भूमि बैंकले कसरी काम गर्छ ? पाँच प्रश्नोत्तरमा बुझ्नुहोस्

भू–उपयोग ऐन, ०७६ मा समेटिएको भूमि बैंकको अवधारणा कार्यन्वयनमा ल्याउन सरकारले ७ वर्षपछि बल्ल नियमावलीमा समेटिएको छ । भूमि बैंकले कसरी काम गर्छ ?

कार्तिक ३०, २०८२

सीमा तामाङ

How does a land bank work? Understand in five questions and answers

What you should know

काठमाडौँ — भूमिको समानुपातिक वितरण नेपालमा सधैँ राजनीतिक विषय मात्रै बन्दै आइरहेको छ । भूमि हुनेहरूले कृषि नगर्ने अनि कृषिमा आश्रितहरूसँग भूमि नहुने समस्या पेचिलो बन्दै गइरहेको पृष्ठभूमिमा सरकार भूमि बैंकको अवधारणा कार्यान्वयन गर्न अघि सरेको छ ।

२०७६ सालमै ऐनमा समेटिएन पनि नियमावलीमा आउन सकेन । भू–उपयोग ऐन, ०७६ मा समेटिएको यो विषय ७ वर्षपछि बल्ल नियमावलीमा आयो । अब यसको कार्यान्वयनको बाटो खुलेसँगै धेरैमा जिज्ञासा छ, यसले कसरी काम गर्छ अनि यसको फाइदा कसले पाउँछ ? हामीले यही विषयलाई पाँच प्रश्नोत्तरमा बुझाउने प्रयास गरेका छौँ ।

१) सरकारले भूमि बैंकको अवधारणा किन र कसरी ल्यायो?

देशभर कृषियोग्य जमिन संकुचित हुँदै गएको, आंशिक मात्र प्रयोग भएको तथा धेरै जमिन बाँझै बस्ने अवस्था बढेपछि सरकार भूमि बैंकतर्फ उन्मुख भएको हो । बाँझो जमिन उत्पादनमा ल्याएर खाद्यान्न उत्पादन बढाउने मुख्य लक्ष्य छ । जग्गा भाडामा दिँदा मोहियानी लाग्छ कि भन्ने शंकाबाट मुक्ति दिलाउन पनि स्थानीय तहमार्फत उपयोगका लागि उपलब्ध गराउने पनि हो । यो अवधारणा सरकारले २०७६ मा ल्याएको भू–उपयोग ऐनमै समावेश गरे पनि नियमावली बन्न नसक्दा कार्यान्वयन अघि बढेको थिएन । पछिल्लो मन्त्रिपरिषद्ले भू–उपयोग तेस्रो संशोधन नियमावली स्वीकृत गरेपछि भूमि बैंक अब व्यवहारमा लागू हुने अवस्था बनेको छ । यसले जग्गाधनीलाई आफ्नै इच्छा अनुसार बाँझो, उपयोगमा नरहेको वा अव्यवस्थित जग्गा बैंकमा राखेर अरूलाई प्रयोग गर्न दिने र सोहीबाट प्रतिफल पाउने मार्ग खोलिदिन्छ ।

२) भूमि बैंक कसरी कार्यान्वयनमा आउँछ?

भू–उपयोग नियमावलीअनुसार पालिकाको मागमा भूमि बैंक स्थापना गरिनेछ । त्यसका लागि ‘भूमि बैंक सञ्चालन समिति’ गठन हुन्छ । यो समितिको संयोजक सम्बन्धित नगरप्रमुख वा गाउँपालिका अध्यक्ष वा निजले तोकेको कार्यपालिका सदस्य रहनेछन् । समिति स्थानीय तहकै इकाइको रूपमा काम गर्छ र पालिकाले नै यसको अधिकार र जिम्मेवारी निर्धारण गर्छ । समितिले जग्गा दर्ता, अभिलेख व्यवस्थापन, जाँचबुझ, प्रतिफल निर्धारणदेखि किसान वा इच्छुक समूहलाई उपयोगका लागि व्यवस्था मिलाउनेसम्मको काम गर्नेछ ।

३) पालिकाले भूमि बैंक कसरी सञ्चालन गर्छन्?

भूमि बैंकमार्फत जग्गा उपयोग गराउन पालिकाले कम्तीमा ३५ दिनको सार्वजनिक सूचना निकाल्छ । जग्गाधनीले आफ्नो स्वामित्व प्रमाण, कित्ता नम्बर, क्षेत्रफल र उपयोग गराउन चाहेको अवधि उल्लेख गरी निवेदन दिनुपर्छ । जाँचबुझपछि पालिकाले उपयुक्त देखिएको जग्गामा प्रतिफल पनि उल्लेख गरेर जग्गाधनीसँग सम्झौता गर्छ र सूचीकृत गर्छ । अब यो सूचीकृत जग्गा उपयोग गर्न इच्छुक व्यक्तिबाट पुनः निवेदन मागिन्छ । निवेदन दिएको १५ दिनभित्र पालिकाले सम्झौता गरी अनुमतिपत्र दिन सक्छ । यदि एउटै जग्गाका लागि धेरै निवेदन आए भने अल्पसंख्यक, सीमान्तकृत समुदाय वा आर्थिक रूपमा विपन्न व्यक्ति/परिवारलाई प्राथमिकतामा राखिन्छ । निवेदन नआएमा पालिकाले सहकारी, समूह वा कम्पनीलाई पनि जग्गा उपयोग गर्न दिन सक्छ । अनुमति पाउने व्यक्ति वा समूहले तोकिएको शुल्क बुझाएर जग्गा मूल स्वरूपमा असर नपर्ने गरी उपयोग गर्नुपर्नेछ ।

४) यो कामबाट कसले कसरी फाइदा पाउन सक्छन्?

जग्गाधनीका लागि बाँझै रहेको वा उपयोग नगरेको जग्गाबाट नियमित आम्दानीको बाटो खुल्छ । जग्गा नभएका किसान वा युवालाई उब्जाऊ जमिनमा पहुँच मिल्छ । सम्झौताअनुसार प्रतिफल वर्षैभरि पाउने भएकाले जग्गाधनी पनि लाभान्वित हुन्छन् ।पालिकाले सहजीकरण गर्ने भएकाले विवाद र अन्योल घट्छ । साथै रोजगारी बढ्ने, स्थानीय अर्थतन्त्र चलायमान हुने र कुल कृषि उत्पादन बढ्ने अपेक्षा छ ।

५) के यो अभ्यासले उत्पादन बढाउँछ? 

२०६८ को तुलनामा २०७८ मा देशभर बाँझो जग्गा ९५ प्रतिशतले बढेको राष्ट्रिय कृषिगणना २०७८ मा उल्लेख छ । भूमि बैंक कार्यान्वयनमा आएपछि बाँझो र उपयोगमा नरहेको जग्गा उपयोगमा आउनेछ । बाँझो जग्गा उपयोगमा आएपछि उत्पादन स्वाभाविक रूपमा बढ्छ । बाँझो बसिरहेको जमिन खेतीयोग्य बन्छ, किसानको पहुँच विस्तार हुन्छ र योजनाबद्ध रूपमा खेती गर्न सकिने भएकाले समग्र उत्पादनमा वृद्धि हुनेछ ।

सीमा तामाङ तामाङ कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी जलविद्युत्, रियल स्टेट र आर्थिक बिटमा लेख्छिन् ।

Link copied successfully