मतदाता नामावली दर्ताको समय थप्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री सचिवालयका अनुसार कार्यवाहक प्रमुख निर्वाचन आयुक्तले ५ दिनसम्म थप गर्न सकिने जवाफ दिएका छन् ।

कार्तिक २८, २०८२

कान्तिपुर संवाददाता

Prime Minister urges extension of voter registration deadline

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावली दर्ताको समय थप्न निर्वाचन आयोगलाई आग्रह गरेकी छन् ।

कार्कीको सचिवालयका अनुसार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई फोन गरेर म्याद थपका लागि आग्रह गरेकी हुन् ।

आयोगले फागुन २१ का लागि घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनका लागि कात्तिक ३० सम्म मतदाता नामावली दर्ताको समय तोकिएको छ । प्रधानमन्त्री सचिवालयका अनुसार कार्यवाहक प्रमुख निर्वाचन आयुक्तले ५ दिनसम्म थप गर्न सकिने जवाफ दिएका छन् ।

मतदाता नामावलीमा नाम दर्ता गराउनेको उत्साह र चापलाई ध्यानमा राखी म्याद थपका लागि प्रधानमन्त्रीले आयोगलाई आग्रह गरेकी हुन् ।

राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने व्यवस्था बिहीबारदेखि सुरु गरिएको छ । उक्त सेवा सुरु भएको २४ घण्टामा करिब ३८ हजार नयाँ मतादाताले नाम दर्ता गराएको आयोगले जनाएको छ ।

यसैबीच प्रधानमन्त्री कार्कीले इन्टरनेट सर्भरमा देखिएको समस्याका विषयमा पनि चासो व्यक्त गरेकी थिइन् भने भण्डारीले उक्त समस्या समाधानको प्रयास भइरहेको जवाफ दिएका थिए ।

कान्तिपुर

Link copied successfully