निर्वाचन सम्पन्न गरी जननिर्वाचित प्रतिनिधिलाई जिम्मेवारी सुम्पिन आतुर छौं : गृहमन्त्री अर्याल

गृहमन्त्री अर्यालले भने- 'विदेशमा रहेका नेपालीका लागि'आउट अफ कन्ट्री भोटिङ' र 'आउट अफ कन्स्टिटुएन्सी भोटिङ'को कुरामा हामीले सम्भाव्यताको अध्ययन गरिरहेका छौं ।'

कार्तिक २७, २०८२

कान्तिपुर संवाददाता

We are eager to complete the election and hand over responsibility to the elected representatives: Home Minister Aryal

काठमाडौँ — गृहमन्त्री ओमप्रकाश अर्यालले समयमै निर्वाचन सम्पन्न गर्न सरकार काम गरिरहेको बताएका छन् । सरकारलाई प्राप्त जिम्मेवारी अनुसार आगामी फागुन २१ मा चुनाव गराउनका लागि सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ । 

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बिहीबारको बैठकमा शान्तिसुरक्षाको अवस्था र आगामी निर्वाचनको तयारी सम्बन्धमा भएको छलफलका क्रममा गृहमन्त्री अर्यालले उक्त कुरा बताएका हुन् । 'हामीलाई प्राप्त जिम्मेवारी अनुसार समयमै निर्वाचन सम्पन्न गरेर छिटो भन्दा छिटो जनताबाट निर्वाचित प्रतिनिधिलाई सुम्पन्न हामी तयार छौं, आतुर छौं,' अर्यालले भने, 'युवा पुस्तालाई मतदानको अवसर प्रदान गर्न मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गरिएको छ । निर्वाचन आयोगको तथ्यांक अनुसार यसबाट दुई लाख बढी मतदाता थप भएका छन् ।'

गृहमन्त्री अर्यालले निर्वाचनका लागि सुरक्षा निकायका लागि आवश्यक पर्ने स्रोत र साधनको व्यवस्थापन भइरहेको पनि जानकारी दिए । उनले निर्वाचन तयारीका सम्बन्धमा भइरहेका कामबारे समितिलाई जानकारी दिएका थिए । स्वच्छ, निष्पक्ष निर्वाचन सम्पन्न गर्नका लागि राजनीतिक दलहरूसँग छलफल गरिएको बताउँदै उनले कूटनीतिक नियोगका प्रमुखहरूसँग पनि विभिन्न तहमा छलफल एवं परामर्श भएको बताए । 

निर्वाचनलाई लक्षित गरी सबै सुरक्षा निकायको समन्वयमा संयुक्त सुरक्षा गस्ती सुरु गरिएको पनि गृहमन्त्री अर्यालले बताए । 'निर्वाचन सुरक्षा योजना तयार गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा सबै सुरक्षा निकायका प्रतिनिधि रहेको कार्यदल गठन भएको भएको र सो समितिले आफ्नो प्रतिवेदन पेश गरेको छ जसलाई केन्द्रीय सुरक्षा समितिबाट स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको ल्याइने छ,' उनले भने, 'विदेशमा रहेका नेपालीलाई समेत मताधिकारको अधिकार प्रदान गर्ने सम्बन्धमा कानुन संशोधनको गृहकार्य अगाडि बढेको छ भने यसको प्राविधिक र व्यवस्थापकीय सम्भाव्यताको अध्ययन गरी सुझाव दिन नीति अनुसन्धान प्रतिष्ठानलाई जिम्मेवारी सुम्पिएको छ ।'

प्रतिष्ठानले सरोकारवालाहरूसँग छलफल गरी अन्तर्राष्ट्रिय अभ्याससमेतका आधारमा आफ्नो प्रतिवेदन पेश गर्ने गृहमन्त्रीले जानकारी दिए । त्यस्तै, जिल्ला सुरक्षा समिति मार्फत मतदान केन्द्र जोखिम मूल्यांकन गरी प्रतिवेदन पेस भएको पनि उनले बताए । क्षतिग्रस्त मतदान केन्द्रको स्थानीय पालिकासँगको समन्वयमा पुनर्निर्माणको कार्य गरिएको उनले बताए । 

'विदेशमा रहेका नेपालीका लागि'आउट अफ कन्ट्री भोटिङ' र  'आउट अफ कन्स्टिटुएन्सी भोटिङ'को कुरामा हामीले सम्भाव्यताको अध्ययन गरिरहेका छौं,' अर्यालले भने, 'यस सरकारसँग सबैको उच्च अपेक्षा रहेको छ । छोटो अवधिको बाबजुद हामी जनताका आकांक्षाहरूलाई कानुनको परिधिभित्र रही अधिकतम हासिल गर्न प्रयासरत रहेका छौं ।'

गृहमन्त्री अर्यालले अहिलेको सरकारलाई असफल हुने छुट नभएको बताए । निर्वाचन गर्नु नै यो सरकारको प्रमुख जिम्मेवारी रहेको पनि उनको भनाइ थियो ।  

कान्तिपुर

Link copied successfully