सामाजिक सञ्जालको दुरुपयोगले सुरक्षा चुनौती : महानिरीक्षक कार्की

महानिरीक्षक कार्कीले फैसला कार्यान्वयन, फरार प्रतिवादीको खोजतलास एवम् पक्राउ परेकालाई प्राथमिकतामा राखी तत्काल नतिजा आउने गरी काम गर्न निर्देशन दिएका छन् ।

मंसिर १, २०८२

रासस

Misuse of social media poses security challenge: Inspector General Karki

काठमाडौँ — प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालको दुरुपयोग भइरहँदा सामाजिक सुरक्षा चुनौती थप भएको बताएका छन् ।

अपराध अनुसन्धान विभागको ७०औँ स्थापना दिवसका अवसरमा सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा उनले सामाजिक सञ्जालको दुरुपयोग भएसँगै लागूऔषध दुव्र्यसन तथा कारोबार, क्रिप्टोकरेन्सी, अनलाइन गेमिङ, स्क्यामिङ, आत्महत्या, मानव बेचबिखन तथा ओसारपसार, आर्थिक अपराध र अन्तरदेशीय प्रकृतिका जटिल तथा सङ्गठित अपराधसम्बन्धी अनुसन्धानका लागि क्षमता विकास तालिम आवश्यक रहेको बताए ।

महानिरीक्षक कार्कीले फैसला कार्यान्वयन, फरार प्रतिवादीको खोजतलास एवम् पक्राउ परेकालाई प्राथमिकतामा राखी तत्काल नतिजा आउने गरी काम गर्न र विगतका आपराधिक गतिविधि तथा लामो समयसम्म पेन्डिङमा रहेका घटनाहरूलाई समेत प्राथमिकतामा राखी प्रभावकारी अनुसन्धान गर्न निर्देशन दिएका थिए ।

नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीले निष्पक्ष, प्रमाणमुखी एवम् वैज्ञानिक अनुसन्धानले कानुन विपरीत कार्य गर्नेलाई कानुनी दायरामा ल्याउन सहयोग पुर्याउने धारणा व्यक्त गर्दै पीडित पक्षलाई न्याय दिलाई समाजमा प्रहरीप्रतिको प्रतिष्ठा एवम् विश्वास अभिवृद्धि गर्न प्रहरी संयन्त्र अझ जिम्मेवार र क्रियाशील हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा अपराध अनुसन्धान विभागका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक सुशीलसिंह राठौरले अपराध नियन्त्रण र अनुसन्धानको वर्तमान अवस्था, चुनौती र समाधानका उपायलगायतका विषयमा धारणा व्यक्त गरेका थिए । 

रासस

Link copied successfully