कहाँ छन् सर्वोच्चका तत्कालीन न्यायाधीश बमका ‘हत्यारा’ ?

एक दशकअघि भएको सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमको हत्यामा संलग्न बाबु थापा २४ भदौमा सुन्धारा कारागारबाट फरार भएका छन् ।

कार्तिक ३०, २०८२

गौरव पोखरेल

Where are the 'killers' of the then Supreme Court judge Bam?

What you should know

काठमाडौँ — राजधानीमा भएको हाई–प्रोफाइल हत्यामा संलग्नलाई समात्न नसक्दा प्रहरी झन्डै साढे २ वर्ष दबाबमा परेको थियो । तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) उपेन्द्रकान्त अर्यालले त त्यो घटनालाई ‘घाँटीमा अड्किएको काँडा’ भनेका थिए ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले घटनाको २ वर्ष ७ महिनापछि चितवनबाट पक्राउ गर्दा बाबु थापाले कसुर स्वीकारेका थिए । ‘पहिले पनि उनी पक्राउ परेर प्रमाण फेला नपर्दा छुटेका थिए, त्यसपछि निरन्तर भाग्दै आएका थिए,’ सीआईबीका तत्कालीन निर्देशक हेमन्त मल्ल ठकुरी भन्छन्, ‘जतिबेला प्रहरी उनलाई समात्न घरमा पुगेको थियो, त्यसबेला उनी भाग्दाभाग्दै हैरान भइसकेका थिए ।’

यो घटनालाई प्रहरीले कति प्राथमिकता दिएको थियो भने उनी पक्राउ परेको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा तत्कालीन आईजीपी अर्याल स्वयम् उपस्थित भएका थिए ।

एक दशकअघि भएको सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्यामा संलग्न तिनै बाबु थापा कारागारबाट फरार भएका छन् ।

बम हत्या प्रकरण: सुटरलाई सर्वस्व, योजनाकारलाई जन्मकैद

बागमती नगरपालिका–२, सर्लाही घर भएका कर्तव्य मुद्दाका अभियुक्त उनी केन्द्रीय कारागार सुन्धाराबाट २४ भदौमा फरार भएको पाइएको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतका अनुसार, न्यायाधीश बमको गोली हानी भएको हत्यामा संलग्न उनी फरार भएको विषयलाई प्राथमिकतामा राखेर खोजबिन भइरहेको छ ।

 ‘२०७१ पुसमा सीआईबीले पक्राउ गर्दा उनको डायरीमा न्यायाधीश, प्रहरी, मालपोत कर्मचारी लगायतको नाम भेटिएको थियो,’ त्यसबेला अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘त्यो सूचीमा तत्कालीन प्रहरी निरीक्षक (इन्स्पेक्टर) कुमोध ढुंगेलको नाम भेटिएको थियो, न्यायाधीश हत्यापछि बाबु प्रहरीको र्‍याडरमा आइहाले ।’ 

यतिबेला उनी जस्तो प्रहरीलाई जोखिम हुन सक्ने र समाजमा त्रास बढाउने कैदीबन्दीको खोजीलाई प्रहरीले प्राथमिकता दिएको छ ।

‘गम्भीर प्रकृति र सार्वजनिक सरोकारका घटनामा संलग्न अभियुक्तहरुको खोजीलाई अझ प्राथमिकता दिएका छौं,’ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्य भन्छन् ।

न्यायाधीश बम हत्याको कारण चाहिँ चुरेभावर राष्ट्रिय पार्टीभित्र भएको विवादको फैसला भएको त्यसबेला प्रहरीले निष्कर्ष सुनाएको थियो । पार्टीमा अध्यक्ष केशव मैनाली र उपाध्यक्ष थापाबीच भएको मतान्तर मुद्दा मामिलासम्म पुगेको थियो ।

पहिलो संविधानसभा चुनावका बेला समानुपातिकतर्फबाट यो पार्टीले एक सिट जितेको थियो । त्यसबेला बाबु धनुषा क्षेत्र नं. ७ बाट प्रत्यक्ष निर्वाचन लडे पनि पराजित भएका थिए । उनले एमाले, कांग्रेस र एमाओवादीपछि सबैभन्दा बढी ३ हजार ३ सय ८४ मत पाएका थिए ।

पार्टीले समानुपातिकतर्फ जितेको एक सिटमा तत्कालीन अध्यक्ष मैनाली सभासद् भए । तर, पार्टीको आन्तरिक विवाद यति बढ्यो कि थापाले मैनालीलाई पार्टीबाट निष्कासन गरे । त्यसविरुद्ध निर्वाचन आयोगमा उजुरी पर्‍यो ।

आयोगले बाबुको समूहलाई नै मान्यता दियो । यद्यपि, त्यसमा पनि असन्तुष्टि जनाउँदै उनी सर्वोच्च अदालत गए । प्रहरीका अनुसार, त्यसबेला बाबुले मैनालीलाई हटाएर आफू सभासद् बन्ने चाहना पालिरहेका थिए । सभासद् बनेर आए गृह राज्यमन्त्री बनाउने आश्वासनसमेत उनले पाएका थिए । त्यही कारण उनी मैनालीलाई हटाउन अघि सरेका थिए ।

तर, सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश बमको एकल इजलासले निर्वाचन आयोगको निर्णय बदर गर्दै मैनालीलाई नै निरन्तरता दिन आदेश गर्‍यो । त्यसकै प्रतिशोधमा उनले न्यायाधीश बमको हत्या गरेको प्रहरी अधिकृतहरु बताउँछन् ।

पार्टीभित्र लफडा भइरहेका बेला बाबुले अध्यक्ष मैनालीका छोरा समीरमाथि समेत आक्रमण गरेका थिए । त्यसमा उनीविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा समेत चलेको थियो । त्यही मुद्दामा जलेश्वर कारागारमा रहेका बेला उनको २०६७ सालमा उनको करण चौधरीसँग चिनजान भएको थियो ।

पछि उनले करणसहित भगवान भनिने सञ्जय स्माइली मगरसँग मिलेर न्यायाधीश बमको हत्या योजना बनाएका थिए । र, यूएन पार्क छेउ बाबुसमतेको उपस्थितिमा तत्कालीन न्यायाधीश बम*लाई ६ राउन्ड गोली उनको समूहले हानेको थियो ।

केहीबेरमै उनलाई नर्भिक अस्पताल लगिएको थियो । तर, चिकित्सकहरुले ल्याउनुअघि नै उनको मृत्यु भइसकेको घोषणा गरेका थिए ।

–यसअघि न्यायाधीश बमको सट्टा अन्यथा भएकोले सच्याइएको छ ।–सम्पादक

गौरव पोखरेल गौरव कान्तिपुरका पत्रकार हुन् । उनी सुरक्षा मामिला र सुशासनका विषयमा रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully