गोली हानी समातिएका ‘सार्पसुटर’ समेत भागेकाले अनुसन्धान अधिकृत त्रासमा

भारत, चीनलगायत देशका गरी ८२५ विदेशी कैदीबन्दी फरार भएकामा २०६ जना पुनः नियन्त्रणमा, ५२० भारतीय र अन्य मुलुकका ९९ कैदीबन्दी अझै फरार

कार्तिक २६, २०८२

गौरव पोखरेल

Investigating officer in panic as 'sharpshooter' who was caught in shooting escapes

What you should know

काठमाडौँ — २४ भदौको प्रदर्शनका क्रममा हत्याका अभियुक्त ‘सार्पसुटर’ देखि सुन तस्करीमा संलग्न र ‘सिरियल किलर’ विदेशी कैदीबन्दी फरार भएका छन् । भारत, चीनलगायत देशका ८२५ विदेशी कैदीबन्दी फरार भएको कारागार विभागले जनाएको हो । तीमध्ये २०६ जना फिर्ता आएका छन् भने ५२० भारतीय र अन्य मुलुकका ९९ जना अझै फरार छन् ।

विभागका अनुसार फरार हुने विदेशी कैदीबन्दीमा सबैभन्दा बढी लागूऔषधसम्बन्धी कसुरका छन् । तर, संगठित र अन्तरदेशीय अपराधमा संलग्न विदेशी कैदीबन्दी भागेपछि नेपाल प्रहरीका लागि टाउको दुखाइको विषय बनेको छ । फरारमध्येका एक हुन्, भारतीय ‘सार्पसुटर’ गुड्डु पटेल । नेपालमा रहेर नक्कली नोटको कारोबार गर्दै आएको आरोप लाग्ने गरेका लाल मोहम्मद हत्या प्रकरणका अभियुक्त पटेल केन्द्रीय कारागार, सुन्धाराबाट फरार भएका हुन् । उनलाई टोखामा गोली हानी नेपाल प्रहरीले पक्राउ गरेको थियो । 

पटेललाई नेपाल प्रहरीले लामो प्रयासपछि भारतको लखनउबाट पक्राउ गरेर ल्याएको थियो । भारतविरुद्ध गतिविधि गरेको आरोपमा नेपालमा भएका रहस्यमय हत्या शृंखलामा सीमापारिबाट सुटर पक्राउ पर्नु विरलै हुने घटना हो । त्यसमाथि हत्या योजना बनाउने कार्यमा संलग्न यो तहको आरोपी यसअघिका प्रकरणहरूमा समातिएका थिएनन् । मोहम्मद हत्या प्रकरणमा नेपाल प्रहरीले भारतबाटै गुड्डुलाई पक्राउ गरेर ल्याएको थियो । 

अधिकृतहरूका अनुसार उनी भारतको बिहार, रक्सौल घर भएका पेसेवर हिटम्यान (निश्चित रकम लिएर कुनै गिरोहका लागि भाडामा हत्या गर्ने व्यक्ति) थिए । उनको सम्बन्ध भारतीय अन्डरवर्ल्ड डन बब्बु श्रीवास्तवसँग समेत देखिएको थियो । विगतमा नेपालमा रहेर आईएसआईका लागि काम गरेको आरोपमा नेपालमा भएका व्यक्ति हत्यामा श्रीवास्तव र अर्का भारतीय डन छोटा राजनको संलग्नता देखिँदै आएको छ । 

‘गुड्डुले दायाँ–बायाँ कुन आँखामा गोली हानौं भन्ने सोधेर निशाना नबिराइ हतियार चलाउनसक्थे, त्यो तहको अपराधी फरार हुनुले सुरक्षा चुनौती बढाएको छ,’ संगठित अपराध अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘अहिले अनुसन्धान अधिकृतहरू त्रासमा छन् ।’ टोखामा गोली लागेका बेलासमेत उनले ‘ये ठीक नही हुवा (यो ठीक भएन)’ भन्दै प्रहरीलाई धम्क्याएको अधिकृतहरू बताउँछन् । 

