केन्द्रीय कार्यसमितिको बैठकमा पदाधिकारी तथा सदस्यहरूले बोल्ने क्रम सकिए पनि पार्टीको निर्णय आउन नसकिरहेका बेला उनीहरूले निर्वाचन अगाडि नै महाधिवेशन सम्पन्न गर्नुपर्ने माग गरेका हुन्।
What you should know
काठमाडौँ — नेपाली कांग्रेसका संस्थापन पक्षका २५ जना केन्द्रीय सदस्यहरूले १५औं महाधिवेशन २०८२ मंसिरभित्रै सम्पन्न गर्न सामूहिक रूपमा आह्वान गरेका छन्।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा पदाधिकारी तथा सदस्यहरूले बोल्ने क्रम सकिए पनि पार्टीको निर्णय आउन नसकिरहेका बेला उनीहरूले नेतृत्वको ध्यानाकर्षण गराउँदै निर्वाचन अगाडि नै महाधिवेशन सम्पन्न गर्नुपर्ने माग गरेका हुन्।
पार्टीलाई हालको राजनीतिक अस्तव्यस्तता, वैचारिक अस्थिरता र नेतृत्वप्रतिको सार्वजनिक शंका–आशंकाको अवस्थाबाट पार लगाउन नियमित महाधिवेशन नै एक मात्र विश्वसनीय मार्ग भएको उनीहरूको मत छ। २५ केन्द्रीय सदस्यहरूले सामूहिक रूपमा हस्ताक्षर गरेर जारी गरिएको ध्यानाकर्षण पत्रमा विशेषतः क्रियाशील सदस्यता तत्काल टुंग्याई महाधिवेशन प्रक्रियालाई विधानअनुसार अगाडि बढाउनुपर्ने आवश्यकता जोड दिएका छन्।
देशमा राजनीतिक अनिश्चितता बढ्दै गइरहेको बेला कांग्रेसले वैकल्पिक नेतृत्व क्षमता, सङ्गठित विचार र संस्थागत शक्ति सिद्ध गर्नुपर्ने भन्दै उनीहरूले भनेका छन्, 'पार्टीभित्र वैचारिक स्पष्टता र सांगठनिक एकता स्थापित नगरी बाहिर जनतामाझ विश्वसनीय छवि निर्माण असम्भव छ।' सभापति देउवाले असोज २८ गते प्रस्तुत गरेको ‘एकता, वैज्ञानिक संरचना र विधानअनुसार महाधिवेशन’ सम्बन्धी अभिव्यक्तिलाई उनीहरूले सकारात्मक संकेतका रूपमा व्याख्या गर्दै सो प्रतिबद्धता व्यवहारमा उतार्नु नै अबको मुख्य जिम्मेवारी रहेको बताएका छन्।
केन्द्रीय सदस्यहरूको सामूहिक प्रस्तावमा क्रियाशील सदस्यता नवीकरण र वितरणलाई निश्चित समयसीमाभित्र टुंगो लगाउनुपर्ने, आन्तरिक निर्वाचन समितिलाई तुरुन्तै पूर्णता दिनुपर्ने, र आगामी संरचनामा महिला, दलित, आदिवासी–जनजाति, मधेसी, मुसलमान, पिछडिएका समुदाय तथा अपाङ्गता भएका व्यक्तिहरूको प्रभावकारी सहभागिता सुनिश्चित गर्नुपर्ने धारणा पनि समेटिएको छ। पार्टीको आगामी उम्मेदवार छनोट प्रक्रियामा आर्थिक प्रभाव वा स्वार्थ समूहको दबाब होइन, योगदान, क्षमता र नैतिकताका आधारमा निर्णय हुनुपर्ने तर्क पनि उनीहरूले गरेका छन्।
सामूहिक रूपमा प्रस्तुत यो धारणा राजेन्द्रकुमार केसी, भरतकुमार शाह, अर्जुनप्रसाद जोशी, पुष्पा भुसाल, कर्णबहादुर बुढा, गणेश लामा, आङगेलु शेर्पा, डिला संग्रौला, उदयशम्शेर राणा, नानु बास्तोला, धना खतिवडा, अब्दुल रज्जाक, देवेन्द्रराज कंडेल, योगेन्द्र चौधरी, गोपाद दहित, बहादुरसिं लामा, दिलमान पाख्रिन, अब्दुल सत्तार, मोहन आचार्य, अमृत अर्याल, जीपछिरिङ लामा, रामजनम चौधरी, चम्पादेवी खड्का रहेका छन् । यो मागमा नारायणबहादुर कार्कीले पनि समर्थन जनाएका छन् ।
उनीहरूको निष्कर्ष छ—नेपाली कांग्रेसले इतिहासले दिएको जिम्मेवारी पूरा गर्न, जनताको विश्वास पुनः स्थापित गर्न, र मुलुकलाई स्थिर लोकतान्त्रिक मार्गमा अग्रसर गराउन अब कुनै बहानाविना तत्काल महाधिवेशन प्रक्रियातर्फ अघि बढ्नुपर्छ।
सम्बन्धित समाचार
