हालसम्म डाइभर्टका लागि भारतका विमानस्थलहरू प्रयोग गर्नुपर्ने बाध्यता रहँदै आएकोमा सोमबारको निर्णयअनुसार अब भैरहवा विमानस्थल उपयोग गर्न सकिने व्यवस्था लागू भएको छ।
काठमाडौँ — नेपाल वायुसेवा निगमले अबदेखि आफ्नो जहाज डाइभर्ट गर्नुपर्ने अवस्थाहरूमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा) लाई ‘अल्टरनेटिभ’ विमानस्थलको रूपमा प्रयोग गर्ने भएको छ।
निगमका प्रवक्ता अनिल घिमिरेका अनुसार, हालसम्म डाइभर्टका लागि भारतका विमानस्थलहरू प्रयोग गर्नुपर्ने बाध्यता रहँदै आएकोमा सोमबारको निर्णयअनुसार अब भैरहवा विमानस्थल उपयोग गर्न सकिने व्यवस्था लागू भएको छ।
यसले डाइभर्टमा लाग्ने खर्च तथा समय दुवै बचत हुने नेपाल वायुसेवा निगमले जनाएको छ।
यस्तै, पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पनि ‘अल्टरनेटिभ’ विमानस्थलका रूपमा उपयोग गर्न अध्ययन प्रक्रिया अघि बढाउने निर्णयसमेत निगमले गरेको छ।
निकट भविष्यमा वैकल्पिक विमानस्थल विस्तारले आपत्कालीन अवतरण तथा हवाई सुरक्षामा थप सहजता र विश्वास बढ्ने अपेक्षा गरिएको छ।
