प्रतिनिधिसभा र राष्ट्रिय सभाको चुनावमा भाग लिन चाहने दललाई दर्ताका लागि आह्वान

प्रतिनिधिसभाका लागि मंसिर १-१० र राष्ट्रिय सभाका लागि मंसिर १-७ गतेसम्म दल दर्ता खुला

कार्तिक २८, २०८२

कान्तिपुर संवाददाता

Call for registration for parties wishing to participate in the elections to the House of Representatives and the National Assembly

काठमाडौँ — निर्वाचन  आयोगले आगामी प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई दर्ताका लागि आह्वान गरेको छ  ।  आयोगले आज सूचना जारी गरी प्रतिनिधिसभाका लागि मंसिर १-१० र राष्ट्रिय सभाका लागि मंसिर १-७ गतेसम्म दल दर्ता खुला गरेको जनाएको छ ।

आयोगको सूचनामा भनिएको छ, 'निर्वाचनमा भाग लिन चाहने दलले केन्द्रीय समितिबाट भएको निर्णयको प्रतिलिपि, वार्षिक लेखापरीक्षण प्रतिवेदन तथा अन्य आवश्यक कागजातसहित आयोगमा निवेदन पेस गर्न अनुरोध गर्दछौँ ।'

प्रतिनिधिसभा निर्वाचनका लागि दुई वा दुईभन्दा बढी दल एकै चुनाव चिह्न लिएर भाग लिन चाहेमा त्यससम्बन्धी जानकारी पनि सोही निवेदनको साथमा बुझाउनुपर्ने आयोगले जनाएको छ । सूचनामा उल्लेख छ, 'दलको विधान, नियमावली तथा घोषणा पत्र, निर्वाचन चिह्नको नमुना र सोको विद्युतीय प्रति पनि पेस गर्न अनुरोध छ ।'

आगामी फागुन २० गतेदेखि राष्ट्रियसभामा रिक्त हुने एक तिहाइ सदस्यका लागि माघ ११ र प्रतिनिधिसभा सदस्यका लागि फागुन २१ गते चुनाव तोकिएको छ । 

कान्तिपुर

Link copied successfully