गृहमन्त्री अर्यालले भने : भदौ २४ मा लुटिएका कति हतियार फिर्ता हुन बाँकी छ भन्न मिल्दैन

'भदौ २४ मा भागेका ९ हजार ५४१ फिर्ता ल्यायौं, ५ हजार १३ पक्राउ गर्न बाँकी छ'-गृहमन्त्री अर्याल

कार्तिक २७, २०८२

कान्तिपुर संवाददाता

Home Minister Aryal said: It is impossible to say how many weapons looted on Bhadra 24 remain to be returned.

What you should know

काठमाडौँ — गृहमन्त्री ओमप्रकाश अर्यालले जेन-जी प्रदर्शनका क्रममा मुलुकका विभिन्न जेलबाट भागेका कैदीमध्ये ५ हजारभन्दा बढी कैदीबन्दी अझै पनि पक्राउ पर्न बाँकी रहेको बताएका छन् । अझै फरार रहेका कैदीबन्दीलाई पक्राउ गर्न सरकारले काम गरिरहेको पनि अर्यालको भनाइ छ । 

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बिहीबारको बैठकमा शान्तिसुरक्षाको अवस्था र आगामी निर्वाचनको तयारी सम्बन्धमा भएको छलफलका क्रममा गृहमन्त्री अर्यालले भाद्र २३ र २४ को घटनामा देशका विभिन्न कारागारबाट कुल १४ हजार ५ सय ५४ कैदीबन्दी फरार भएको जानकारी दिए । तीमध्ये 'हालसम्म ९ हजार ५ सय ४१ जना फिर्ता ल्याइसकिएको र ५ हजार १३ जना पक्राउ गर्न बाँकी रहेको' अर्यालले बताए ।

त्यसरी अझैसम्म फरार कैदीहरूलाई पक्राउ गर्नका लागि सरकारले काम गरिरहेको अर्यालले बताए । 'फरार कैदीहरू पक्राउ गर्नको लागि निजहरूको सूची सार्वजनिक गरिएको छ । त्यस्ता फरार कैदीहरू सार्वजनिक निकायमा सेवा लिन आएमा सेवा प्रदान नगर्न सबै निकायहरूमा पत्राचार गरिएको छ,' उनले भने, 'सबै जिल्ला प्रशासन कार्यालयहरूमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा कार्यदल गठन गरी खोजतलासलाई तीव्रता दिइएको छ । त्यस्तै सुरक्षा निकायमार्फत फरार कैदी बन्दीको खोजी‍को लागि विशेष अपरेसन चलाउने कार्यलाई अघि बढाइएको छ ।'

गृहमन्त्री अर्यालले कतिवटा हतियार लुटिएका थिए भन्ने तथ्यांक भने संसदीय समितिलाई दिएनन् । उनले सुरक्षा संवेदनशीलताका कारण लुटिएकामध्ये कतिवटा हतियार फिर्ता हुने बाँकी छ भन्ने तथ्यांक दिन नमिल्ने बताए । 

निर्वाचनका लागि गठित अन्तरिम सरकारको उद्देश्य नै फागुन २१ मा शान्तिपूर्वक र स्वच्छ, निष्पक्ष चुनाव गराउनु रहेको पनि गृहमन्त्री अर्यालको भनाइ थियो । 'फरार कैदी बन्दी र लुटिएका हतियारलाई प्रमुख सुरक्षा चुनौतीको रूपमा लिई सरकार गम्भीरतापूर्वक अघि बढेको छ । सम्पूर्ण चुनौतीहरूलाई परास्त गरी स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुनेमा सरकार विश्वस्त छ र यसमा सर्वसाधारण सबैको साथ, सहयोग र सहकार्य अपरिहार्य रहेको व्यहोरासमेत अनुरोध छ,' उनले भने, 'आगामी फागुन २१ मा निर्वाचन सम्पन्न गर्नु वर्तमान सरकारको प्राथमिक जिम्मेवारी हो । हामीलाई प्राप्त जिम्मेवारीअनुसार समयमै निर्वाचन सम्पन्न गरेर छिटोभन्दा छिटो जनताबाट निर्वाचित प्रतिनिधिलाई सुम्पन हामी आतुर छौं ।'

त्यस्तै, भदौ २३ र २४ को जेन-जी आन्दोलनमा मृत्यु भएकाहरूका परिवारलाई १५ लाख राहत उपलब्ध गराइएको पनि गृहमन्त्री अर्यालले संसदीय समितिलाई जानकारी गराए । 'प्रदर्शनमा सहादत प्राप्त गर्ने ३ जना अमर प्रहरी र ४२ जना जेनजी सुशासन योद्धा गरी कुल ४५ जनालाई सहिद घोषणा गरिएको छ । घाइतेहरूको पहिचान र उपचारलाई सहजीकरण गर्न परिचयपत्र वितरण गर्ने, घाइतेहरूको नि: शुल्क उपचारको व्यवस्था मिलाइएको, घाइतेहरूलाई तत्काल राहतको लागि भैपरी खर्च उपलब्ध गराइएको, पुन: चेकजाँचमा जानुपर्ने अवस्थामा नि:शुल्क एम्बुलेन्सको व्यवस्था मिलाइएको छ,' उनले भने ।

घाइतेहरूलाई राहतका लागि वर्गीकरण गर्ने कार्य अन्तिम चरणमा पुगेको पनि मन्त्री अर्यालले जानकारी दिए ।  

कान्तिपुर

Link copied successfully