नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान

३० वर्षे सेवाअवधिका कारण महानिरीक्षक चन्द्रकुबेर खापुङ अवकाशमा जाने भएपछि सरकारले आजबाट लागू हुने गरी कार्कीलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको थियो।

कार्तिक २७, २०८२

कान्तिपुर संवाददाता

Newly appointed Inspector General of Police Karki presented with rank insignia

काठमाडौँ — नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई गृहसचिव रामेश्वर दंगालले दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

गृह मन्त्रालयमा आयोजित कार्यक्रममा सचिव दंगालले कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। मन्त्रिपरिषद्को सोमबारको बैठकले वरिष्ठतम एआईजी कार्कीलाई महानिरीक्षकमा बढुवा गरेको हो। ३० वर्षे सेवाअवधिका कारण महानिरीक्षक चन्द्रकुबेर खापुङ अवकाशमा जाने भएपछि २७ कात्तिक (आज) बाट लागू हुने गरी कार्कीलाई बढुवा गरिएको थियो।

यससँगै कार्की हालको ३० वर्षे सेवाअवधिको व्यवस्था कायम रहे १७ चैत २०८४ सम्म नेतृत्वमा रहने छन्। दर्ज्यानी चिन्ह प्रदानपछि कार्कीले गृह मन्त्रालयमा सम्बोधन गर्ने क्रममा भककानिएका थिए।

२४ भदौको विध्वंसका कारण साढे ४ सय बढी प्रहरी ब्यारेकसहित राष्ट्रिय सम्पत्ति, व्यक्ति र व्यावसायिक प्रतिष्ठानमा आगजनी, लुटपाट भएको थियो भने ३ प्रहरीसहित ७६ जनाको ज्यान गएको थियो। यतिधेरै जनधनको क्षतिपछि भएको परिस्थितिबाट उठेर नियमित कामकारबाही तथा शान्तिसुरक्षा, अपराध अनुसन्धानलगायतमा प्रभावकारी काम गर्नु पर्ने पृष्ठभूमिमा कार्की प्रहरी नेतृत्वमा आएका छन्।

कार्कीले बिहीबारबाटै प्रहरीको विधिवत् नेतृत्व सम्हालेका छन्।

कान्तिपुर संवाददाता

Link copied successfully