गोठाटारमा ४ असोज २०७९ मा मारिएका मोहम्मदलाई भारतीय पक्षले पाकिस्तानी गुप्तचरी निकाय इन्टरसर्भिस इन्टेलिजेन्स (आईएसआई) को एजेन्ट भएको दाबी गर्ने गर्थ्यो । नेपाल प्रहरीको प्रतिआतंकवाद मामिला हेर्ने निकाय विशेष ब्युरोका अधिकृतहरूका अनुसार नक्कली नोट कारोबारमा संलग्न रहेकै आरोपमा उनलाई भारतीय पक्षले हस्तान्तरण गरिदिन अनौपचारिक रूपमा आग्रह गर्ने गरेको थियो । त्यस्ता व्यक्तिको हत्या गरेर फरार भएलगत्तै गुड्डुसहितको समूह भारतको लखनउमा सेल्टर लिएर बस्दै आएको थियो । 

गुड्डुका साथी बब्लु पासवानलाई समेत वीरगन्ज प्रहरीले १६ वैशाख २०८१ मा गोली हानी पक्राउ गरेको थियो । उनलाई नेपाल प्रहरीले सार्वजनिक गरेपछि वीरगन्जसँग सीमा जोडिएको भारतीय जिल्लाको प्रहरीको सेट नै परिवर्तनसमेत भएको अनुसन्धान अधिकृतहरू बताउँछन् । सुरक्षा स्रोतका अनुसार वीरगन्ज कारागारमा रहेका पासवानले समेत कारागारबाट भाग्ने प्रयास गरेका थिए । तर, नेपाली सेनासमेत परिचालित भइसकेका कारण त्यहाँबाट धेरै कैदीबन्दी भाग्न पाएनन् ।

गुड्डुचाहिँ गोली लागेका कारण केन्द्रीय कारागारभित्र बैसाखी टेकेर हिँड्थे । ‘कारागारबाट भाग्ने बेलामा उनी लगभग अन्तिम–अन्तिमतिर निस्किएको देखिन्छ,’ केन्द्रीय कारागारका एक सुरक्षा अधिकृतले भने, ‘त्यसपछि उनी सिधै बसपार्कमा पुगेको पाइएको छ ।’ 

गुड्डु मात्र होइन, नेपाल–भारत सीमावर्ती क्षेत्रमा बसेर लागूऔषध तस्करीमा संलग्न गिरोहका नाइकेसमेत जेलबाट भागेका छन् । लागूऔषध नियन्त्रण ब्युरोले गोली हानी समातेका भारतको पश्चिम बंगाल इस्लामपुर–११ का सादिक आलम र हेमन्त भगवत फरार भएका हुन् । ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्ण कोइरालाका अनुसार पटके लागूऔषध कारोबारी सादिकको बायाँ खुट्टामा एउटा गोली लागेको थियो । 

त्यसबेला उनीसहित चार जनाको समूहले प्रहरीलाई फलामको रडले आक्रमण गर्दा २ प्रहरी घाइते भएका र आत्मरक्षामा ४ राउन्ड हवाई र ३ राउन्ड गोली चलाइएको कोइरालाले बताए । त्यसबेला आलमका साथी २२ वर्षीय मोहम्मद मन्जुर आलमको बायाँ खुट्टामा पनि दुई गोली लागेको थियो । उनीहरूलाई जिल्ला अदालत, काठमाडौंले २ साउन २०८२ मा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

फरार अर्का लागूऔषध कारोबारी हेमन्त भगवतलाई अदालतले १० वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना तोकेको थियो । उनलाई २८ जेठ २०८१ मा ब्युरोले गोली हानी पक्राउ गरेको थियो । दुवै आरोपी भागेर भारत पुगिसकेको आशंका गरिएको छ । ब्युरोबाट अपरेसनमा खटिने एक अधिकृतका अनुसार २४ भदौमा जति संख्यामा लागूऔषधका कारोबारी भागेका छन्, तिनलाई फेरि समात्न वर्षौं लाग्न सक्छ । 

कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपाने पनि कारागारमा सबैभन्दा धेरै कैदीबन्दी लागूऔषध मुद्दाको भएको भन्दै भाग्नेमा पनि सोही कसुरको बढी भएको सुनाउँछन् । लागूऔषध कारोबारको मुद्दामा बोलिभिया, ब्राजिल, जिम्बावे, युक्रेन, पाकिस्तान, मलेसिया, थाइल्यान्ड र दक्षिण दफ्रिकाका नागरिकसमेत फरार छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाहिर २ साउन २०८० मा बरामद ६१ किलो सुन तस्करी प्रकरणका अधिकांश आरोपी पनि २४ भदौदेखि फरार छन् । प्रकरणका एक जना नाइके मानिएका बेल्जियन नागरिक दावा छिरिङ भनिने निमा तामाङ सम्पर्कविहीन छन् । उनले रोल्पाकी माओवादी नेतृ अमला रोकासँग विवाह गरेका थिए । सोही सम्बन्धका कारण उनले माओवादी नेताहरूसँग समेत पहुँच विस्तार गरेका थिए ।

 त्यही कारण यो प्रकरणको अनुसन्धान हुँदा केही माओवादी नेताको संलग्नताबारे समेत जाँच हुनुपर्ने माग उठेको थियो । फरार हुने अन्यमा यही प्रकरणमा संलग्न एलेक्स भनिने याओ पुचेङ, ली वेन चुंग, याङ वेन, साउते डिङसेङफा र रोजर भनिने ली नंगकाई छन् । 

भारतीय सिरियल किलर रइस मियाँसमेत कारागारबाट फरार भएका छन् । लामो समयदेखि सर्वाधिक खोजी भएका उनीमाथि ७ जनाको हत्या गरेको आरोप थियो । सप्तरी प्रहरीले लामो प्रयासपछि उनलाई २०७३ भदौमा पक्राउ गरेर ल्याएको थियो । पक्राउ परेपछि रइसले सप्तरीको साबिक सारस्वर गाविस–७ बाट नेपाली नागरिकतासमेत बनाएको खुलेको थियो । 

नेपाल प्रहरीको विशेष ब्युरोका प्रमुख रहिसकेका अवकाश प्राप्त अतिरिक्त महानिरीक्षक (एआईजी) हरिबहादुर पालका अनुसार जघन्य अपराधमा संलग्न अपराधी भाग्नुले समाजमा त्रास त बढाउँछ नै अनुसन्धान अधिकृतहरू स्वम् समेत असुरक्षित बन्न सक्छन् । ‘यस्तोमा दक्षिण छिमेकका आरोपीहरूको हकमा उनीहरूलाई फेरि समात्न भारतीय पक्षसँग समन्वय गर्नुपर्छ,’ उनी भन्छन्, ‘अन्य मुलुकका अभियुक्तको हकमा परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पहल गर्दै अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठनको समेत सहयोग लिनुपर्छ ।’

कारागार व्यवस्थापन विभागका महानिर्देशक लीलाप्रसाद शर्मा फरार विदेशी अपराधीको हकमा सम्बन्धित देशका दूतावासलाई जानकारी गराइसकिएको बताउँछन् । ‘फरार आरोपीको सूची बनाएर परराष्ट्र मन्त्रालयमार्फत विदेशस्थित नेपाली नियोगमा समेत पठाइएको छ, त्यहाँबाट अन्य दूतावासमा समेत समन्वय हुन्छ,’ शर्माले भने, ‘भारतबाहेक अन्य देशका आरोपी सीमावर्ती क्षेत्रमा लुकेर बसेका हुन सक्ने भएकाले तिनको खोजी भइरहेको छ ।’

कोही आरोपी खुला सीमाको प्रयोग गरेर भारतबाट तेस्रो मुलुक जान खोज्ने सम्भावना भएकाले त्यहाँसमेत जानकारी गराइसकिएको उनले बताए । ‘यो विषयमा अरू मुलुकले समेत चासो राखेका छन्,’ शर्मा भन्छन्, ‘त्यसैले उनीहरू समातिनेमा आशावादी छौं ।’

गौरव पोखरेल राष्ट्रिय सुरक्षा मामिला, सुशासन र समसामयिक विषयमा कान्तिपुरका लागि रिपोर्टिङ गर्छन् ।

Link copied successfully