दाइजोको निहुँमा परिवारै मिलेर हि‌ंसा

श्रीमानसितकाे सम्बन्ध सुध्रिने आशले मंगलबार ससुराली आएकी कंचनरूप नगरपालिका–७ माइती भई सिन्धुलीको एक विद्यालयमा नर्स पदमा कार्यरत सञ्जिता साहलाई घरमै पस्न नदिएपछि छिमेकीकाे सहयाेगमा बसिरहेकी छिन् ।

मंसिर १, २०८२

विद्यानन्द राम

Family violence over dowry

What you should know

राजविराज — फेसबुकबाट जोडेको सम्बन्धपछि अदालत पुगेर प्रेमविवाह गरेकी २८ वर्षकी सञ्जिता साह परिवारबाटै हिंसामा परेपछि बेहाल बनेकी छिन् ।

तीन वर्षको प्रेम सम्बन्धपछि उनले २०८१ जेठ ९ मा सप्तरीको रुपनी गाउँपालिका–३ मकरी टोलका ३० वर्षका सन्देश साहसँग पर्सा जिल्ला अदालतमा विवाह गरेकी थिइन् । सासु किरणकुमारी साह र ससुरा धर्मदेव साहले थाहा नपाएसम्म उनीहरुको वैवाहिक सम्बन्ध राम्रै चल्यो । अदालतमा विवाह भएको एक वर्षपछि सामाजिक रुपमा पनि विवाह गर्ने भन्दै दुवै जनाको परिवार बीच कुरा चल्न सुरु भयो ।

दुवै परिवारले एकअर्काको घर पुगेर सामाजिक परम्परा अनुसार पनि विवाह गर्ने कुरा बढाए । त्यहीबेला ससुरा धर्मदेवले बुवा रामेश्वर साह तेलीलाई बोलाएर १० तोला सुन, १५ लाख नगद र एउटा चारपाङ्ग्रे गाडी मागेको सञ्जिताले बताइन् । ‘दाइजोको कुरा थियो भने पहिला नै भन्नुपर्थ्यो, मसँग विवाह किन गर्याैं भनेर प्रश्न गर्दा सन्देशले त्यसो होइन भनेर जवाफ फर्काएका थिए,’ उनले भनिन्, ‘त्यहीबाट हाम्रो सम्बन्ध बिग्रदै बोलचाल पनि कम हुँदै गयो ।’ 

सम्बन्ध सुध्रिने आशले कंचनरूप नगरपालिका–७ माइती भई सिन्धुलीको एक विद्यालयमा नर्स पदमा कार्यरत रहेकी सञ्जिता अघिल्लो मंगलबार ससुराली आएकी थिइन् । तर, सञ्जितालाई घरमा पस्नै नदिएपछि उनको बेहाल छ । गाउँलेको सहयोगमा दलिनमा बस्न लगाए पनि त्योदिन भोकभोकै रात काटेको काटेको र भोलिपल्टदेखि छिमेकीले ल्याइदिएको खाना खाइरहेकाे उनले बताइन् । ‘जीवनभर साथ निभाउने बाचा गरेका पतिले पारिवारिक दबाबमा परेर बोलीबचन र व्यवहार फेर्दा घर न घाटको भएकी छु’, उनले भनिन्, ‘अहिले दलिनबाट निकाल्नका लागि शारिरीक र मानसिक यातना दिइरहेका छन् ।’

पछिल्लो पटक गत बिहीबार सञ्जितामाथि घरेलु हिंसा हुँदा उनले जिल्ला प्रहरी कार्यालयमा उजुरी समेत दिएकी छन् । उनले यसअघि पनि पर्साको एक निजी कम्पनीमा इञ्जिनियर पदमा कार्यरत पति सन्देश, सासु किरण र ससुरा धर्मदेवविरुद्ध सप्तरी जिल्ला अदालतमा घरेलु हिंसा सम्बन्धी मुद्दा दायर गरेकी थिइन् ।

Family violence over dowry

उक्त मुद्दामा २०८२ असार २३ मा सुनुवाइ गर्दै न्यायाधीश मोहनबहादुर अधिकारीको इजलाशले अन्तरिम संरक्षणात्मक आदेश पनि जारी भएको थियो । घरेलु हिंसा (कसुर सजाय ऐन) २०६६ को दफा ६ बमोजिम जारी भएको आदेशमा सञ्जितालाई सुरक्षित रूपमा घरमा बस्न, खान र लाउन दिनू तथा कुटपिट र गालीबेइज्जत नगर्नू उल्लेख छ । तर, उक्त आदेश पनि कार्यान्वयन नभएको भन्दै सञ्जिताले न्यायका लागि गुहार मागिन् । 

शिक्षकसमेत रहेका सञ्जिताका ससुरा धर्मदेवले दाइजोको विषय नरहेको बताए । ‘उनको सबै आरोप निराधर हो । मैले दाइजो मागेको वा हिंसा गरेको छैन,’ उनले भने, ‘छोरा र बुहारी बीच नै विवाद छ । उनीहरु मिलेर नआउँदा समस्या छ ।’ सन्देशले सञ्जिताको व्यवहार बदलिएको देखेर सँगै बस्न नचाहेको बताए । ‘सुरुमा व्यवहार राम्रै थियो, पछि व्यवहार बदलिएको देखेर सँगै नबस्ने निर्णय लिइसकेको छु’, उनले भने । 

जिल्ला प्रहरी प्रवक्ता डीएसपी डम्बरबहादुर पुरीले सञ्जिताको मागअनुसार मिलापत्रको प्रयास भइरहेको बताए । ‘सन्देश भागिरहँदा समाधान हुन सकेको छैन्,’ उनले भने, ‘सन्देशका बुवा सम्पर्कमा हुनुहुन्छ, उहाँले ती विषय १० दिनमा समाधान गरिसक्ने बताउनुभएको छ ।’ 

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully