चोरीका लागि भर्‍याङ बोकेर बस्ती-बस्तीमा

भद्रपुरको प्रादेशिक अस्पतालमा कर्मचारीकै मिलेमतोमा अक्सिजन सप्लाइका लागि प्रयोग हुने तामाका पाइप चोरी

कार्तिक २६, २०८२

पर्वत पोर्तेल

Carrying ladders to steal from one settlement to another

What you should know

विराटनगर — भदौ २४ को प्रदर्शनका क्रममा देशभरका जेलबाट गम्भीर अपराधमा सजाय काटिरहेका कैदीहरू भागेका थिए । त्यसपछि समाजमा अपराधिक घटनाहरू पनि बढ्दै गएको प्रहरीको तथ्यांकले बताउँछन् । पूर्वका विभिन्न जिल्लाहरूमा चोरीका घटना बढेका छन् । 

राति मात्र नभई दिउँसै पनि चोरी र लुटपाटका घटना भइरहेका छन्  ।  झापा, मोरङ, सुनसरीलगायतका जिल्लामा चोरीका घटना बढेको प्रहरीको भनाइ छ । 

रोचक त के छ भने चोरहरू बस्ती-बस्तीमा लामा भर्‍याङ बोकेरै हिँडिरहेका छन् ।  अझ अस्पतालको अक्सिजन पाइपसम्म काटिएका घटना पनि सार्वजनिक भइरहेका छन् ।

झापाको बुद्धशान्ति गाउँपालिका-३ मा सोमबार राति एउटा घरमा  केही व्यक्ति भर्‍याङ बोकेरै गएका थिए ।  गाउँपालिका कार्यालयको पछाडिपट्टि रहेको पवित्रा दाहालको घरमा राति करिब १ बजे चोरले पछाडिबाट भर्‍याङ चढेर घरभित्र पस्ने प्रयास गरेको थियो ।

घरमा आमा–छोरी मात्र थिए । चोर आएको थाहा पाएर पवित्राले कराएपछि चोरले भर्‍याङ छाडेर भागेको प्रहरी चौकी बुधबारेका प्रहरी नायब निरीक्षक चन्द्र राउतले जनाए । ‘चोरी प्रयासको घटना भएको सुनियो तर उजुरीका लागि कोही पनि आएनन्’, उनले भने,‘गाउँपालिकामा साना–ठूला चोरीका घटना फाट्टफुट्ट भइरहेका छन् ।’ प्रहरीका अनुसार उक्त भर्‍याङ नजिकै रहेको विद्युत् प्राधिकरण कार्यालयबाटै लगिएको थियो । 

त्यस्तै भद्रपुरको प्रादेशिक अस्पतालमा कर्मचारीकै मिलेमतोमा अक्सिजन सप्लाइका लागि प्रयोग हुने तामाका पाइप चोरी भएको छ । पाइप चोरीमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । अस्पतालका कुचीकार भद्रपुर-१० का  सुरज जमदार, भद्रपुर-६ का रञ्जित घोष र मेचीनगर-७ का विश्वनाथ राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार सीसीटीभी फुटेजमा तीनैजना क्रमशः विभिन्न वार्ड र स्टोरमा पाइप तथा औषधि चोरी गर्दै गरेको देखिएको थियो । त्यही आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । डीएसपी खड्काका अनुसार, उनीहरूबाट करिब ३ केजी तामाको पाइप बरामद गरिएको छ ।

सदरमुकाममै दैनिक चोरी

जिल्ला प्रहरी कार्यालयदेखि प्रशासन कार्यालयसम्म रहेको सदरमुकाम भद्रपुरमा चोरीका घटना दिनहुँजसो दोहोरिन थालेका छन् ।  भद्रपुर–७ कालीमन्दिर टोलमा स्थानीय केशव न्यौपानेको घरमा सोमबार दिनदहाडै दुईवटा सुनका औंठी र करिब १६ हजार रुपैयाँ नगद चोरी भएको छ ।

केही दिनअघि सोही टोलका गणेशप्रसाद नेपालको घरमा पनि लत्ता–कपडा र नगद चोरी भएको थियो । स्थानीय टीकाराम खतिवडाका अनुसार गाउँमा दिनहुँ चोरी भइरहेको छ ।  कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दीपक पोखरेलका अनुसार पूर्वका विभिन्न जिल्लाहरूमा दैनिक चोरीका घटना भएको स्वीकार्दै यी घटनाहरू प्रहरीका लागि ‘टाउको दु:खाइ’ भइरहेको बताए । उनले भने,‘चोरी नियन्त्रण ज्यादै चुनौतीपूर्ण छ । सक्दो प्रयत्नचाहिँ हामीले गरिरहेका छौँ ।’ 

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully