इलामबाट उद्धार गरिएको 'ब्ल्याक प्यान्थर' सदर चिडियाखानामा हेर्न पाइने

साधारणतया एक बेतमा दुईदेखि चार वटासम्म बच्चा जन्माउन सक्ने ब्ल्याक प्यान्थरको औसत आयु २३ वर्ष रहेको छ ।

कार्तिक २७, २०८२

कान्तिपुर संवाददाता

'Black Panther' rescued from Ilam can be seen at Sadar Zoo

What you should know

काठमाडौँ — इलामबाट उद्धार गरी ल्याइएको ब्ल्याक प्यान्थर (कालो चितुवा) अब जावलाखेलस्थित सदर चिडियाखानामा हेर्न पाइने भएको छ ।

चिडियाखाना आउने दर्शकहरुका लागि बुधबारदेखि नै ब्ल्याक प्यान्थरको पनि अवलोकन खुला गरिएको चिडियाखाना प्रमुख सत्यनारायण साहले बताए ।

गत भदौ १७ मा इलामबाट उद्धार गरी चिडियाखाना ल्याइएको थियो । यसअघि पशु चिकित्सकको प्रत्यक्ष निगरानीमा राखिएको उक्त चितुवा सामान्य अवस्थामा आएपछि अवलोकनका लागि राखिएको हो ।

'Black Panther' rescued from Ilam can be seen at Sadar Zoo

सूर्योदय नगरपालिका–२, बागबिरेका टंक काफ्लेको बाख्राको गोठभित्र भदौ १६ मा उक्त चितुवा फेला परेको थियो ।

बाख्राका दुई माउ र एउटा पाठी खाएर गोठमै बसेको अवस्था देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि राष्ट्रिय प्रकृति संरक्षण कोष कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको टोलीले उद्धार गरेको थियो ।

यो चितुवाकै प्रजाति भए पनि मेलानिज्म नामक जेनेटिक म्युटेसनबाट शरीरमा अधिक मात्रामा मेलानिन उत्पन्न भई काला धब्बा बन्ने भएकाले पूर्ण रूपमा कालो देखिन्छ । यस प्रकारका चितुवाहरू विरलै मात्रामा भेटिने गर्छन् ।

'Black Panther' rescued from Ilam can be seen at Sadar Zoo

नेपालसहित यो चितुवा भारत, भुटान, बंगलादेश, श्रीलंका, पाकिस्तान, इन्डोनेसिया, भियतनाम, अफगानिस्तान लगायत एसिया र अफ्रिकामा पाइन्छ । सुक्खा, खुला जंगलदेखि घना जंगलसम्म पाइने यो चितुवा गर्मी समथर भूभागदेखि चिसो हिमाली क्षेत्रसम्म पाइएको छ । ब्ल्याक प्यान्थरको तौल १७ देखि ९० किलोसम्म हुन्छ । मृग, हरिण, बाँदर, बँदेल, दुम्सी, खरायो, चरा र ससाना जनावर यसको आहारा हो ।

 साधारणतया एक बेतमा दुईदेखि चार वटासम्म बच्चा जन्माउन सक्ने ब्ल्याक प्यान्थरको औसत आयु २३ वर्ष रहेको छ ।

कान्तिपुर

Link copied successfully