प्रधानमन्त्री कार्कीले भनिन्- 'भड्काउ अभिव्यक्तिमाथि शून्य सहनशीलता, तत्काल कारबाही'

शान्तिपूर्ण मतदान सुनिश्चित गर्न 'हट-स्पट' नक्सांकन र गुप्तचर परिचालन बढाइएको प्रधानमन्त्री कार्कीको भनाइ छ ।

मंसिर १, २०८२

कान्तिपुर संवाददाता

Prime Minister Karki said - 'Zero tolerance for inflammatory expressions, immediate action'

What you should know

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले चुनावका बेला द्वेषपूर्ण र भड्काउ अभिव्यक्ति दिने व्यक्तिहरूप्रति शून्य सहनशीलता रहने बताएकी छन् ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा नागरिक अगुवा र प्रतिनिधिसँग छलफल गर्दै उनले भड्काउपूर्ण अभिव्यक्ति दिने व्यक्तिलाई तत्काल कारबाही हुने बताइन् । 

निर्वाचनको वातावरण बनाउन सरकारले काम गरिरहेको बताउँदै प्रधानमन्त्री कार्कीले समाज भड्काउने अभिव्यक्ति दिनेहरूमाथि कारबाही हुने बताएकी हुन् । 'युवा असन्तुष्टिको व्यवस्थापनसँगै निर्वाचनको वातावरण ध्रुवीकरण र हिंसाले बिथोल्ने जोखिमतर्फ पनि हामी सचेत छौँ । निर्वाचनका दौरान द्वेषपूर्ण र भड्काउपूर्ण अभिव्यक्ति प्रयोग गर्ने जो-कोहीलाई पनि सम्बन्धित सक्षम निकायहरूले तत्काल र सार्वजनिक कारबाही गर्नेछन्,' कार्कीले भनिन्, 'शान्तिपूर्ण मतदान सुनिश्चित गर्न 'हट-स्पट' नक्सांकन र गुप्तचर परिचालन बढाइएको छ ।' उनले त्यस्ता अभिव्यक्ति दिनेहरूलाई नागरिक तहबाट खबरदारीको पनि आवश्यकता रहेको बताइन् ।

प्रधानमन्त्री कार्कीले लोकतन्त्र रक्षाका लागि नागरिकसँग राज्यले साझेदारी गर्नुपर्ने बताएकी छन् । 'यस निर्वाचनको सफलतामा मुलुकको लोकतान्त्रिक भविष्य र संवैधानिक यात्रा निर्भर छ । यदि हामी यसपटक असफल हुन्छौं भने देश लामो राजनीतिक अन्योल र संवैधानिक संकटमा धकेलिनेछ,' उनले भनिन्, 'नागरिक समाजका नेताहरूको रूपमा तपाईंहरूले सरकार र दलहरूबीच विश्वासको वातावरण बनाउन र आम जनतालाई निर्वाचनमा सहभागी हुन प्रेरित गर्न 'तेस्रो शक्ति' को रूपमा सक्रिय र निर्णायक भूमिका खेल्नुहुनेछ भन्ने हामीलाई पूर्ण विश्वास छ।'

प्रधानमन्त्री कार्कीले बोलाएको बैठकमा नागरिक अगुवाहरू इन्द्रा अधिकारी, सुवोधराज प्याकुरेल, जेबी विश्वकर्मा, केदारभक्त माथेमा, स्टेला तामाङ, विद्याधर मल्लिक, विजयकान्त कर्ण, गेजा शर्मा वाग्ले, दोभान राई, नयनतारा गुरुङ, नीर्घ नवीन, विजय तिमिल्सिना, खगेन्द्र संग्रौला, तुलानारायण साह, रेवती कार्की, शिशिर उप्रेती, दीपेश घिमिरे र राजुप्रसाद चापागाईंको सहभागिता रहेको छ ।

कान्तिपुर

Link copied successfully