवधारणामा प्राथमिकता साथ राख्नुपर्ने खाँचो औंल्याएका छन् । ब्राजिलको बेलममा चलिरहेको सम्मेलनअन्तर्गत मन्त्रीस्तरीय सेग्मेन्टलाई सोमबार सम्बोधन गर्दै उनले जलवायु न्यायको मुद्दामा नेपाल प्रतिबद्ध रहेको बताए ।

मन्त्री परियारले  विश्वव्यापी तापक्रम वृद्धिले नेपालमा हिउँ पग्लने, बेमौसमको बाढी आउने र कतिपय ठाउँमा खडेरी पर्नेलगायत समस्या देखिएको र यसले कृषि क्षेत्रमा ठूलो प्रभाव पार्ने गरेको बताए । उनले सन् २०४५ सम्म कार्बन कटौतीलाई शून्यमा झार्ने नेपालको लक्ष्य रहेको बताए । 

नेपालमा ४६ प्रतिशत वनजंगल रहेको पनि उनले बताए । उनले विकसित देशहरुले जलवायु वित्त कोष पूर्वप्रतिबद्धताअनुसार लगानी गर्नुपर्ने बताए । त्यस्तै विगतका सम्झौतालाई पालना गर्न र अन्तर्राष्ट्रिय जलवायु न्यायसम्बन्धी सल्लाहकार समितिको विचारलाई सम्मान गर्न आग्रह गरे । 

मन्त्री परियारले आफ्नो सम्बोधनअघि विभिन्न सरोकारवालाहरुसाग अन्तरक्रिया गरेका थिए । नेपाली टोलीले विभिन्न साइड इभेन्ट तथा अन्तरक्रियामा सहभागी भएर द्विपक्षीय र बहुपक्षीय तहमा छलफल गरिरहेको जलवायु परिवर्तन महाशाखाका सह-सचिव महेश्वर ढकालले जानकारी दिए । 

कान्तिपुर

Link copied successfully