'स्वतन्त्र पेसा भन्ने तर पत्रकारहरू दलबाट निर्देशित भयौं, यसरी हामी कसरी स्वतन्त्र भएर काम गर्ने ? '
काठमाडौँ — वरिष्ठ पत्रकार किशोर नेपालले पत्रकारितामा व्यवसायिकता हराएको भन्दै दु:ख व्यक्त गरेका छन् ।
शुक्रबार नेपाल पत्रकार महासंघद्वारा आयोजित फ्रि मिडिया नेटवर्कको 'सबलीकरणका लागि राष्ट्रिय कार्यशाला' मा बोल्दै उनले पत्रकारितामा व्यवसायिकता हराएको बताएका हुन् । 'स्वतन्त्र पेसा भन्ने तर पत्रकारहरू दलबाट निर्देशित भयौं । यसरी हामी कसरी स्वतन्त्र भएर काम गर्ने ? '
पत्रकारितामा व्याप्त समस्याका कारणका पनि व्यावसायिकता खस्किएको उनको तर्क छ । उनले भने, 'पत्रकारहरू स-साना समस्याबाट प्रताडित छन् । तलब समयमा पाउँदैनन् अनि वडादेखि मन्त्रीसम्मका सल्लाहकार हुन बाध्य छन् ।'
महासंघमा पनि दलीय हस्तक्षेप रहेको नेपालले बताए । महासंघका पदाधिकारीहरू पत्रकारले नभई दलले चुन्ने उनले तर्क गरे । 'अहिले महासंघका पदाधिकारीहरू पत्रकारले चुनदैनन् । दलद्वारा चुनिन्छ,' उनले भने ।
