पत्रकार महासंघको सल्लाहकार मनोनयनमा विवाद, बस्दै नबसी बैठक स्थगित

महासंघको विधानअनुसार सल्लाहकार मनोनयन गर्ने प्रक्रियामा नेपाल प्रेस युनियनमा आबद्ध महासंघका केही पदाधिकारी र सदस्यहरूले असहमति जनाएपछि बैठक बस्दै नबसी स्थगित भएको हो ।

कार्तिक २९, २०८२

कान्तिपुर संवाददाता

Dispute over nomination of advisor to the Federation of Nepali Journalists, meeting postponed without being held

काठमाडौँ — नेपाल पत्रकार महासंघको केन्द्रीय समिति बैठक सल्लाहकार मनोनयनको विषयमा विवाद हुँदा अनिश्चितकालका लागि स्थगित भएको छ ।

महासंघको विधानअनुसार सल्लाहकार मनोनयन गर्ने प्रक्रियामा नेपाल प्रेस युनियनमा आबद्ध महासंघका केही पदाधिकारी र सदस्यहरूले असहमति जनाएपछि बैठक बस्दै नबसी स्थगित भएको एक पदाधिकारीले बताए । 

महासंघको विधानमा निवर्तमान अध्यक्षलाई सल्लाहकार मनोनयन गर्ने व्यवस्था छ। तर, प्रेस युनियन निकट केही पदाधिकारी तथा सदस्यहरूले विधानको उक्त व्यवस्थालाई बेवास्ता गर्दै तत्कालीन कार्यबाहक अध्यक्ष बाला अधिकारीलाई पनि सल्लाहकारमा मनोनयन गरिनुपर्ने माग राखेपछि बैठक अवरुद्ध भएको महासंघका एक केन्द्रीय सदस्यले बताए ।

ती सदस्यले भने- 'विधानविपरीतको माग र अडानका कारण महासंघको केन्द्रीय समिति बैठक प्रभावित भएको हो । शनिबार बिहान १० बजेका लागि काठमाडौंको सिद्धार्थ कटेजमा बोलाइएको बैठक निर्धारित समयमा बस्न सकेन र दिनभरि विवादमै बित्यो ।'

ती सदस्यका अनुसार अध्यक्ष निर्मला शर्माले विधानअनुसारका सल्लाहकारहरू, जसमा निवर्तमान अध्यक्ष विपुल पोखरेल, निकटतम प्रतिस्पर्धी रमेश बिष्ट र त्यसअघिका अध्यक्ष गोविन्द आचार्य लगायतका व्यक्तिहरूको मनोनयनको जानकारी सहितको चिठी बिहानै पठाइसकेका थिए । उनीहरूमध्ये केही बैठकमा उपस्थित थिए । तर, प्रेस युनियन निकट पदाधिकारिहरूले बाल अधिकारीलाई पनि सल्लाहकारमा राख्न भन्दै विवाद गरेका थिए । 

अध्यक्षले विवाद समाधान गर्न नसकेपछि र सहमति कायम हुन नसकेपछि वरिष्ठ उपाध्यक्षसँगको परामर्शमा आजका लागि बोलाइएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको ती सदस्यले बताए ।

तर महासंघका महासचिवले भने अध्यक्षले एकलौटी रूपमा सल्लाहकार टुङ्ग्याउन खोजेपछि बैठक स्थगित भएको बताए  । महासचिव राम प्रसाद दाहालले भने-'सल्लाहकार मनोनयनबारे तीन वटा केन्द्रीय समिति बैठकमा विवाद थियो । त्यसलाई छलफल र सहमतिको विधिबाट टुङ्ग्याउनुपर्नेमा अध्यक्षज्यू एकलौटी ढङ्गले अघि बढ्नुभयो ।' 

अध्यक्ष शर्माले विधान विपरीत पदाधिकारीको छलफलविनै सल्लाहकारलाई पत्र पठाएको महासचिव दाहालले बताए ।  'हामीले पदाधिकारी बैठक बसेर सामूहिक प्रस्ताव बनाएर केन्द्रीय समितिमा लैजाऔँ भनेका थियौँ, तर अध्यक्षज्यूले पदाधिकारी बैठकलाई औपचारिक बनाउनै चाहनु भएन,' दाहालले थपे, 'महासचिवको अधिकारमा बैठक आह्वान गर्ने र चिठी पठाउने प्रक्रिया पर्छ, तर चिठी पठाउँदा मलाई नै जानकारी गराउनुभएन ।'

कान्तिपुर संवाददाता

Link copied successfully